झापाकाे कचनकवलमा बढ्दाे स‍ंक्रमण : भद्रगाेल क्वारेन्टाइन

राजेन्द्र गौतम/झापा
प्रकाशित
२०७७ जेठ ९ गते १८:३५

अस्तव्यस्त क्वारेन्टाइन र त्यहाँ बस्नेको अस्थिर व्यवहारका कारण झापाको कचनकवलमा कोरोना संक्रमण ह्वात्तै बढेको छ।

यी  क्वारेन्टाइनमा न्यूनतम मापदण्ड पनि पूरा गरिएकाे छैन। जस्ताे कि शौचालय, पानी र अन्य आधारभूत आवश्यकताको प्रबन्ध समेत छैन।

कचनकवलमा कोरोना संक्रमणको आशंका गरिएका व्यक्ति राख्न निर्मित क्वारेन्टाइन व्यवस्थापनको लापरवाहीले संक्रमितको संख्या थप बढ्ने जनस्वास्थ्यका कर्मचारीले बताएका छन्।

क्वारेन्टाइनमा रहेका व्यक्तिहरूका अनुसार न्यूनतम मापदण्ड समेत कायम नगरी निर्माण गरिएका क्वारेन्टाइन भवनमा खाने, बस्ने गर्नु परेकै कारण कोरोना संक्रमण फैलिएको हो।

क्वारेन्टाइन भीडभाड हुने ठाउँका रूपमा रुपान्तरण हुँदा संक्रमण जोखिम बढेको क्वारेन्टाइन व्यवस्थापनमै खटिएकाहरूले बताएका छन्।

स्थानीयले भारतबाट लुकीछिपी आउनेलाई क्वारेन्टाइनमा बस्न सुझाए अनुसार नै सयौं व्यक्ति क्वारेन्टाइन पुगेका हुन्।

यसरी लगिन्छ क्वारेन्टाइनमा

स्थानीय अब्दुल अन्सारीले गाउँपालिकाले निर्माण गरेका क्वारेन्टाइन व्यवस्थित नभएकै कारण संक्रमितको संख्या बढेको बताएका छन्।

सीमामा आएकालाई गाउँपालिकाले सिधैँ ट्याक्टरमा हालेर क्वारेन्टाइन लाने गरेको कचनकवल–३ का वडाध्यक्ष विजयकुमार राजवंशीले बताए।

एउटै कोठामा धेरै जना राख्नु परेको वडाध्यक्ष राजवंशीले बताए। जसका कारण अरूमा पनि संक्रमण सर्ने खतरा रहेको छ।

क्वारेन्टाइनमा बसेका सबैले प्रयोग गर्ने शौचालय समेत एउटै रहेको उनले बताए। ‘शौचालय अति कम छन्,’ राजवंशीले भने, ‘धेरैले एउटै शौचालय प्रयोग गर्नु पर्ने अवस्था छ।’

स्थानीय तहमा विद्यमान बजेटले क्वारेन्टाइन व्यवस्थित गर्न नसकिएको उनले बताए। ‘क्वारेन्टाइन व्यवस्थापनमा ठूलो चुनौती रहेको छ, केन्द्रले हेर्दैन, स्थानीय तहले मात्र के गर्ने?,’ राजवंशीले भने।

एउटै कोठामा १० जनासम्म राख्नुपरेको राजवंशीले बताए। केन्द्र सरकारले बजेट दिएमा क्वारेन्टाइन व्यवस्थित गर्न सकिने उनको धारणा छ।

स्थानीयबासीका अनुसार क्वारेन्टाइनमा रहेका मानिसको खानपान, बसोबास हेर्दा विवाह, व्रतबन्ध, भोजमा सामेल भएजस्तो देखिने गरेको छ।

एक जना संक्रमितका कारण सबै संक्रमित हुनुपर्ने अवस्था क्वारेन्टाइनबाटै निम्तिएको त्यँहा रहेका व्यक्तिहरूको गुनासो छ।

क्वारेन्टाइनमा बस्ने व्यक्तिको लापरबाही र जबरजस्तीले कोरोना संक्रमितको संख्या बढेकोमा गाउँपालिका पनि सहमत छ।

‘उहाँहरू भारतमा सँगै बसेका साथीभाइ हुनुहुन्छ, छुट्याउने वा छिट्ने कुरा भएन, सबैसँगै हुनुहुन्छ,’ गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत दुर्गा पौडेलले भने, ‘हामीले टाढै बस्नुस् भन्ने हो उहाँहरू मान्नु हुन्न, अटेरी गर्दा संक्रमण बढ्यो।’

अब स्थिति झन गम्भीर हुन्छः प्रहरी

झापाका एक प्रहरी अधिकृतले क्वारेन्टाइनको अहिलेको व्यवस्थापन टिठलाग्दो भएको टिप्पणी गरेका छन्।

उनले अव्यवस्थित क्वारेन्टाइनकै कारण संक्रमण उच्च भएको दाबी गरे। ‘यो उदयपुरको भुल्केको जस्तो अवस्था चाहिँ होइन, क्वारेन्टाइन व्यवस्थापन गर्ने पक्षको लापरबाहीको परिणाम अवश्य हो,’ ती अधिकृतले भने।

त्यसको रेखदेख र व्यवस्थापन गर्ने नेपाली सेनालाई दिइनु उपयुक्त हुने ती प्रहरी अधिकृतको तर्क छ।

उनले प्रदेश सरकार र संघीय सरकारले गम्भीर बन्न ढिलो गर्न नहुने बताए। ‘गाउँपालिकाले सकेन, अवस्था दयनीय छ,’ ती प्रहरी अधिकृतले बने, ‘त्यहाँको रेखदेख र व्यवस्थापनको जिम्मा नेपाली सेनालाई तत्काल नदिने हो भने अवस्था जटिल हुनेमा शंका छैन।’

भारतबाट नेपाल प्रवेश गर्नेलाई परिवारसँग भेट्न र समाजसँग घुलमिल हुन नदिइ सिधैँ क्वारेन्टाइनमा पुर्‌याउने गरेको प्रहरीको दाबी छ।

‘भारतीय सुरक्षाकर्मीले पनि नेपाली सुरक्षा निकायसँग समन्वय गरेको छ, त्यसैले लुकिछिपी आउनेलाई नियन्त्रणमा लिन सजिलो भएको छ,’ उनले भने, ‘यसले कन्ट्याक ट्रेसिङ नै गर्नु पर्ने अवस्था चाहिँ रोकेको छ।’

कचनकवलका क्वारेन्टाइनमा अहिले २५० भन्दा बढी मानिस बसिरहेका छन्। कचनकवलमा ३३ जनामा संक्रमण पुष्टि भएको छ।

झापामा संक्रमितको संख्या ३५ पुगेको छ। झापा प्रदेश–१ को सबैभन्दा बढी र देशभरमा संक्रमित बढी भएको चौथो जिल्ला हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय