लुकिपिछी आउनेले जोखिम बढाए : खजुरा गाउँपालिका स्वास्थ्य प्रमुख

बाँकेको खजुरा गाउँपालिकामा एक स्वास्थ्यकर्मी र एक सर्वसाधारणमा कोरोना भाइरसको संक्रमण देखिएपछि खजुरावासी चिन्तित बनेका छन्।

यतिमात्रै होइन, भारतबाट सर्वसाधारण धमाधम गाउँ छिर्न थालेपछि उनीहरूमा झन् भय पैदा भएको छ।

खजुरा गाउँपालिकाका स्थानीय चिन्तित र त्रसित बन्नुको अर्को कारण हो, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कोरोना संक्रमितको उपचार हुनु, जुन खजुरा गाउँपालिकामै पर्छ। अस्पताल नजिकै भएकाले कोरोना फैलिन्छ कि भन्ने संन्त्रासमा छन् खजुरावासी।

क्यान्सर अस्पतालमा ३० जना कोरोना संक्रमितको उपचार भइरहेकोमा शुक्रबार २१ जना निको भएर घर फर्किसकेका छन्। बाँकी ९ संक्रमितको उपचार भइरहेको छ। उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य पाइएको छ।

भेरी अञ्चल अस्पतालले कोरोना संक्रमितको संख्या थेग्न नसकेपछि प्रदेश सरकारको मातहतमा रहने गरी क्यान्सर अस्पताललाई कोरोना विशेष अस्पताल तोकेको हो।

क्यान्सर अस्पतालले भेरी अस्पतालको समन्वयमा काम गरिरहेको छ। ‘एक स्वास्थ्यकर्मी र एक सर्वसाधारणमा कोरोना देखिनु र गाउँपालिकामै कोरोना अस्पताल भएपछि स्थानीयवासी केही त्रसित बनेका छन्,’ खजुरा गाउँपालिकाका जनस्वास्थ्य अधिकृत पूर्णबहादुर खड्काले भने, ‘भारतबाट आएकाहरूले जोखिम बढाए । अस्पताल नजिक हुँदैमा डराउनुपर्ने अवस्था छैन। संयमित भई कोरोनाविरुद्धको लडाइँ जित्नुपर्छ।’

भेरी अञ्चल अस्पतालले कोरोना संक्रमितको संख्या थेग्न नसकेपछि प्रदेश सरकारमातहतमा रहने गरी क्यान्सर अस्पताललाई कोरोना विशेष अस्पताल तोकेको हो।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले प्रत्येक वडामा कम्युनिटी -यापिड रेस्पोन्स टिम परिचालन गर्नुका साथै स्वयंसेवक र स्वास्थ्य स्वयंसेविका खटाएको खड्काले जानकारी दिए।

गाउँपालिकाका दुई जनामा कोरोना देखियो भन्दा बढी भारतबाट आएकाले जोखिम बढाएको भन्दै खड्काले खुला सीमानाकाले गर्दा लुकिछिपी आउनेका कारण भाइरस संक्रमण बढ्नसक्नेमा चिन्ता व्यक्त गरे।

गाउँपालिकाले भारतबाट आएका १ सय ४८ जनालाई विभिन्न स्थानमा क्वारेन्टाइनको निर्माण गरी व्यवस्थापन गरेको छ। गाउँपालिकामा २० क्वारेन्टाइन छन्।

भारतबाट आउनेको संख्या बढी भएकाले स्वास्थ्य परीक्षण गर्न समस्या भएको गाउँपालिकाले जनाएको छ। क्वारेन्टाइनमा रहेका सर्वसाधारणको तापक्रम र अन्य लक्षण चेकजाँच गरी तथ्यांक राख्ने काम भइरहेको छ। तर अहिलेसम्म उनीहरूको स्वाब संकलन गरी स्वास्थ्य परीक्षण गरिएको भने छैन।

भारतबाट आउनेको संख्या बढी भएकाले स्वास्थ्य परीक्षण गर्न समस्या भएको गाउँपालिकाले जनाएको छ

‘अहिलेसम्म सामान्य लक्षण सोधपुछ गरी तथ्यांक संकलन गरिरहेका थियौं। अब स्वाब संकलनका लागि काम गर्छौं। एक दुई दिनमा पिसिआर विधिमार्फत स्वास्थ्य परीक्षण गर्छौं,’ उनले जानकारी दिए।

गाउँपालिकाले अहिलेसम्म ६० जनाको पिसिआर र १९ जनाको आरडिटी परीक्षण गरेको छ । क्वारेन्टाइनमा रहेका ३५ जनाको पहिलो चरणमा र बाँकीको दोस्रो चरणमा स्वाब संकलन गरिने स्वास्थ्य प्रमुखले जानकारी दिए।

क्वारेन्टाइनमा रहेका सर्वसाधारणको रेखदेखका लागि प्रत्येक स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीको ड्युटी पर्ने गरी रोटेसन मिलाइएको छ।

कोरोना भाइरसको महामारीसँग लड्न स्वास्थ्यकर्मी मात्रै नभई सबै सर्वसाधारणले एकजुट भई लाग्नुपर्ने खड्काले बताए। ‘यो हाम्रो परीक्षाको घडी हो, स्वास्थ्यकर्मी भएपछि निस्वार्थ भावनाले काम गर्नुपर्छ । धैर्य सेवा नै हाम्रो उत्तरदायित्व हो,’ उनले भने।

लगत्तै संक्रमितको कन्ट्र्याक ट्रेसिङको काम गर्ने बताउँदै खड्काले संक्रमितको परिवारलाई घरमै सुरक्षित रहन आग्रह गरेको बताए। संक्रमण देखिएका घरपरिवारलाई निगरानीमा राखेको र उनीहरूको स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय