हजारौं नागरिक नेपाल भित्रिँदै, न सीमामा जाँच हुन्छ, न कोरोना परीक्षण किट नै छ

भारतबाट सुदूरपश्चिमका विभिन्न नाका हुँदै नेपाल भित्रिने नागरिकको स्वास्थ्य चेकजाँच नै नभएपछि प्रदेशमा तिब्र कोरोना संक्रमण फैलिने खतरा बढेको छ।

भारतको उत्तर प्रदेश सरकारले नेपाली नागरिकलाई सीमाना सम्म पुर्‍याइदिने घोषणा गर्नु र सुदूरपश्चिम प्रदेशस्थित मुख्यमन्त्रीका स्वकिय सचिव सचीवले भारतमा रहेका नेपालीलाई स्वदेश फर्कन गरेको आह्यानपछि सीमासम्म पुग्ने नेपालीको संख्या बढ्दै गएको हो।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव प्रेम कुँवर प्रख्यातले मुम्बईमा रहेका नेपालीहरूलाई मे १८ मा फोन गरेर भारतमा रहेका नेपालीलाई आउन भनेका थिए।

उनले सामाजिक सञ्जालमार्फत पनि भारतमा रहेका नेपाली नागरिकलाई नेपाल आउन आग्रह गरेका थिए।

पछिल्लो तीन दिन यता प्रदेशका विभिन्न नाकाबाट दैनिक पाँच हजार नेपाली नागरिक भित्रिरहेका छन्। तर, उनिहरूको स्वास्थ्य परिक्षण भने भएको छैन। स्वास्थ्यकर्मीले कोरोना परीक्षण गर्ने किट अभावका कारण चेकजाँच नभएको बताएका छन्।

भारतमा रहेका नेपालीलाई स्वदेश फर्कन आह्वान गर्ने प्रदेश सरकारले समेत किटको व्यवस्था नगरेपछि सीमामा आउने नेपालीलाई विना चेकजाँच पठाउने गरेको स्वास्थ्यकर्मीको भनाई छ।

कैलालीसँग सीमाना जोडिएको गौरिफण्टा नाकामा खटाइएका स्वास्थ्य कर्मीका अनुसार कोरोना परिक्षणका लागि र्‍यापिट टेष्ट गरिदैं आएकोमा पछिल्लो तीन दिन यता भने कसैको पनि स्वास्थ्य परीक्षण गरिएको छैन। ‘त्यसको एउटै कारण हो किट अभाव’ सीमामा रहेका एक जना स्वास्थ्यकर्मीले भने–‘किट सकिएको जानकारी हामीले गराइसकेका छौं, प्रदेश सरकारले सुनुवाई नगरेपछि हामीले के नै गर्नसक्छौं र ?’ किट अभाव भएपछि भारतबाट आउने नागरिकलाई सम्बन्धित स्थानीय तहमै कोरोना परिक्षण गराउनु होलाभन्दै पठाउने गरेको ती स्वास्थ्यकर्मीले बताए।

‘शुक्रबार कैलाली, बैतडी र डडेल्धुरामा गरी पाँच जनामा कोभिड–१९ संक्रमण पोजिटिभको पुष्टि भइसकेको छ,’ सेती प्रादेशीक अस्पतालमा कार्यरत बरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले भने, ‘अस्तब्यस्त तरिकाले दैनिक ठुलो संख्यामा भारतबाट नेपाली भित्रिदा एकदमै चुनौति थपिएको छ, यस विषयमा प्रदेश सरकार गम्भिर बन्नु पर्दछ।’ सरकारको गम्भिर लापर्वाहिले अवस्था गम्भिर बन्न सक्ने बतथाउँदै उनले कोरोना महामारीलाई राम्रोसँग बुझेर सुझबिझका साथ काम गर्नु पर्ने बताए।

यसअघि बिहीबार र बुधबार गौरिफण्टा नाकाबाट मात्र तीन हजार २ सय ५५ नेपाली नेपाल प्रवेश गरेकोमा आरडिटी किटको अभावमा ६ सय ७० जनाको मात्र स्वास्थ्य परीक्षण गरिएको थियो।

सुदूरपश्चिमा तयार गरिएका क्वारेन्टाई मापदण्ड अनुसार नभएकाले क्वारेन्टाईनमा बस्दा पनि कोरोनाको जोखिम रहेको डाक्टर कमरले बताए। ‘अहिलेको अबस्था हेर्दा सुदूरपश्चिममा लुकेर बसेका कोरोनाका केस धेरै हुन सक्छन’ डाक्टर कमरले भने, ‘समयमै प्रयाप्त सर्तकता अपनाउन नसके यहाँको अवस्था भयावह हुन सक्छ।’

शुक्रबारमात्र भारतबाट आएका एक हजार ८ सय नेपाली कैलाली भन्सार नाका हुँदै नेपाल भित्रिएको कैलाली जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। उनले आरडीटी किट नभएका कारण शुक्रबार नेपाल भित्रिएका नेपालीमध्ये कसैको पनि स्वास्थ्य परीक्षण गर्न नसकिएको बताए।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले एकैपटक ठुलो संख्यामा भारतबाट समुहमा नेपाली आईरहेका कारण व्यवस्थापन गर्न कठिनाई भइरहेको बताए। उनले भारतबाट आउनेहरूको पूर्वजानकारी नहुँदा परीक्षण किट र यातायात व्यवस्थापनमा निकै कठिनाइ भएको बताए।

यसअघि बिहीबार र बुधबार गौरिफण्टा नाकाबाट मात्र तीन हजार २ सय ५५ नेपाली नेपाल प्रवेश गरेकोमा आरडिटी किटको अभावमा ६ सय ७० जनाको मात्र स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षण गरिएका मध्ये १५ जनामा आरडिटी पोजेटिभ देखिएको कैलाली स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लालसिंह धामीले जानकारी दिए।

पोजेटिभ देखिएका व्यक्तिहरूको पिसिआर चेकजाँच भइरहेको र अहिले उनीहरूलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको निमित्त प्रमुख धामीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय