आवाज र आवासविहीन स्वास्थ्यकर्मीको मनका कुरा

न आवास न आवाज। पढ्न सुरु गरेको दिन मलाई थाहा थिएन आवासीयको अर्थ। विस्तारै थाहा भयो आवासीय भनेको अस्पताल परिसरभित्र आवासमा बस्ने व्यवस्था भई बिरामीको उपचारमा मात्रै तल्लीन हुनेलाई भनिन्छ। आवासको खड्को वर्षौंदेखि महसुस भए पनि हालको विषम परिस्थितिमा उदाङ्गो भएको छ।

मेरो १० वर्ष अगाडि सुरु भएको मेडिकल शिक्षाको यात्रा त अझै सकिएको छैन। प्रवेश गर्नु नै कतै भूल त थिएन भनेर महसुस नगर्ने सायद कमै होलान्। किन अतिरञ्जित गरियो त यो पेसालाई ? जब बिनासुविधा काममा खटिनुपर्छ। दुर्गममा पिल्सिनुपर्छ। त्यसको विश्लेषणको जिम्मा नेपाली अभिभावकलाई नै छोड्छु। जतिसुकै आकर्षक बजेट नीति नियम ल्याउन खोजिए पनि कार्य सम्पादन गर्ने स्वास्थ्यकर्मीलाई भने कहिल्यै समेटिएन।

उदारता कहिल्यै महसुस भएको छैन। यी कुरा सुनेपछि छिमेकीको बारीको अनाज राम्रो देखिन्छ भनेर तर्क गर्न सक्लान्। तर वास्तविकतामा यो पेसामा उचित सम्मान कत्ति हुन सकेको छैन। न त सुविधामा न सुरक्षामा।

अस्पतालले आवास उपलब्ध नगराउनाले अहिले डेरामा बसिरहेका अधिकांश चिकित्सक तथा स्वास्थ्यकर्मीलाई रुचाउन छाडिसके घर मालिकले। अरु बेला डाक्टरसँग नजिक हुन मन गर्नेहरू अहिले टाढा हुन खोज्छन्। तर्किएर हिँड्न खोज्छन्।

वर्तमानको कुरामा हाल व्यापक आगो सल्के जस्तै सल्किरहेको कोभिड १९ को सम्बन्धमा अर्को चुनौती थपिएको छ। त्यही आवासको। आवासको व्यवस्था बेवास्ता गरिँदै आएको त पक्कै हो। नभए बीसौं वर्षसम्म पनि पर्याप्त आवास नबन्नु कदापि जायज मान्न सकिन्न। अस्पतालले आवास उपलब्ध नगराउनाले अहिले डेरामा बसिरहेका अधिकांश चिकित्सक तथा स्वास्थ्यकर्मीलाई रुचाउन छाडिसके घर मालिकले। अरु बेला डाक्टरसँग नजिक हुन मन गर्नेहरू अहिले टाढा हुन खोज्छन्। तर्किएर हिँड्न खोज्छन्।

रातारात हामी चिकित्सक छुन नहुने समाजका प्राणीमा परिणत भइसकेका छौं। मान्छेहरू कहिल्यै बिरामी नै होइन्न कि भन्ने जस्तो व्यवहार गर्छन्। मान्नुस् कोरोनाबाहेक धेरै रोगहरू छन्। जसलाई उपचार गर्न मजबुत स्वास्थ्य प्रणाली त चाहिन्छ नै। आज सुरक्षित छु भनेर भोलि रोग लाग्दैन भन्न सकिन्न।

आखिर दोष कसको ? सूक्ष्म विश्लेषण गर्दा यो देशमा दोष खोज्दै जाने हो भने सबै दोषी नै साबित हुन्छन् होला। अस्पताल प्रशासनदेखि मन्त्रालयसम्म। घरमालिकले अस्पतालमा कार्यरत कर्मचारी सम्भावित कोरोना संक्रमित हुनसक्ने भनेर सोच्नुलाई गलत त कसरी भन्न सकिएला र ?

आफ्नो र आफ्नो परिवारको सुरक्षा खोज्नु हरेक प्राणीको नैसर्गिक अधिकार हो। तर अविवेकी तरिकाले घर नै छोडेर जान भन्नू मानवता पतन हुनुको नमुना हो। सुरक्षा अपनाउन कठिन हुने घरमा यो समस्या अवश्य उत्पन्न हुन्छ। बिनाकारण कसलाई पो कोभिड १९ निम्त्याउनु छ र घरमा। के, व्यवस्था मिलाउन सक्छ त सरकारले यी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ? कार्यस्थलमा उस्तै डर र डेरा जान उस्तै समस्या। दुवैतिरको चपेटामा स्वास्थ्यकर्मी कसरी उच्च आत्मबलका साथ काम गर्न सक्छन् त ?

एउटा प्रश्न भने पहिलेदेखि नै धेरैले सोध्ने गर्नुहुन्छ– ‘बाबु, क्वाटरमा बस्नुहुन्छ हो।’ मन चसक्क हुन्छ। उत्तर साधारण हुन्छ। हैन हजुर, डेरामा।

हाम्रो देशमा मान्छे कोरोनाले मरे पनि जे कुराले मरे पनि डाक्टरको लापरबाही भन्न छोड्दैनन्। जताबाट पनि पीडित र लान्छाना लगाउने त चिकित्सकलाई नै हो। यो कतै हाम्रै देशमा मात्रै हुने कुरा त हैन नि ? सिस्टमको सबै कमजोरी अन्त्यमा चिकित्सक तथा स्वास्थ्यकर्मीमा नै ठोकिन्छ। निकै सजिलो छ चिकित्सकलाई फुटबल बनाउन। कोभिडले गर्दा मृत्यु हुन नै पर्खिनु त बुद्धिमानी त कदापि हैन। कुनै घर भाडामा लिएर हुन्छ कि होटल भाडामा लिएर हुन्छ।

आवासको समाधान त अत्यावश्यक हो। डेरामा बस्ने स्वास्थ्यकर्मीलाई प्रश्न सोध्नुभन्दा सरकारलाई सोध्नु उत्तम होला नि। रहरले कसैको घरमा बसेको त हैन नि? कमजोर व्यवस्थापन नै मुख्य समस्या हो। पैसाको कमीभन्दा पनि असल नियतको खडेरी हो। यो समय स्वास्थ्य फाँटमा अभूतपूर्व काम गरेर देखाउने मौका हो। जनताको वाहवाही पाउने प्रवल सम्भावना भएको बेला हो। तर यो आवाज नभएको र आवास नभएको चिकित्सकको कुरो कसले सुन्ने ? यस्ता आवाज र आवासविहीन स्वास्थ्यकर्मीको हकमा छिटो सम्बोधन हुनेछ भन्ने आस त गर्ने होला नि। भर पर्ने कि नपर्ने त ?

एउटा प्रश्न भने पहिलेदेखि नै धेरैले सोध्ने गर्नुहुन्छ– ‘बाबु, क्वाटरमा बस्नुहुन्छ हो।’ मन चसक्क हुन्छ। उत्तर साधारण हुन्छ। हैन हजुर, डेरामा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय