स्वास्थ्य मन्त्रालयमा जागिर लगाइदिने भन्दै रकम असुल्ने ‘नक्कली डिएसपी’ पक्राउ

नक्कली सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) बनेर दर्जनौं व्यक्तिलाई ठग्दै हिँड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार डिएसपीको नक्कली परिचय पत्र देखाउँदै पछिल्लो समय स्वास्थ्य मन्त्रालयमा जागिर लगाइदिने बहानामा रकम असुल्ने ती ‘नटवरलाल’लाई बिहीबार पक्राउ गरिएको हो।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं तारकेश्वर नगरपालिका-३ बालाजुका ४५ वर्षीय राजकुमार चापागाईंलाई बिहीबार पक्राउ गरेको हो।

पेप्सीकोलाकी सम्झना केसीबाट एक लाख २० हजार रुपैयाँ लिँदै गर्दा उनलाई पक्राउ गरिएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले बताए।

थापाका अनुसार अनुसार उनले विभिन्न व्यक्तिलाई स्वास्थ्य मन्त्रालयको खरिदार, रिसेप्सनिष्ट, सहायक लेखापालजस्ता पदमा जागिर लगाइदिने प्रलोभनमा एक लाख ८५ हजार रुपैयाँ असुलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

चापागाईंले केहीलाई त खरिदार पदको नक्कली परिचय पत्र समेत बनाएर दिइसकेको भेटिएको छ। पक्राउ परेका चापागाईं पेशाले जग्गा कारोबारी रहेको खुल्न आएको छ। उनको साथबाट प्रहरीले प्रहरी नायब उपरीक्षक पदको नक्कली परिचय पत्र, खरिदार पदका दुई नक्कली परिचय पत्र, बा९०प ९५५५ नम्बरको स्कुटरलगायत बरामद भएको अपराध महाशाखाले जनाएको छ।

पक्राउ परेका चापागाईं यसअघि विभिन्न अपराधमा संलग्न रहेको विवरण प्रहरीले सार्वजनिक गरेको छ। चापागाईंले २०७२ साल असार २४ गते निलिमा महर्जन र आकृति डंगोलसँग प्रतिव्यक्ति दुई लाख दरले ठगी गरेको अभियोग भेटिएको छ। सो कसुरमा उनले नख्खु कारागारमा चार वर्ष जेल भुक्तान गरेका थिए।

उनले विभिन्न समयमा उच्चपदस्थ अधिकारीहरूको पिए भन्दै कारागार तथा सिडिओ कार्यालयहरूमा फोन गरी कैदीहरूलाई रिहा गर्न आदेशसमेत दिने गरेको महाशाखाको अनुसन्धानले देखाएको छ। ‘उनले आफूलाई प्रहरीको अधिकृत भन्दै धम्क्याउने गरेको पनि खुलेको छ,’ एसएसपी थापाले भने।

चापागाईंले खोटाङ ऐ‌सेलुखर्क बाकाचौल घर भएकी मुना पाण्डेबाट जागिर लगाइदिने बहानामा दुई लाख रुपैयाँ लिएको पाइएको छ। ‘आर्मी स्कुलमा बच्चा भर्ना गराइदिने प्रलोभन देखाउँदै हिँडेको पनि थाहा भएको छ,’ थापाले भने, ‘विभिन्न व्यक्तिलाई सवारी चालक अनुमति पत्र बनाइदिने भनी रकम ठगेको पनि खुलेको छ।’ पक्राउ परेका चापागाईंलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसरको जिम्मा लगाइएको महाशाखाले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय