जनकपुर र राजविराजमा रियल टाइम पिसिआर, परीक्षण दर बढ्ने विश्वास

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ ९ गते १६:२४

प्रदेश २ को मुकाम जनकपुरधाम र सप्तरीको राजविराजमा रियल टाइम पिसिआर मेसिन जडान हुने भएको छ। कोरोना संक्रमण बढिरहेको बेला परीक्षण दरले गति लिन नसकेपछि प्रदेश सरकारले जनकपुर र राजविराजमा जडान गर्न दुई थान रियल टाइम पिसिआर मेसिन खरिद गरेको हो।

शुक्रबार अपरान्ह काठमाडौंबाट आइपुगेको पिसिआर जडान कार्य सुरु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यसअघि संघीय सरकारले पठाएको रियल टाइम पिसिआर मेसिनबाट वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा परीक्षण भइरहेको छ।

प्रदेशको तीन स्थानमा पिसिआर मेसिन जडान भइसकेपछि परीक्षणको दायरा बढ्ने प्रदेश सरकारले विश्वास लिएको छ। प्रदेश सरकारले खरिद गरेको रियल टाइम पिसिआर मेसिन जनकपुरको पशुरोग अन्वेशण प्रयोगशाला र राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा जडान भइरहेको छ।

प्रति चार घण्टामा ९६ जनाको परीक्षण गर्न सक्ने पिसिआर मेसिन जडान गर्ने काम सुरु भइसकेको र सोमबारदेखि परीक्षण आरम्भ हुने प्रादेशिक प्रयोगशालाका निमित्त प्रमुख रामविनय साहले जानकारी दिए।

यसअघि राष्ट्रिय प्रयोगशालाको सहयोगमा जडान गरिएको पिसिआर मेसिनले भरपर्दो नतिजा दिन नसकेपछि प्रादेशिक प्रयोगशालामा कोरोना परीक्षण बन्द भएको छ। संघीय सरकारले पहिलो पटक पठाएको पिसिआरले भरपर्दो नतिजा नदिएछि केहीदिनअघि राष्ट्रिय प्रयोगशालाकी निर्देशक डा. रुना झा नेतृत्वको टोलीले दोस्रो पटक पिसिआर मेसिन जडान गरेको थियो। तर, दोस्रो पटक जडान गरिएको मेसिनले पनि फरक नतिजा दिएपछि स्वाब परीक्षण बन्द भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय