झापामा प्रयोगशालासहितको कोरोना उपचार अस्पताल बन्ने

झापामा कोरोना उपचार अस्पताल निर्माण हुने भएको छ। कोरोना संक्रमण रोकथाम, नियन्त्रण मूल्याङ्कन समिति झापाले स्थानको टुंगो लगाएसँगै अस्पताल बन्ने पक्का भएको हो।

भद्रपुरस्थित मेची अस्पतालको नवनिर्मित भवनलाई कोरोना अस्पतालका रुपमा विकास गरिने सर्वपक्षिय सहमति जुटेको प्रदेश सांसद वसन्त बानियाँले बताए। अस्पताल एक सय वेडको हुने छ।

अस्पतालसँगै पिसिआर प्रयोगशाला केन्द्र पनि सञ्चालनका आउने भएको छ। प्रयोगशालाका लागि जिल्ला जनस्वास्थ्य कार्यालयको तालिम भवन छनौट भएको बैठकमा सहभागी नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिए।

कोरोना अस्पतालका लागि आवश्यक जनशक्ति र उपकरण प्रदेश १ सरकारले व्यवस्थापन गर्ने छ। त्यसमा स्थानीय सरकारले पनि सहयोग गर्ने छ। केही जनशक्तिको व्यवस्थापन भइसकेको बताइएको छ।

अस्पताल सञ्चालनमा आउन करिब दुई साता लाग्ने जनाइएको छ। मेची अञ्चल अस्पतालको नवनिर्मित भवनमा शौचालय, वाथरुम निर्माण र विद्युत जडान गर्न बाँकी रहेकाले अस्पताल सञ्चालनमा आउन समय लाग्ने भएको हो।

प्रयोगशाला तत्कालै सञ्चालनमा आउने स्वास्थ्य सम्बद्ध अधिकारीले बताएका छन् । नेकपाका जिल्ला अध्यक्ष चिन्तन पाठक, कांग्रेस जिल्ला सभापति उद्धव थापा, झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, झापा प्रहरी प्रमुख कृष्ण कोइराला, शसस्त्र प्रहरीका एसपी रमेश थाक्सु, नेपाली सेनाका कर्णेल लगायत सरोकारवाला सम्मिलित बैठकले अस्पताल र प्रयोगशाला निर्माण तथा सञ्चालनको निर्णय लिएको हो।

बैठकमा जिल्ला समन्वय समितिले एकहजार थान भिटिएम किन्ने निर्णयसमेत गरेको अध्यक्ष सोम पोर्तेलले बताए। प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे सहितको बैठकले पाँच दिन अघि झापामा कोरोना अस्पताल र प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो।

अस्पताल सञ्चालनका लागि बिर्तामोड र चन्द्रगढीको खाद्य गोदाम, कलवगुडी र मेची अञ्चल अस्पतालको नयाँ भवन सम्भाव्य स्थानका रुपमा अध्ययन गरिएको थियो।

झापाको कचनकवलमा मात्रै ३३ जनामा कोरोना संक्रमित देखिएपछि झापामा कोरोना अस्पताल खोल्न प्रदेश सरकारले चासो देखाएको थियो।

झापामा अस्पताल सञ्चालनमा आएपछि प्रदेश १ मा कोरोना उपचार अस्पतालको संख्या तीन पुग्ने छ। अहिले मोरङको विराटनगर र सुनसरीको धरानमा कोरोना अस्पताल छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय