शुक्रबार संक्रमण पुष्टि भएका प्रदेश २ का सबैजना भारतबाट आएका

प्रदेश २ मा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार प्रदेश २ को बारामा ६ र सप्तरीको एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमण देखिएका सबैजना नाका सिल रहेको अवस्थामा लुकिछिपी नेपाल प्रवेश गरेको पाइएको छ।

बाराको सिम्रौनगढ नगरपालिकामा कोरोना पुष्टि भएका ६ जना भारतको महाराष्ट्र र हरियाणाबाट दिल्लीहुँदै नेपाल प्रवेश गरेको बताइएको छ।

सिम्रौनगढ नगरपालिकाका स्वास्थ्य सह–संयोजक राजेन्द्र साहले उनीहरु जेठ १ गतेदेखि ३ गतेभित्र लुकिछिपी नेपाल प्रवेश गरेको बताए।

‘उनीहरु सबैजना लुकिछिपी नेपाल प्रवेश गरेका हुन्, नाका प्रवेश गरेलगत्तै सुरक्षाकर्मीले सबैजनालाई क्वारेन्टाइनमा राख्न लगाएका थिए,’ साहले भने।

साहले नगरपालिकाको वडा नम्बर १ को एकजना, वडा नम्बर २ को एकजना, वडा नम्बर ७ का तीनजना र वडा नम्बर ११ को एकजनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

संक्रमण देखिएका उनीहरु सबैजनालाई उपचारको लागि कलैया अस्पतालको आइसोलेसनमा भर्ना गरिएको साहले जानकारी दिए।

यसैगरी सप्तरीको बलान विहुल गाउँपालिकाका संक्रमितपनि भारतबाटै आएको बताइएको छ। गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले संक्रमण पुष्टि भएका वडा नम्बर ४ बस्ने पुरुष भारतको गुडगाँवबाट आठ दिनअघि नेपाल आएको जानकारी दिए। भारतबाट आएदेखि क्वारेन्टिाइनमा रहेका उनलाई संक्रमण पुष्टि भएपछि उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा भर्ना गरिएको गोइतले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय