एकाडेमिक योग्यता ‘एमएसडिपिएस’लाई पाखा लगाउँदै सशस्त्र प्रहरीमा २२ एसपीको बढुवा

तस्विर : एपिएफकाे फेसबुक पेज

सशस्त्र प्रहरी बलले बढुवाको मानक एकाडेमिक तालिम तथा प्रशिक्षण पास गरेकालाई पाखा लगाउँदै २२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गरेको छ।

सशस्त्र प्रहरी हेडक्वाटरले बढुवा गरेका २२ जनाले नै आइतबार दर्ज्यानी चिन्ह पाएका छन्। सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बढुवाको ‘मानक’ मानिएको एकेडेमिक दक्षतालाई पाखा लगाउँदै प्रहरी उपरीक्षकहरूको बढुवा गरेका हुन्।

सशस्त्र प्रहरीमा २०७२ सालदेखि प्रहरी नायब उपरीक्षक (डिएसपी) र प्रहरी उपरीक्षक (एसपी) बढुवाको मानक मास्टर्स इन सेक्युरिटी डेभलपमेन्ट पिस एन्ड सेक्युरिटी (एमएसडिपिएस)लाई मानिँदै आएको छ।

चार सेमेस्टरसम्म पढाइ र तालिम हुने एमएसडिपिएसका लागि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सशस्त्र प्रहरीका लागि स्टाफ कलेज नै सञ्चालित छ।

डिएसपी र एसपी बढुवामा सो स्टाफ कलेजमा १५ महिनासम्म अध्ययन र तालिम सकेका अधिकृतलाई बढुवामा विशेष ग्राह्यता दिइने मापदण्ड यसपालिको बढुवामा लागू नभएको हो।

बढुवा हुनेहरूमा हर्कबहादुर विष्ट, दीपेन्द्र गिरी, प्रकाशकुमार सुवेदी, सुवास भण्डारी, अर्जुन खत्री, विजय केसी, नरबहादुर रावल, पूर्णबहादुर साउद लगायत छन्। उनीहरूले स्टाफ कलेजबाट एकेडेमिक दक्षता हासिल गरेका छैनन्।

दक्षता हासिल गरेका चित्रांगद दाहाल, गगन श्रेष्ठ, राजकुमार लामिछाने, विक्रम हुमागाईं, रूपकुमार क्षेत्री, कृष्णराज अधिकारी, राजु गौतमहरू बढुवामा परेनन्।

आफू निकटका र राजनीतिक पहुँच राख्ने व्यक्तिहरूलाई बढुवा गर्दा एकेडेमिक दक्षता हासिल गरेकाहरू भने खिन्न भएका छन्।

यो बढुवा समितिमा सशस्त्र प्रहरी महानिरीक्षक खनाल अध्यक्ष, गृह मन्त्रालयका सहसमित सदस्य र सशस्त्र प्रहरी नायब महानिरीक्षक सदस्यसचिव थिए।

यसपटकको बढुवामा ‘एस म्यान’ खोज्दा महानिरीक्षक खनालले प्रशासन निर्देशनालयलाई पनि पाखा लगाएका छन्। साधारणतया: प्रशासन निर्देशनालयका प्रहरी नायब महानिरीक्षक बढुवाको सदस्यसचिव हुन्छन्। तर, यसपालि कार्य निर्देशनालयका महानिरीक्षक मन्दीप श्रेष्ठलाई सदस्यसचिव बनाइएको थियो।

‘प्रहरी अधिकृतको वृत्ति विकास र भविष्यमा योग्य अधिकृतको नेतृत्व विकास गर्न  स्टाफ कलेजबाट दक्षता हासिल हुनुपर्ने नियम बनाइएको हो, यो नियमले बढुवामा प्रभाव राखेन,’ एक उच्च अधिकारीले भने, ‘योग्यलाई भन्दा कमजोरलाई अगाडि ल्याउने हो भने स्टाफ कलेज के का लागि?’

सशस्त्र प्रहरी हेडक्वाटरले भने सशस्त्र प्रहरी ऐन र नियमावलीअनुसारै बढुवा निकालेको बताएको छ। ‘ऐन नियममा जे छ त्यसैअनुसार बढुवा निकालिएको हो, स्टाफ कलेजमा योग्यता हासिल गरेको पर्‍यो परेन भन्दा पनि ऐन नियम टेकर भयो भएन भन्ने हुन्छ,’ प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रवीण श्रेष्ठले भने, ‘एकेडेमिक दक्षता हासिल गरेको पनि पर्छ, नगरेको पनि परेको हुनसक्छ।’

बढुवा समितिले सबै पक्षबाट योग्य उम्मेदवारलाई नै बढुवा सूचीमा सिफारिस गरेको श्रेष्ठले बताए।

बढुवा समितिले वैशाख २६ गते सिफारिस गरेको थियो। यो बीचमा एक साता बढुवा सिफारिसमाथि गुनासा तथा उजुरी गर्ने समय दिइएको थियो। तर, कसैले पनि उजुरी नगरेपछि हेडक्वाटरले सुशोभन गरेको हो। फौजी संगठनमा ‘चेन अफ कमाण्ड’ मानिने र बिरोध गर्दा भविष्यमा थप क्षति व्यहोर्नुपर्ने डरले अधिकृतहरू हेडक्वाटरको निर्णयविरूद्ध जाने गरेका छैनन्।

को-को बढुवामा परे?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय