लकडाउन उल्लंघन गरी नेपाल प्रवेश गरेका भारतीयद्वारा सशस्त्र प्रहरीमाथि आक्रमण

झापामा भारतीय नागरिकको आक्रमणबाट एकजना सशस्त्र प्रहरी घाइते भएका छन्। घाइते हुनेमा सशस्त्र प्रहरी हवल्दार शंकर चौधरी हुन्।

चौधरीलाई कचनकवल गाउँपालिका–१ घेराबारीस्थित समरभिट्टा बस्तीदेखि पूर्वमा रहेको १२२ नम्बरको सीमा पिलर नजिकै भारतीय नागरिकले आक्रमण गरी घाइते बनाएका हुन्।

चौधरी त्यहाँको अस्थायी पोस्टमा खटिएका छन्। भारतीय नागरिकको आक्रमणबाट सशस्त्रका हवल्दार चौधरीको हात र टाउकोमा चोट लागेको छ।

लकडाउन उल्लंघन गर्दै नेपाली भूमिमा प्रवेश गरेका भारतीय नागरिकलाई सशस्त्र प्रहरीले रोक्न खोज्दा आक्रमण हुन्।

पोस्टमा सशस्त्रका हवल्दार चौधरीसहित पाँच जना खटिएका थिए। भारतीय बस्ती गिलाबरीका ५–७ जना भारतीय नागरिक शुक्रबार घाँस काट्ने बहानामा नेपाली भूमिमा आएका थिए।

सशस्त्र प्रहरीले उनीहरूलाई सम्झाउन खोजेका थिए। उदण्ड भारतीय नागरिकले सशस्त्र प्रहरीलाई गालीगलौच गर्दै बाँसको भाटाले सशस्त्रका हवल्दार चौधरीको टाउकोमा प्रहार गरेका थिए।

लगत्तै थप ५०–६० जनाको भारतीयको समूह आएर आक्रमणको गरेको कचनकवल–३ का वडाध्यक्ष विजय राजवंशीले जानकारी दिए।

सुरक्षाकर्मीमाथि भएको आक्रमणको नेपाली नागरिकले प्रतिकार गरेका थिए। आफूहरू त्यहाँ पुग्नासाथ भारतीय नागरिक भागेको वडाध्यक्ष राजवंशीले बताए।

घटना लगत्तै थप नेपाली सुरक्षाकर्मी घटनास्थल पुगेका थिए। त्यहाँ भारतीय सीमा सुरक्षा फोर्सको टोली पनि आइपुगेकाले अप्रिय घटना हुन नपाएको राजवंशीले बताए।

दशगजामा तत्कालै दुवै देशका सुरक्षाकर्मी, जनप्रतिनिधि सहितको बैठकमा फेरि यस्तो घटना नदोहोरिने भारतीय पक्षले प्रतिवद्धता व्यक्त गरेको छ।

यसअघि जेठ ३ गते बेलुका पनि सोही गाउँपालिका–१ घेराबारीस्थित सुरिभिट्टा—झण्टुबस्ती नजिकै रहेको सशस्त्र प्रहरीको पोस्टमा भारतीय नागरिकले आक्रमण गरेका थिए।

आक्रमणबाट बच्न सशस्त्र प्रहरीले त्यसबेला एक राउन्ड हवाई फायर गरेको थियो। वैशाख २३ पनि झापाको मध्य दक्षिणी सीमावर्ती झापा गाउँपालिका–४ को जंगे पिलर १३१ नम्वर आसपासमा भारतीय समूहले नेपाली सुरक्षाकर्मीमाथि अन्धाधुन्ध आक्रमण गरेको थियो।

त्यहाँ सशस्त्र प्रहरीले प्रतिकारमा २ राउण्ड हवाइ फायर गर्नु परेको थियो। त्यसअघि कचनकवकै चमारभिट्टा र केचनाको खुट्टामनि सीमामा पनि सशस्त्र तथा नेपाल प्रहरीमाथि भारतीय नागरिकले आक्रमण प्रयास गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय