संक्रमण पुष्टिपछि मनमोहन सेन्टरको मुटुरोग सेवा स्थगित, १६ चिकित्सकसहित ४० क्वारेन्टाइनमा

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ १० गते १२:५२

चिकित्साशास्त्र अध्ययान संस्थान (आइओएम) को मनमोहन कार्डियोभास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएकी एक महिलामा कोरोना संक्रमण भेटिएपछि अस्पतालको मुटुरोग सेवा स्थगित भएको छ ।

अस्पतालमा जेठ ६ गते भर्ना भएकी हेटौडाकी एक ५४ वर्षीया महिलामा शुक्रबार साँझ कोरोना पोजेटिभ पुष्टि भएकाे थियो ।

अस्पतालका अधिकांश मुटुरोग विशेषज्ञ महिलासँग प्राइमरी कन्ट्रयाकमा रहेको घोषणा गरी क्वारेन्टाइनमा गएपछि मुटुरोग सेवा स्थगित गर्नु परेको हो । मुटुरोगको ओपिडीसँगै क्याथ ल्याबसमेत बन्द हुने अस्पताल स्रोतले जनाएको छ ।

मुटुको समस्या भएकी ती महिलामा निमोनियासमेत देखिएपछि चिकित्सकले शंका लागेर कोरोना परीक्षण गर्दा संक्रमण भेटिएको हो ।

सोलगतै राति ६ घण्टासम्म अस्पतालका चिकित्सकहरूको बैठक बसेर थप रणनीति बनाएको थियो । अहिले ती महिलालाई गणेशमान सिंह इएनटी भवनमा रहेको आइसोलेसन वार्डमा सारिएको छ ।

अस्पतालमा कन्ट्रयाक ट्रेसिङका क्रममा अस्पतालका १५ भन्दा बढी चिकित्सकले आफू संक्रमित महिलासँग प्राइमरी कन्ट्याकमा आएको घोषणा गरेपछि सबै चिकित्सक होम/इन्स्टिच्युसन क्वारेन्टाइनमा छन् ।

चिकित्सक, नर्स र अन्य कर्मचारीसमेत गरेर ४० जनाको हाराहारीमा क्वारेन्टाइनमा गएको अस्पताल स्रोतले बनाएको छ । अस्पतालका ३ मात्रै मुटुरोग विशेषज्ञले आफू प्राइमरी कन्ट्याकमा नरहेको भन्दै क्वारेन्टाइनमा नजाने बताएका छन् ।

आइओएमअन्तर्ग कोभिड टिमका सदस्यसमेत रहेको सर्जन डा. रञ्जन सापकोटाले संक्रमित महिलाको कन्ट्रयाक ट्रेसिङका आधारमा सम्पर्कमा आएकाकाहरूको स्वाब संकलन, क्वारेन्टाइन, बिरामीको व्यवस्थापन भइरहेको छ । ‘सकेसम्म छिट्टै सबै सेवालाई सुचारु गर्ने प्रयात्नमा छौ,’ डा. सापकोटाले भने ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका स्रोतका अनुसार ती महिला मनमोहन सेन्टर आउनुपूर्व गंगालाल र चावहिलको एक निजी अस्पतालसमेत पुगेको पाइएको छ ।

गंगालाल अस्पताल स्रोतका अनुसार ती महिलाले गंगालालमा कम्तीमा ४५ मिनेटमा मात्रै बिताएकी थिइन् । त्यस क्रममा एक्सपाेजर भएका हुनसक्ने कम्तीमा ३ जनाको स्वाब संकलन गरेर पिसिआर गर्ने तयारी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय