सर्लाहीमा थपिएका १५ जना कोरोना संक्रमित सबै भारतबाट आएका

प्रदेश २ को सर्लाहीमा शुक्रबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान सार्वजनिक गरेको विवरणअनुसार सर्लाहीको गोडैता नगरपालिका र रामनगर गाउँपालिकामा नयाँ कोरोना संक्रमित पुष्टि भएको हो।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जिल्लाको गोडैता नगरपालिकामा १४ र रामनगर गाउँपालिकामा १ जना गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। गोडैतामा संक्रमित पुष्टि भएकामध्ये एकजना महिलासमेत रहेको उनले बताए।

शुक्रबार संक्रमण पुष्टि भएका सर्लाहीका सबैजना नाका बन्द रहेकाा बेला भारतबाट फर्किएका थिए। प्रमुख जिल्ला अधिकारी जिसीले संक्रमण पुष्टि भएका गोडैता र रामनगरका सबैजना भारतको विभिन्न स्थानबाट ‘लकडाउन’ कै अवधिमा सात/आठ दिनअघि फर्केको बताए।

‘संक्रमण देखिएका उनीहरू सबैजना सात/आठ दिनअघि भारतबाट फर्केका हुन्,’ प्रमुख जिल्ला अधिकारी जिसीले भने,‘आएलगत्तै उनीहरु सबैलाई क्वारेन्टाइनमा राखिएको थियो। अहिले पनि उनीहरू सबैजना क्वारेन्टाइनमै छन्।’ कोरोना संक्रमण पुष्टि भएका उनीहरूलाई आइसोलेसनमा पठाउने तयारी भइरहेको जिसीले बताए।

शुक्रबार संक्रमण पुष्टि भएका उनीहरूको मंगलबार स्वाब संकलन गरिएको थियो। यससँगै सर्लाहीमा कोरोना संक्रमितको संख्या २० पुगेको छ।

थप ३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४८७ पुग्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय