ओलीको रमिता–राजमा कोरोना र लिम्पियाधुरा

कहीं नहुने रमिता हाम्रै देशमा हुने रहेछ कि क्या हो! मान्नै पर्‍यो, रमिता मानव स्वभावको अभिन्न खजाना हो।

प्राचीन ग्रिक–रोम कथ्यसाहित्यका ‘डायनिसियन मिस्ट्री’, हिन्दु धर्मग्रन्थका मायावी–कथालाई माथ खुवाउने रमिता शृंखला हामीकहाँ चलिरहेको छ। नेपालीहरूको दृष्टिभोगनिम्ति मन्चित यो रूपक अन्त सायदै पाइएला। यसका दुई विशिष्ट पाटा छन्। पहिलो, यसका आयोजक नेताहरू हुन्। दोस्रो, यसको कुनै आम्दानी छैन, घाटामात्रै छ।

रमिता भन्ने चिज आफैंमा खराब जो हो भनेर कसैले ठोकुवा गर्न सक्दैन। ब्राजिलले साम्बा नृत्यबाट करोडौं पर्यटकलाई मनोरञ्जन दिन्छ, पैसा कमाउँछ। थाइल्यान्डको फुकेट पुगेर शरीरका ‘टक्सिक’ रागहरू निष्कासन गर्नेहरूको भीडले दिने आम्दानी पनि हेरौं। आफ्नै भुँडी सिङले उधिन्ने खतरा हुँदाहुँदै मानिसहरू स्पेनको ‘बुल फाइट’ हेर्न संसारबाट ओइरिन्छन्।

हाँस्नु–हँसाउनुको सन्दर्भ, औचित्य र ‘डेकोरम’ हुन्छ। रमिताको पनि मर्यादा हुन्छ। हँसाइ–हँसाइ पन्चायतलाई पेले महजोडीले। र, देशमा निरंकुशतन्त्र हटाउन योगदान गरे। नेताले बोलाउँदा जनता सडकमा नओर्लने अवस्थामा महजोडीले स्टेज चढ्नुपरेको नबिर्सौं। हँसाउने कुरामा दम नभएको भए मदनकृष्ण–हरिवंश आज पनि नेपालकै सबैभन्दा बढी सामाजिक सामर्थ्ययुक्त व्यक्ति कसरी बन्न सक्थे?

ओलीले दोस्रो पटक प्रधानमन्त्री भइरहँदा हरेक महत्वपूर्ण मौकामा दुई चिजको मात्र भरमार प्रयोग गरेका छन्– बेपर्वाह हास्य र तुच्छ व्यंग्य। यो अभ्यासमा उनी मात्रै दुई कुरामा सरोकारित हुने गरेको स्पष्ट छ। पहिलो, उनको भजनमण्डलीको वाहवाही र दोस्रो उनकै आत्मरति।

तर, अहिले नेपालको रमिता हेर्न को पैसा तिरेर आउला? हाम्रा प्रधानमन्त्री केपी ओलीका हस्यौली, ठट्यौलीको खुद व्यापार मूल्य के कति छ? त्यसको संग्रह गरी इन्टरनेसनल वेस्टसेलर बनाउने गुन्जाइस के कति छ? ओलीको कुरा सुनेर को नहास्ला? तर हाँस्दाहाँस्दै कस्तो राजनीतिक, सामाजिक चेतना मानिसहरूले ग्रहण गर्लान्? उनले भन्ने गरेको विकसित राष्ट्रको सपनातिर उद्यत गराउन उनको हास्य कति जोडदार र प्रभावकारी छ?

म त भन्छु, प्रधानमन्त्री ओली हँसाइ–हँसाइ मुलुकलाई बर्बादीतर्फ धकेल्दैछन्।

नेताको ‘सेन्स अफ ह्युमर’ले आफू, परिवार, समाज र देशकै लागि नै ठूलो महत्व राख्छ। नेपालीहरूले किसुनजीको सेन्स अफ ह्युमरलाई के कसरी बुझे? त्यसको कहीं कहीं अहिले पनि समीक्षा हुने गर्छ। उनी बरू आफैंलाई उडाउँथे, तर कसैको खिसी गर्ने, आहत हुने काम गर्दैनथे। हँसाउने अद्भूत कला हुँदाहुँदै उनले आवश्यक पर्दा दिने जवाफ, त्यसको गहनता र त्यसभित्रको साहस सायदै फेरि कुनै नेतामा देखिएको होला।

हास्यचेतका कारण खासै चर्चामा त आएनन्, तर मनमोहन अधिकारीले गर्ने व्यंग्यले यर्थाथपरक राजनीतिक अर्थ बोकेको हुन्थ्यो। उनले काठमाडौंको मूलपानीमा आयोजित चुनावीसभामा शेरबहादुर देउवालाई दिएको बहुचर्चित ‘लाहुरे’को संज्ञा आज पनि आधाभन्दा बढी कांग्रेसीहरूले स्वीकार्छन्।

ओलीले दोस्रो पटक प्रधानमन्त्री भइरहँदा हरेक महत्वपूर्ण मौकामा दुई चिजको मात्र भरमार प्रयोग गरेका छन्– बेपर्वाह हास्य र तुच्छ व्यंग्य। यो अभ्यासमा उनी मात्रै दुई कुरामा सरोकारित हुने गरेको स्पष्ट छ। पहिलो, उनको भजनमण्डलीको वाहवाही र दोस्रो उनकै आत्मरति।

कोरोना महामारीकै सन्दर्भमा गरेको एउटा बबन्डर स्मरण गरौं। उनले कोरोना भाइरसको बोसिय, फ्याटिय तत्व भनेर नयाँ शब्दावली निर्माण गरिदिए। विकसित समाजमा सरकार प्रमुखले बोल्ने शब्दको शुद्धताले ठूलो अर्थ राख्छ। ओलीले हँसाउनेभन्दा पनि विशेषज्ञ रायझैं केही कुरा जनतालाई दिन खोजेका थिए। तर उनले जे भने पनि हँसाउने सम्भावना रहने परिप्रेक्ष्यमा शब्दको अनौठो अशुद्धिका कारण हाँसो–अभ्यस्त जमातले अट्टाहस गर्‍यो।

भजनमण्डलीले पनि गुरूकुलमै सिकेझैं उनकै शैलीमा तरक्की गर्ने नै भए। उनले राजनीतिक तुलोमा उत्कृष्ट ठहर्‍याएका गोकुल बाँस्कोटाको ७० करोडको बार्गेनिङ, भानुभक्त ढकालको कोरोना व्यवस्थापनलगायत अनेकन घटनाक्रममा ‘ओलीय हास्य’ अदम्य आयतनमा प्रस्फुरित भएको देख्न सकिन्छ। ओलीका भजनमण्डलीभित्र पनि दुई खलग छन्– हास्यवाला र छुच्चोवाला। छुच्चोवालाहरू प्रायः छौंडा पर्दाफासमा पोख्त छन्। तर ओम्नी जस्ता नन्दीभृङ्गी समूहको नाचमा चाहिँ दुवै खलग एकगठ हुन्छन्।

अब एउटा अवस्थाको परिकल्पना गरौं, नेपालले कुनै देशसँग युद्ध गर्नुपर्दा ओली नै प्रधानमन्त्री छन्। उनले दिने सैन्य आदेशमा पनि हास्य तत्व हाबी हुने हो कि? उनी सायद भन्लान्– हातमा दही जमाएर नबसौं। घिच्रामा हान्न ठूलो हतियार चाहिन्न। त्यस्तोमा नेपाली कमान्डरहरूले के बुझुन्? सिपाहीले कसको घिच्रो खोज्नु? नेपाली इतिहासमा गिनेचुनेका युद्ध कमान्डरहरूले विदेशी बैरीसँग लड्दा के यस्तै टुक्का लडाएर जित पारेका हुन् त? (यहाँ आफ्नै देशका दाजुभाइबीच काटमार मच्चाउने माओवादी सशस्त्र द्वन्द्वतर्फ इंगित गर्न खोजिएको होइन।)

नेपाल यतिबेला दुईखाले युद्धमा छ। दुवै कुनै घातक हतियारले जितिने खालका युद्ध होइनन्। यीमाथि विजय प्राप्त गर्न सहायकसिद्ध हुने केही अवयव छन्– विशुद्ध राजनीतिक इमान्दारिता, सुदृढ आन्तरिक एकता र स्मार्ट कूटनीति। यी दुवै युद्धमा ‘ओलिय हास्य’को कुनै भूमिका र अर्थ रहने देखिन्न।

लिम्पियाधुरा–कालापानीको सन्दर्भमा नेपालले एउटा कटु सत्य भुल्न हुन्न– छिमेक साट्न मिल्दैन। यो भारतका हकमा पनि लागू हुन्छ। मित्रवत् छिमेकी रहेरै नेपालले भारतसँगको यो कूटनीतिक युद्ध जित्नुपर्छ।

कोरोनाविरुद्धको युद्धमा नेपाललाई अब भाग्यले मात्र जोगाउने स्थिति देखिन्छ। या त साँच्चै भाइरस कमजोर भएको कुरा सत्य ठहर्नुपर्‍यो या सरकारको यतिका दिनसम्म नआएको विवेक हठात् फिर्नुपर्‍यो। ओली सरकारले मुख बन्द गराएका एक महामारी विशेषज्ञ डाक्टर केही दिनअघि अनौपचारिक कुराकानीमा भन्दै थिए– ‘अन्त महामारी सकिसक्दा चाहिँ हामीकहाँ ताण्डव देखाउला जस्तो छ।’ महामारीप्रति राज्य र जनतालाई निरन्तर सावधानी गर्दै आएका यी गैरराजनीतिक डाक्टरलाई ओलीको स्वास्थ्य मन्त्रालयले कोरोना टाक्सबाटै विमुख गरिसकेको छ।

व्यावसायिक डाक्टरको मुख थुन्न रातारात शक्ति एकोर्‍याउन सक्ने मन्त्रालयले दुई महिना लामो लकडाउनलाई कोरोना नियन्त्रणको तयारीमा पटक्कै उपयोग गरेन। क्वारेन्टाइन, परीक्षण र ट्रेसिङमा कुनै उल्लेख्य काम भएन। प्रभावित क्षेत्रबाट मानिसहरूको आवतजावतमा कुनै कडाइ गरिएन। यस्तो अवस्थामा पनि ओली–मण्डल रकमी धन्दाबाट अछुतो रहन सकेन।

दोस्रो हो, नेपाली अखण्डता रक्षानिम्ति लडिने विशुद्ध कूटनीतिक युद्ध।

लिम्पियाधुरा–कालापानीको सन्दर्भमा नेपालले एउटा कटु सत्य भुल्न हुन्न– छिमेक साट्न मिल्दैन। यो भारतका हकमा पनि लागू हुन्छ। मित्रवत् छिमेकी रहेरै नेपालले भारतसँगको यो कूटनीतिक युद्ध जित्नुपर्छ।

धु्रवसत्य छ, त्यो भूभाग नेपालको हो। र, त्यसलाई यसै आफ्नो बनाउने धारणा भारतले नबदली सुख छैन। नेपालसँग त्यसको स्वामित्वका विषयलाई लिएर प्रशस्त प्रमाण छन्।

भारत ती प्रमाण केलाउने यत्नमा गम्भीर हुँदैन भने यो मामिलालाई द्विपक्षीयभन्दा माथिको उच्च कूटनीतिक तहमा निरुपणार्थ लानैपर्छ। संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय अदालतलगायतका निकायले भारतकै पक्षपोषण गर्छन् भन्ने छैन। त्यो प्रक्रिया कामयाव नभएको अवस्थामा मात्र हामी अप्रिय निर्णयतर्फ जानुपर्ने हुनसक्छ।

ओली सरकार यो मामिलामा पनि एकदमै निर्धो मनस्थितिबाट गुज्रिएको स्पष्टै छ। केही दिनअघि जारी गरेको नक्सा नयाँ नै होइन। नेपालले लिम्पियाधुराको चुच्चो कहिले त्यागेको छ र? भारतले त्यसलाई एकलौटी ढेपेर भोगचलन मात्र गरेको हो। नछुटेको, नटुक्रेको टुप्पो जोडेर नयाँ बनाएको भन्न कहाँबाट मिल्छ? नेपालको आधुनिक नक्सा सुगौली सन्धिले निर्धारण गरेको हो।

विगतमा सत्ताशक्तिमा चढेका केही विदेशी स्वार्थबाट परिचालित तत्वहरूको षडयन्त्रबाट पछिल्लो दशकमा प्रचलित नेपाली नक्सामा त्यो भूभाग छुटाइन पुग्यो।

नेपालले अब त्यो त्रुटि आफ्नै हकमा सच्याउने मात्र हो। र, त्यसको माने यो होइन कि नेपालले त्यसलाई खसालेको छ, अनि भारतले टप्प टिपेर क्वाप्प खान्छ। त्यसैले यसमा उन्माद गरिरहनुपर्दैन।

यो अति सामान्य तथ्यलाई नेपालको हकमा उपयोग गर्न ओली आत्मविश्वाससाथ अगाडि बढ्नुपथ्र्यो। उनले संसद् पुगेर भारतीय निशान छापतर्फ इंगित गर्दै शब्द–श्लेष गर्न आवश्यक नै थिएन। कुनै राष्ट्रियता नहुने, कुनै जिवांश नहुने भाइरसलाई उत्तर–दक्षिणको भनेर छुट्टयाउनुपर्ने दर्कार थिएन। यसो भनिरहँदा उनले आफ्नो ‘बोसिय’ ज्ञानको मात्र प्रयोग गरे, छिमेकी मुलुकका जनताबीचको सम्बन्धको गरिमा र कूटनीतिक मर्यादालाई ख्याल गरेनन्।

फेरि उनलाई ‘ओलिय हास्य’ ले गाँज्यो। एउटा सार्वभौम मुलुकको प्रधानमन्त्री हुनुपर्दाको गम्भीरता उनले यस्तो जटिल परिस्थितिमा पनि धारण गर्न सकेनन्। भजन–मण्डलीको वाहवाही र जड कार्यकर्ताको उपभोगका लागि मात्र बोल्ने मनोदशालाई जित्न सकेनन्। अर्थात्, एउटा घातक रमितालाई मात्र निरन्तरता दिए, जसले उनको सत्तालाई मात्र अस्थायी टेको दिएको छ।

One thought on “ओलीको रमिता–राजमा कोरोना र लिम्पियाधुरा

  1. तितो तर सत्य । विनासको राजनितिक अजिङ्गरले टाउका निलिसक्दा पनि जुत्ता जोगाउन प्रयत्न गर्ने जनता भएकै देशमा यस्ता बोसिय तत्वहरुको जिन्दावाद हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय