बुटवलमा अब सामुदायिक क्वारेन्टाइन

कृष्ण मल्ल/बुटवल
प्रकाशित
२०७७ जेठ ९ गते १६:११

बुटवल उपमहानगरपालिकाले सामुदायिक क्वारेन्टाइनको मोडेलमा काम गर्ने बताएको छ। बाहिरबाट आएका व्यक्तिहरूको व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले त्यस्तो मोडेल शुरु गर्न लागिएको उपमहानगरको भनाई छ।

उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले त्यसरी स्थापना हुने क्वारेन्टाइन वडा वडामा हुनेछन्। स्थापना हुने क्वारेन्टाइन, वडा, समुदाय र सम्बन्धित घर परिवारको संयुक्त पहलबाट व्यवस्थापन हुनेछ। मेयर सुवेदीले बुटवल उपमहानगरपालिकाको ठेगाना भएर आउने व्यक्तिहरूलाई ति सामुदायिक क्वारेन्टाइनमा राखिने जानकारी दिए।

प्रदेशभित्र आउने व्यक्तिहरूलाई प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरी सम्बन्धित तहमा पठाउने र स्थानीय तहले क्वारेन्टाइन र सामुदायिक क्वारेनटाइनमार्फत व्यवस्थापन गर्ने हो भने सीमामा अलपत्र परेका र दुःख पाएका नेपालीले छिटो राहत पाउने उनको भनाई छ। सामुदायिक क्वारेन्टाइनमा घर परिवारको पनि पहुँच पुग्ने हुँदा त्यसको व्यवस्थापन राम्रो हुने र त्यहाँ रहने व्यक्तिले पनि कष्ट बेहोर्न नपर्ने उनको तर्क छ।

अहिले बुटवल उपमहानगरभित्र दुई ठाउँमा क्वारेन्टाइन सञ्चालनमा छन्। ति क्वारेन्टाइनमा स्थानीय भन्दा जिल्ला बाहिरका व्यक्तिहरू रहेका छन्। बुटवलको तामनगरमा रहेको कोरियन टेक्निकल इनिष्टिच्यूट १५० बेड र कान्तिमा माध्यमिक विद्यालयमा क्वारेन्टाइनमा १५० बेडको क्षमता रहेको छ। त्यसको व्यवस्थापन बुटवल उपमहानगर पालिकाले गरिरहेको छ।

ति दुई ठाउँका क्वारेन्टाइनमा रहेका व्यक्तिहरूलाई योगा अभ्यास शुरु गरिसकिएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चक्रपाणी शर्माले बताए।

क्वारेन्टाइनहरूमा प्रदेश ५ सरकारले आयुर्वेद चिकित्सा र योगा अभ्यास गराउने निर्देशन जारीगरेसँगै बुटवल उपमहानगरपालिकाले पनि क्वारेन्टाइनहरूमा योगाभ्यास शुरु गरेको हो।

यसैबीच बुटवल उपमहानगरपालिकाले कोरोना संक्रमित बिरामीलाई राखी उपचारका लागि बुटवलमा ५० वेडको थप आइसोलेसन सेन्टर बनाएको छ। बुटवल उपमहानगरपालिकाको पहलमा बुटवल नगरपालिकाका ११ देवीनगरमा रहेको एन्फा एकेडेमीमा आइसोलेसन सेन्टर बनाइएको हो। एन्फा एकेडेमीको भवन उपयुक्त देखिएको हुदा त्यसलाई आइसोलेसन सेन्टर बनाइएको बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले जानकारी दिए।

उनका अनुसार कोरोना परिक्षणमा पोजेटिभ देखिएका बिरामीहरूलाई उक्त सेन्टरमा राखिनेछ। खुल्ला खेलमैदान भएका कारण पनि उक्त ठाउँ सामाजिक दुरी कायम गरेर हिडडुल गर्न र योगा तथा व्यायाम गर्नका लागि निकै उपयोगी हुने ठानिएको छ।

त्यसैगरी उपमहानगरको व्यवस्थापनमा बुटवल धागो कारखानामा पनि आइसियू सहितको बिशेष कोरोना अस्पताल संचालनमा छ। बुटवल धागो कारखानामा पनि आइसियू सहितको बिशेष कोरोना अस्पताल ३८ आइसोालेशन ८ वटा आइसियू संचालनमा छ। उक्त ठाउँमा थप २०० बेड आइसोलेसन थप्ने निर्णय भइसकेको उपमहानगरपालिकाका मेयर सुवेदीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय