बेलायती विज्ञको दाबी– जुन अन्त्यसम्म कोभिड-१९ बाट मर्नेको संख्या शून्यमा झर्छ

एक बेलायती विज्ञले जुन महिनाको अन्तसम्म कोभिड-१९ को कारण दैनिक ज्यान गुमाउने बेलायती बिरामीको संख्या पूर्ण रूपमा घटेर शून्यमा झर्ने दाबी गरेका छन्।

भिइ डेस (भिक्ट्रिइन यूरो) को अन्तसम्म बेलायतको इंग्ल्यान्ड र वेल्समा कोभिड–१९ का कारण ज्यान गुमाउने मानिसको संख्यामा तेस्रो सातासम्म लगातार कमी आइरहँदा हिजो मंगलबार यस्तो आँकलन सार्वजनिक भएको हो।

अक्सफोर्ड विश्वविद्यालयका सेन्टर फर इभिडेन्स बेस्ड मेडिसिनका निर्देशक प्राध्यापक कार्ल हेनेगानले हालको प्रवृत्ति कायम रहेमा अर्को महिनाको अन्तसम्म कोभिड–१९ को बिरामी भेट्न मुस्किल हुने दाबी गरेका हुन्।

कोभिड–१९ का मृतकको आधिकारिक तथ्यांक संकलन गर्ने अफिस अफ नेसनल स्ट्याटिक्सका अनुसार मंगलबार अस्पताल, स्याहार केन्द्र र निजी निवासमा कोरोना भाइरसका कारण गत साताको तुलनामा १३ प्रतिशतले कम ५ सय ४५ मानिसको मृत्यु भएको छ। यससँगै बेलायतमा यस प्राणघातक भाइरसका कारण ज्यान गुमाउनेको कुल संख्या ३५ हजार ३ सय ४१ पुगेको हो।

वैज्ञानिक सल्लाहकार प्राध्यापक डेम एन्जेला म्याक्लिनले बेलायतको चारैवटा राज्यको अस्पतालमा भेन्टिलेटर आवश्यक हुने उपचाररत कोभिड–१९ बिरामीको संख्यामा कमी आइरहेको जानकारी दिए। जसलाई बिरामीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको र भाइरसबाट गम्भीर थला परेका नयाँ बिरामी देखा नपरेको सूचकका रूपमा लिइएको छ। फलस्वरुप भाइरसका कारण मृत्यु हुने मानिसको संख्यामा स्थिर गिरावट आएको पनि उनले बताए।

वैज्ञानिक सल्लाहकार प्राध्यापक डेम एन्जेला म्याक्लिनले बेलायतको चारैवटा राज्यको अस्पतालमा भेन्टिलेटर आवश्यक हुने उपचाररत कोभिड-१९ बिरामीको संख्यामा कमी आइरहेको जानकारी दिए।

यसैगरी बेलायतका अस्पतालहरूमा उपचारका लागि भर्ना हुने बिरामीको संख्यामा कमी आएका कारण यहाँ यस वर्षकै सबैभन्दा कम संख्याको मृत्युको घटना दर्ता भएका छन्।
अफिस अफ नेसनल स्ट्याटिक्सले यस वर्षको मे ८ सम्म अस्पतालहरूमा उपचाररत १ सय १४ जना मानिसको मात्र मृत्यु भएको बताएको छ। जुन पछिल्लो ५ वर्षभित्र अस्पतालमा उपचारको क्रममा ज्यान गुमाउने मानिसको औसत संख्याभन्दा थोरै हो।

यद्यपि विश्लेषकहरूले भने अस्पतालमा मृत्यु हुने मानिसको संख्यामा आएको कमीले कोभिड-१९ का बिरामीको मृत्यु स्याहार केन्द्रजस्ता अन्य स्वास्थ्य सेवा केन्द्रहरूमा भएको र भाइरसबाहेक अन्य रोगका बिरामी (संक्रमण जोखिमका कारण अस्पताल नआएका कारण) ले अन्यत्रै ज्यान गुमाइरहेको हुनसक्नेतर्फ औंल्याएका छन्।

तथापि अफिस अफ नेसनल स्ट्याटिक्सको तथ्यांकले स्याहार केन्द्रहरूमा पनि मृत्युको संख्या घटेको पुष्टि गरेको छ। उसका अनुसार यस्ता केन्द्रहरूमा मे ८ को दिन ज्यान गुमाउने मानिसको जम्मा संख्या ४ हजार २ सय ४८ थियो । जुन संख्या अघिल्लो साता ६ हजार ४ सय ९ थियो।

मे ८ का दिन ज्यान गुमाउनेमध्ये १६ सय ६६ जनाको मृत्यु प्रमाणपत्रमा कोभिड–१९ को कारण भनिएको थियो। समग्र मृत्युको संख्या घटेता पनि भाइरससम्बन्धी मृत्यु भने ३७.८ प्रतिशतबाट बढेर ३९.२ प्रतिशत पुगेको हो। हेल्थ फाउन्डेसन नामक च्यारिटी संस्था प्रमुख डा. जेनिफर डिक्सनले समयमै उचित कदम चालिएको भए कतिसम्म मृत्युलाई निवारण गर्न सकिन्थ्यो भनेर सरकारसँग सोध्न आवश्यक भएको प्रतिक्रिया जनाए।

बेलायतमा विश्व महामारीको चरमोत्कर्षको समयमा एक सातामै ८ हजार ७ सय ५८ जनाले जीवन गुमाएका थिए। जुन मे ८ को दिन त्यो घटेर ३ हजार ९ सय ३० मा सीमित रह्यो।

धेरै क्यान्सर रोगीले ज्यान गुमाउन सक्ने

कोरोना भाइरसका कारण मृत्यु हुने मानिसको संख्यामा आएको नाटकीय कमीले बेलायती स्वास्थ्य सेवा प्रणालीमा केही आशाको सञ्चार गरे पनि भविष्यमा अत्यधिक क्यान्सर रोगीले ज्यान गुमाउनुपर्ने विषम परिस्थितिको सिर्जना भएको छ।

स्वास्थ्य केन्द्रहरू कोरोना भाइरसका बिरामीको हेरचाहमा तल्लिन रहेका कारण समयमा शल्यक्रिया सेवा नपाएर आउने दिनमा करिब ४ हजार ७ सय ५५ अतिरिक्त क्यान्सर रोगीले ‘निवारणीय’ मृत्युको सामना गर्नुपर्ने वैज्ञानिकहरूले अनुमान लगाएका छन्।

हाल कायम लकडाउन क्रमिक रूपमा खुकुलो हुँदै जाँदा अस्पतालहरू बढ्दो संख्याका क्यान्सर बिरामीको सेवामा तत्काल खटिनुपर्ने अवस्था आउन सक्ने जनाइएको छ।
इन्स्टिच्युट अफ क्यान्सर रिसर्च लन्डनका अनुसन्धानकर्ता प्राध्यापक क्लार टर्नबुलले बेलायतको अस्पतालहरूमा हालको कोभिड–१९ ले क्यान्सर रोगको परीक्षण, पहिचान, शल्यक्रिया र बीचको सबैखाले उपचार सेवामाथि आगामी भविष्यमा ठूलो दबाब पैदा गराउने बताएका छन्।

‘हाम्रो अध्ययनले हालको कोभिड–१९ का कारण लागू गरिएको बन्दाबन्दीले क्यान्सर रोगीको उपचारमा भएको ढिलाइले टार्न सक्ने खालको धेरै मृत्युको घटनामा योगदान गर्ने देखाएको छ,’ उनले भने।

यही अवस्था ध्यानमा राखी बेलायतको नेसनल हेल्थ सर्भिसले स्वास्थ्य केन्द्रहरूलाई क्यान्सरका बिरामीलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिइसकेको छ।

टर्नबुलले विगतको दुई महिनायता कतिजना क्यान्सर बिरामीको शल्यक्रिया रोकिएको छ भनेर अहिले नै आँकलन गर्न नसकिने भन्दै सोको वास्तविक प्रभाव आउँदो जुलाईदेखि सेप्टेम्बर महिनाभित्र देखिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय