प्रदेश २ : फितलो तयारीले भारतबाट आउने नागरिकको व्यवस्थापनमा समस्या

विश्वभर कोरोना महामारी फैलिएसँगै नेपालमा लकडाउन भएको दुई दिनपछि ठीक दुई महिना पुग्दै छ। अन्य मुलुकहरूमा कोरोना संक्रमणको दर बढिरहेको बेला नेपालमा खासै देखिएको थिएन।

प्रदेश २ लाई उच्च जोखिमको रुपमा देखिएपनि त्यतिबेला यहाँ संक्रमण फेला परेको थिएन। लकडाउन सुरु भएको अवधिदेखि कोरोनाविरुद्धको लडाइँका लागि प्रदेश २ ले कम्तिमा पनि साढे एक महिनाको समय पाएको थियो। तर, पर्याप्त समय पाउँदा समेत प्रदेश २ सरकारले खासै तयारी गरेको पाइँदैन्।

यहाँसम्म कि प्रदेशको मुकाम जनकपुरमै हालसम्म क्वारेन्टाइनको पर्याप्त व्यवस्था हुनसकेको छैन्। कोरोना महामारी फैलिइरहँदा संघीय सरकारले सबै स्थानीय तहलाई क्वारेन्टाइन तयार पार्न निर्देश गरेपनि जनकपुरधाम उपमहानगरपालिकाले क्वारेन्टाइन बनाउन सकेको थिएन्। पछिल्लो पटक चौतर्फी दबाब बढ्दै गएपछि उपमहानगरले चार दिनअघि जनकपुरको राम चोकस्थित गोपाल धर्मशालामा ५० बेडको क्वारेन्टाइन स्थापना गर्‍यो।

तर, उपमहानगरले तयार पारेको ५० बेडको क्वारेन्टाइन चार दिनपछि नै अपुग हुन पुगेको छ। जिल्ला प्रशासन कार्यालयले सहजीकरण गरेर नाकाबाट भारतमा अलपत्र परेका नेपालीहरूलाई भित्र्याउन थालेपछि क्वारेन्टाइन व्यवस्थापनमा समस्या भएको हो।

प्रदेशको सबै जिल्लाका मुख्य नाकाबाट जिल्ला प्रशासनको सहजीकरणमा भारतमा रहेका नेपालीहरूलाई ल्याइँदै छ। नाकामा सामान्य चेकजाँचपछि उनीहरूलाई सम्बन्धित स्थानीय तहमा पठाउने काम भइरहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ। प्रदेश प्रहरी कार्यालयले जनाएअनुसार विगत ६ दिनमा प्रदेशको विभिन्न नाकाबाट झण्डै पाँच हजार नेपाली प्रवेश गरेका छन्।

शनिबार साँझ धनुषाको जटही नाकाबाट जनकपुर घर भएका २०/२२ जना एक्कासी गोपाल धर्मशालाको क्वारेन्टाइनमा पुगे। तर, पहिलेदेखि भरिभराउ रहेको क्वारेन्टाइनमा बस्न उनीहरूलाई ठाउँ थिएन्। केहीबेर हो–हल्ला भएपछि स्थानीय केही युवाहरूले धर्मशालाका व्यवस्थापकसँग कुरा गरेर उनीहरूलाई त्यहाँ व्यवस्थापन गरे।

‘लकडाउन’ दुई महिना पुगिसक्दापनि उपमहानगरले क्वारेन्टाइनसम्म बनाउन नसक्नु ठूलो लापारबाही रहेको ती युवाहरू मध्येका एक अजय साह बताउँछन्। ‘नाकाबाट मानिसहरू आउने क्रम बढेको छ, उनीहरू सोझै घरसम्म जानसक्ने अवस्था छैन्,’ साह भन्छन्,‘२५ वटा वडा रहेको जनकपुरको लागि ५० बेडको क्वारेन्टाइनले कसरी पुग्छ ?’

प्रदेश सरकारले जनकपुर नजिकै नगराईन नगरपालिकास्थित गंगुलीमा तयार पारेको सय बेडको क्वारेन्टाइन अहिले सिल गरिएको छ। त्यहाँ रहेका चारजनामा संक्रमण भेटिएपछि प्रादेशिक क्वारेन्टाइन सिल गरिएको हो। प्रादेशिक क्वारेन्टाइन सिल भएपछि अहिले भारतबाट आएकाहरूलाई व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जारी गरेको निर्देशिकामा क्वारेन्टाइन व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ। प्रदेश सरकारका एक उच्चपदस्थ अधिकारीले ‘प्रदेश सरकारको समन्वयमा स्थानीय तहले क्वारेन्टाइनको स्थापना गर्ने निर्देशिकाले भनेको छ ’ बताए।

तर, जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रीता झाले क्वारेन्टाइन स्थापना तथा सञ्चालन गर्न प्रदेश सरकारले कुनै सहयोग नगरेको आरोप लगाउँछिन्। प्रदेश सरकारले सहयोग गरे आफूहरू थप क्वारेन्टाइन स्थापना गर्न तयार रहेको उनको भनाइ छ। ‘भारतबाट आउनेहरूको संख्या बढेको छ, उपमहानगरले मात्र गरेर सम्भव होला जस्तो देखिँदैन, सबै वडाहरूले अब जिम्मेवारी लिनुपर्ने देखिएको छ,’ उनले भनिन्।

जनकपुरभित्र क्वारेन्टाइन बनाउन सकिने पर्याप्त स्थानहरू रहेपनि सरोकारबला निकायले समयमा ध्यान नपुर्‍याउँदा अहिले समस्या निम्तिएको स्थानीय युवा सुशील कर्ण बताउँछन्। ‘भारतबाट आएकाहरू सोझै घरसम्म जाने अवस्थामा छैनन्, आफ्नो पालिकामा कतिजना उताबाट आउन सक्छन् स्थानीय तहले सुरुमै आकलन गर्नुपर्दथ्यो,’ कर्ण भन्छन्,‘दूरदृष्टिसहितको तयारी र प्रभावकारी योजना बनाउन प्रदेश सरकारदेखि स्थानीय तह चुके जस्तो लागेको छ।’

समयमै पर्याप्त संख्यामा क्वारेन्टाइन बनाउन नसकिए थप समस्या आउनसक्ने उनको भनाइ छ।

सामाजिक विकास मन्त्रालयले शनिबार जारी गरेको तथ्यांकअनुसार धनुषामा क्वारेन्टाइन बेड क्षमता ६९५ रहेकोमा ७५२ जनालाई राखिएको छ। प्रदेश २ को आठ जिल्लामा २४८ क्वारेन्टाइनहरूमा कुल बेड संख्या ११ हजार ७८७ रहेकोमा ८ हजार १८९ जना रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय