उपत्यकाका सबै नाका सिल, प्रवेशका लागि आरडिटी रिपाेर्ट चाहिने

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणकाे जोखिम बढेको भन्दै गृह मन्त्रालयले उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्ने निर्णय गरेको छ। लकडाउनलाई थप कडाइ गर्न निर्देश दिँदै गृहले उपत्यका प्रवेश गर्ने सबै नाका सिल गरेको हो।

गृहले बुधबार एक विज्ञप्ति जारी गर्दै उपत्यका प्रवेश गर्नुपरे कोरोना भाइरस परीक्षण (आरडिटी) गरेको रिपाेर्ट अनिवार्य रूपमा चाहिने जनाएको छ।

गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यकबाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई उक्त निर्देशन दिएको छ। उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरेको हो।

जेठ १ गतेको बैठकमा भएको छलफलपछि यो निर्णय गरिएको र अब उपत्यका प्रवेशमा थप कडाइ हुने गृहले जनाएको छ। गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा उपत्यका नगरपालिका फोरमका पदाधिकारी, उपत्यकाको नाकासँग जोडिएका स्थानीय तहका प्रमुख-उपप्रमुख, उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख सहभागी थिए।

गृहले उपत्यकाका सबै स्थानीय तहलाई पत्राचार गरी उपत्यका प्रवेश गर्ने नाकामा अत्यावश्यक प्रयोजनबाहेक पूर्ण रूपमा सिल गर्न र लुकिछिपी प्रवेश गर्नेलाई निगरानी गरी रोक्न निर्देशन दिएको छ।

‘काठमाडों उपत्यका प्रवेश गर्ने काेही पनि व्यक्तिले प्रवेश गर्नु पूर्व उपलब्ध भएसम्म आफ्नो खर्चमा आरडिटी परीक्षण गरेको रिपाेर्टका साथ प्रवेशका लागि अनुमति माग्नुपर्ने छ,’ सूचनामा भनिएको छ।

मन्त्रालयले उपत्यकाका स्थानीय तहसँगको समन्वयमा उपत्यका प्रवेश गर्नेहरूको खोजी गरी तथ्याङ्क राखी आवश्यक कारबाहीका लागि सिफरिस गर्ने र भिडभाड भए कोरोना भाइरसको संक्रमण फैलिना सक्ने भन्दै स्थानीय तहसँग समन्वय नगरी वितरण हुने नि:शुल्क खाना तथा राहत वितरणमा रोक लगाउन निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय