‘मृत्युको’ सरकारी कारण कोरोना संक्रमण, नरैनापुरबासी भन्छन्- झाडापखालाको उपचार नपाउँदा ज्यान गयो

संक्रमण भएका व्यक्तिबाट जोगिन लगाइने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट पिपिई नभएको भन्दै एम्बुलेन्सका चालकले नमानेपछि संक्रमित भनिएका युवाको थप उपचार हुन पाएन। नतिजा झाडापखाला र बान्ताले थलिएका ती युवाले ज्यानसम्म गुमाउनुपर्यो।

ड्राइभरले आफू सुरक्षित हुन लगाउने पोसाक नहुँदा सेवा दिन इन्कार गर्नु उसको पनि बाँच्न पाउने अधिकार होला। तर, त्यस्ता पोसाकको व्यवस्था गर्न नसक्नुमा दोषीको त ? कोरोना संक्रमण पुष्टि भएका २५ वर्षे (अनिश नाउ) को ज्यान जानुको सरकारी कारण कोरोना भाइरसको संक्रमण बन्यो।

जिल्लामा यो घटनाको विषयमा अहिले निकै चर्चामा छ। उनको मृत्यु भएको करिब एक साता बित्न लाग्दा स्वास्थ्य क्षेत्रसँग सम्बद्ध निकाय र स्थानीय सरकारको कमजोर व्यवस्थापनले सर्वसाधारणले ज्यान गुमाउनुपरेको विषयमा जिल्लावासी चिन्तित बनेका छन्।

बाँकेमा पहिलो पटक वैशाख १९ गते संक्रमण पुष्टि भएका ६० वर्षे एक पुरुषसहित २१ जना स्वास्थ्यलाभ लिएर घर फर्किएको समाचारले बाँकेका सर्वसाधारणमा आत्मविश्वास थपिएको महसुस त गर्न सकिन्छ। तर, नरैनापुरका एक युवाको मृत्यु घटना भने रहस्यमय बन्दै गइरहेको छ।

नरैनापुरकै पत्रकार विनय दीक्षित उक्त मृत्युको मुख्य कारण कोरोना संक्रमण हो भन्ने पत्याउन सजिलो नलागेको बताउँछन्। उनी भन्छन्, ‘नेपालगन्जका पहिलो संक्रमित ६० वर्षका वृद्धले त संक्रमणलाई जितेर फर्किएको खबर छ भने २५ वर्षे युवा संक्रमण पुष्टि भई नसक्दै मर्नु हाम्रा लागि चिन्ताको विषय हो।’

नरैनापुरको दीपेन्द्र प्राविको क्वारेन्टाइनमा बस्दै आएका ती युवाको शनिबार मात्रै स्वाब संकलन गरी कोरोनाका लागि पिसिआर परीक्षण गराइएको थियो। आइतबार बिहान क्वारेन्टाइनमै उनै २५ वर्षे युवाको मृत्यु भयो।

सरकारको तर्फबाट जारी हुने सूचनामा उनको मृत्युको कारण कोरोना संक्रमण नै लेखियो।

नरैनापुर, मटेहिया–५ का रामधन यादव पनि युवाको मृत्युको रिपोर्टमाथि नै आशंका जनाउँछन्। उनी भन्छन्, ‘झाडापखाला लागेको उपचार हुन नसक्नु र क्वारेन्टाइनको व्यवस्थापनमा प्रश्न उठाइरहेका छौं तर हाम्रो कुराको सुनुवाइ हुँदैन।’

नरैनापुरको दीपेन्द्र प्राविको क्वारेन्टाइनमा बस्दै आएका ती युवाको शनिबार मात्रै स्वाब संकलन गरी कोरोनाका लागि पिसिआर परीक्षण गराइएको थियो। आइतबार बिहान क्वारेन्टाइनमै उनै २५ वर्षे युवाको मृत्यु भयो।

वैशाख ३० गते भारतबाट स्वदेश फर्किएका उनको ५ दिनपछि मृत्यु भएको हो। त्यही शनिबार रातिदेखि ज्वरो आउने, वान्ता हुने र झाडापखालाको समस्या देखिएको भए पनि उनलाई क्वारेन्टाइनबाट समयमै अस्पताल लैजान नसक्दा मृत्यु भएको प्रस्ट छ।

घटनाभन्दा पहिले भारतबाटै घर फर्केका नरैनापुरकै अरु व्यक्तिहरूमा पनि संक्रमण पुष्टि भइसकेको अवस्थामा क्वारेन्टाइनमा रहेकाहरू सबैको संक्रमण भए नभएको परीक्षणलाई प्राथमिकतामा नराख्नुले नरैनापुरमा जोखिम बढाएको मान्न सकिन्छ।

ती युवाको मृत्युको कारणमा आशंका रहेको भन्दै नरैनापुरका एक सर्वसाधारणले स्थानीय सरकारप्रति आक्रोश पोख्दै भने, ‘क्वारेन्टाइन केवल नामको मात्रै छ। त्यो त छाडा गाईगोरु राख्ने कान्जीहाउस जस्तो छ। क्वारेन्टाइनमा पोजेटिभ र नेगेटिभ रिपोर्ट आउने सँगै बस्नुपर्ने अवस्था छ।’

मृतक युवाको परिवारका एक सदस्यले झाडापखला लागेका भनेकाले आफूहरुले सरबत पानी लिएर गए पनि बिरामीलाई पिउन नदिइएको गुनासो गरे।

कोरोना संक्रमणको विश्वभरको अवस्था र उमेर समूहलाई केलाउने हो भने २० देखि २९ वर्ष समूहमा मृत्युदर करिब ०.२ प्रतिशतमात्र देखिन्छ।

विश्व राजनीति र अर्थतन्त्रको सवालमा तथ्यांक र अन्य कुरामा विश्व स्वास्थ्य संगठन पनि कोरोना भाइरसका कारण कतिपय अवस्थामा विवादमा आइसकेको स्थितिमा तथ्यांक संकलन गरिरहेका विभिन्न माध्यमको आधार मान्न सक्ने अवस्था छ।

मृतक युवाको परिवारका एक सदस्यले झाडापखला लागेका भनेकाले आफूहरुले सरबत पानी लिएर गए पनि बिरामीलाई पिउन नदिइएको गुनासो गरे।

कोरोना भाइरसको संक्रमण हुनसक्ने समय औसतमा २ देखि १४ दिनको अवधि मान्ने गरिएको छ। तर संक्रमणको लक्षण देखिएपछि मृत्यु हुन अरु २ देखि ३ साताको समय लाग्ने चिकित्सकहरूले गरेको दाबीको विषय हो। यसरी लक्का जवान युवाले सरकारको रेखदेखमै मृत्युवरण गर्छ भने नागरिकले कहाँ ढुक्क भएर बस्ने अवस्था हुनसक्ला ?

यता, प्रदेश ५ कै रूपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्युभएका गुल्मी मदानेका कोरोना संक्रमितको शव चौबीस घण्टासम्म उठ्न सकेको छैन। कारण हो, अस्पतालले राम्रो हेरचाह गरेन भन्ने।

जेठ १ देखि अस्पतालको आइसियूमा भेन्टिलेटरको सहायतामा उपचाररत ४१ वर्षे बिरामीलाई बिहीबार बिहान ७ बजे मृत घोषणा गरिएसँगै परिवार आक्रोशित भएका हुन्।

मृतकका परिवारले जेठ ५ गते कोरोना देखिएपछि बिरामीले उपचार नै नपाएको आरोप लगाएर छानबिन र न्यायको प्रत्याभूति नभएसम्म शव नबुझ्ने अडान लिएका छन्।

तर बाँकेको विकट मानिने ग्रामीण भेगमा परिवारजनले उपचारमा चित्त नबुझाए पनि स्थानीय प्रशासनले अन्तिम संस्कार गर्न निकै सक्रियता देखायो।

त्यत्तिकै सक्रियता उपचारमा पनि देखाएको भए सायद उनी कोरोना संक्रमणबाट नयाँ जीवन लिएर फर्किन सक्थे कि भन्ने चुकचुकी परिवारमा छ।

बाँके र रूपन्देहीका यी दुई जनाको मृत्युको घटनााबाट महामारीले देश चपेटामा आइसकेकाले देशका अन्य ठाउँका स्थानीय सरकार चनाखो भएर नागरिकको स्वास्थ्यका विषयमा गम्भीर बन्नुपर्ने देखाउँछ।

बाँकेको नरैनापुरको घटना स्थानीय तहको चरम लापरबाहीको एक ज्वलन्त नमूना हो। उता रूपन्देहीको घटनाले स्वास्थ्य संस्थाहरूबाट नागरिकको विश्वास डगमगाएको महसुस गर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय