भारतमा रहेका नेपालीको चित्कार : गोजीमा पैसा रित्तियो, घरमा मिसकलसम्म जान्न

दार्चुलाका दिनेश सिंह रोजगारीका लागि भारत गएको दुई वर्ष बितिसक्यो। उनी कर्नाटकस्थित राजाराजेश्वरीको एक होटलमा काम गर्छन्।

परिवारको खुसीका लागि भन्दै घर नफर्केर भारतीय भूमिमा पसिना चुहाउन थालेको दुई वर्ष बितेको पत्तै भएन। तर, तीन महिनापछि घर फर्किने सोच्दै थिए उनी।

लामो समयसम्म कमाई गरेर स्वदेशमै फर्केर गाईपालन गर्ने र बाँकी जिन्दगी परिवारसँगै बिताउने उनको ठूलो सपना थियो। तर, कोरोना भाइरसको विश्वव्यापी महामारीले भारत बसाइमात्र लम्ब्याएन दिनेशको सपनामा समेत तुषारापात गराइदियो।

अहिले घर फर्किने कुरा त परै जाओस् उनले फोनमा छोरासँग कुरासमेत गर्न पाएका छैनन्। दार्चुलामा रहेको उनको घरमा इन्टरनेट, वाइफाईको सुविधा छैन। उता दिनेशको गोजी पनि रित्तिसकेको छ। त्यसैले उनले परिवारसँग कुरा गर्न नपाएको लामो समय भइसक्यो।

सुदूरको दुर्गम हिमाली जिल्ला दार्चुलामा नेपालमा जारी लकडाउनले मोबाइलको रिचार्ज कार्ड पाउन छाडेको छ। त्यसैले उनीसँग न यताबाट परिवारका सदस्यले सम्पर्क गर्न सकेको छ। न उताबाट दिनेशले नै फोन गर्न सक्छन्।

‘जतिबेला पनि परिवारको मात्रै याद आउँछ। छोरासँग कुरा गर्ने निकै मन छ,’ उनले हेल्थपोस्ट नेपालसँग अनलाइनमा भने, ‘तर मेरो मोबाइलमा घरमा मिसकल जाने पैसासमेत छैन। कोठाभित्र थुनिएर बसेको छु। घरको यादले निकै पिरोलेको छ।’

अहिले घर फर्किने कुरा त परै जाओस् उनले फोनमा छोरासँग कुरासमेत गर्न पाएका छैनन्। दार्चुलामा रहेको उनको घरमा इन्टरनेट, वाइफाईको सुविधा छैन। उता दिनेशको गोजी पनि रित्तिसकेको छ। त्यसैले उनले परिवारसँग कुरा गर्न नपाएको लामो समय भइसक्यो।

भारतमा कोरोनाको प्रकोप बढ्दो छ। लकडाउन कहिलेसम्म लम्बिने हो, पत्तो छैन। उनी घरभित्र बस्न थालेको महिनौं भइसक्योे। भएको जागिरसमेत गुमिसकेको छ। अब कसरी दिन बिताउने, के खाएर बाँच्ने भन्ने कुराले आफूलाई पिरोल्न थालेको उनले सुनाए।

उनले आफूमात्र नभएर थुप्रै नेपालीले यस्तै नियति भोग्नुपरिरहेको बताए। नजिकको तीर्थ हेलाँ भनेझैं भारतमा लाखौं नेपाली अलपत्र परे पनि सरकारले आफूहरूको बेवास्ता गरेको उनको गुनासो थियो।

अहिले जेनतेन बाँचिरहेको भए पनि कुन दिन चामल सकिएर भोकै बस्नुपर्ने हो भन्दै उनल पीडा पोखे। उनले खल्तीमा दाम र काम नहुँदा आफू डिप्रेसनतिर धकेलिइरहेको बताए। ‘दिनरात यस्तै कुराले मन पिरोलिरहन्छ। अब त सोच्दासोच्दै डिप्रेसनमा पो जान्छु कि भन्ने लागिसकेको छ,’ उनले मलिन स्वरमा भने।

भारतमा एक्काकि लकडाउन भयो। लकडाउन यति लामो जाला भन्ने पनि कसैलाई थाहा थिएन। कोही नेपाली भारतबाट फर्किंदा महिनौंदेखि बीच बाटोमा अलपत्र छन्। कोही कोठामै छट्पटाइरहेका छन्। ‘उता नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्दो छ। यस्तो बेला परिवारसँगको साथमा भएहुन्थ्यो भन्ने लाग्छ,’ उनले सुनाए, ‘अब सोचेर पनि केही हुने होइन। सरकार भारतमा रहेका नेपालीका बारेका कत्ति पनि गम्भीर छैन।’

उनले श्रीमती, आमाबुवा र साथीसंगीको यादले निकै सताइरहेको सुनाए। आफू समस्यामा भए पनि उनलाई घरमा कसरी खर्च चलाएका होलान् भन्ने पीरले पनि थिच्न थालेको छ। ‘घरखर्च नपठाएको महिनौं भइसक्यो। कसरी खर्च धानेका होलान्। यहाँ मेरो आफ्नै अवस्था यस्तो छ,’ घर सम्झेर भावुक भए।

‘चिनेको पसलबाट हात जोडेर ल्याएको चामल सकियो। ग्यास भर्न पैसा छैन, केही मुठी दाल भए पनि पकाउन ग्यास छैन केमा पकाएर खाने हो? कसरी बाँचिन्छ? केही थाहा छैन?,’ उनी चरम निरासा व्यक्त गर्छन्।

दुई दिनसम्म पानी खाएर बसेको छु। ‘कोठामा चामल छैन। मालिकले वास्ता गर्दैनन्। कति पटक झगडा गरिसकें तर उनीहरू जहिल्यै नेपाली भनेर हेप्छन्। नेपाल सरकारले पनि हामीलाई नागरिक नै ठान्दैनन्,’ उनले गुनासो गरे।

‘हामी नेपाली नै होइनौं कि जस्तो लाग्छ। आफ्ना नागरिकको समस्या बुझिदिने सरकार भएन। हामी घरको न घाटको भएका छौं,’ उनी भन्छन्।

‘लकडाउनका कारण साहुले तलब नदिने भनेको छ। भारत सरकार घर जाऊ भन्छ। नेपाल सरकार भारतमा रहेका नेपाली श्रमिक, कामदार तथा विद्यार्र्थीलाई स्वदेश फर्काउन मान्दैन,’ उनले भने, ‘अब हामी कसरी बाच्ने? कस्को कुरा सुन्ने?’

उनलाई यस्तो हालत देख्दा कतै परिवारसँग भेटै नहुने होकि भन्ने चिन्ताले गाँजेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय