‘मेची अञ्चल अस्पताललाई कोरोना अस्पतालमा रुपान्तरण गर्नु हुँदैन’

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्माणाधीन मेची अञ्चल अस्पताललाई कोरोना उपचार अस्पताल बनाउन नहुने बताएका छन्।

नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ३ ले गरेको भिडियो कन्फिरेन्समा नेता सिटौलाले कोरोना अस्पतालको विकल्पका रूपमा कलवलगुरी प्रशिक्षण केन्द्र, चन्द्रगढीस्थित खाद्य संस्थानको खाली गोदामलाई अघि सारेका छन्। दुई दिन अघि मात्रै निर्माणाधीन मेची अञ्चल अस्पताललाई कोरोना अस्पताल बनाउने सर्वपक्षीय सहमति जुटेको थियो।

‘विपन्न नागरिकको उपचारको केन्द्र रहेको यो अस्पताललाई कोरोना उपचार अस्पताल बनाउनु हुँदैन’, नेता सिटौलाले भने, ‘झापामा कोरोना अस्पताल बनाउने प्रदेश १ सरकारको निर्णय स्वागतयोग्य छ। तर, मेची अञ्चल अस्पताललाई कोरोना अस्पतालमा रूपान्तरण गर्नु हुँदैन।’

क्षणिकभन्दा पनि दीर्घकालिन प्रभावलाई हेरेर निर्णय लिनु पर्ने उनको तर्क छ। मेची अञ्चल अस्पतालको अस्तित्व जोगाउन पनि कोरोना उपचार अस्पताल अन्यत्रै बनाउनु पर्ने उनको अडान छ।

नेता सिटौलाले साँघुरो ठाउँमा रहेको अञ्चल अस्पताल परिसरमा अन्य विरामी र कोरोना संक्रमितको एकैसाथ उपचार हुन नसक्ने बाध्यता बुझ्न प्रदेश सरकारलाई आग्रह गरेका छन्।

‘नयाँ भवनको नाममा ५० मिटरकै हाराहारीमा कोरोना उपचार अस्पताल बनाउने निर्णय जनस्वास्थ्यका दृष्टिले पनि जोखिम पूर्ण हुन्छ’, उनले भने, ‘यो निर्णयले अञ्चल अस्पतालको सेवामा व्यापारिकरणको भित्री योजना लुकेको त छैन।’

नेता सिटौलाले क्वारेन्टाइन, आइसोलेसन तथा कोरोना संक्रमितलाई समेत व्यवस्थित गर्न सरकारले नसकेको दाबी गरे। उनले भने, ‘मेची अस्पताल परिसरसित जोडिएको बस्ती जोगाउनसमेत कोरोना अस्पताल अन्यत्र निर्माण गरिनु पर्छ।’

कलबलगुडी प्रशिक्षण केन्द्र वा चन्द्रगढीको खाद्य संस्थानको खाली गोदाममध्ये एकमा कोरोना अस्पताल निर्माण गरिनु पर्ने माग गर्दै भद्रपुर ५ र ८ का बासिन्दा आन्दोलित बनेका छन्।

उनीहरूले झापाका प्रमुख अधिकारी उदय राना मगर मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत पठाएका छन्।

भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोजले यहाँ कोरोना अस्पताल बनाउने निर्णय भद्रपुर बाहिरका निजी अस्पतालमा विरामीको चाँप बढाउने खेल भएको बताए।

मेची अञ्चल अस्पताल आसपासमा रक्त सञ्चार सेवा, प्रसुती गृह, पोषण पुनस्थापना केन्द्र, एचआइभी उपचार तथा पुनस्थापना केन्द्र, क्षयरोग उपचार तथा पहिचान केन्द्र र अर्बुद रोग पहिचान केन्द्रसमेत छन्।

भद्रपुर ५ का नम्बर वडाध्यक्ष बन्धु कार्कीले विपन्न नागरिकको उपचार सेवा प्रभावित हुने गरी षड्यन्त्रमुलक ढंगले यहाँ कोरोना अस्पताल बनाउने निर्णय भएको बताए। उनले अस्पताल आसपास बाक्लो बस्ती भएका कारण कोरोना महामारी बढ्ने सम्भावना भएकाले निर्णय सच्याउन मागसमेत गरे।

जिल्ला समन्वय समिति झापाको समन्वयमा शनिबार बसेको सरोकारवालाको बैठकले भद्रपुरस्थित मेची अस्पतालको नवनिर्मित भवनलाई एक सय बेडको कोरोना अस्पताल बनाउने निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय