कोरोना महामारी रोकथामका सवालमा सरकार र स्वास्थ्यमन्त्री सफल

विश्व कोभिड महामारीसँग लडिरहेको छ। नेपालमा महामारीको ग्राफ विस्तारै उक्लिँदै छ। परीक्षण दायरा विस्तारलगायतका काममा सरकारको कामको प्रशंसा भएपनि अन्य तयारीलाई लिएर सरकारको आलोचना भइरहेको छ। सत्तापक्षीय दलका तर्फबाट प्रनितिधिसभाको सांसद रहेका उनी पूर्व स्वास्थ्यमन्त्री हुन्। स्वास्थ्य मन्त्रालयमा रहँदा उनले नेपालको स्वास्थ्य प्रणालीमा रुपान्तरणका लागि थालेका केही काम उल्लेखनीय रहे। यी सन्दर्भमा रहेका अधिकारीसँग हेल्थपोस्टनेपालका लागि अशोक अधिकारीले गरेका कुराकानी।

स्वास्थ्य मन्त्रीको जिम्मेवारीमा रहँदा नेपालको स्वास्थ्यक्षेत्रको सुधारका के–कस्ता आधारभूत कार्यका थालनी गर्नु भएको थियो?

सामाजिक स्वास्थ्य बिमा कार्यक्रम सुरू गरिएका थियौं। त्यसलाई स्वास्थ्य बिमामा रूपान्तरण गर्‍यौं। सामाजिक स्वास्थ्य बिमा विपन्न असहाय, अशक्त, पछाडि परेको समुदायलाई राज्यले दिने अरू सम्पन्न परिवारबाट प्रिमियर लिने व्यवस्था थियो।

पछि यसैलाई स्वास्थ्य बिमा भनेर परिणत गरियो। यसको सिद्धान्तमै रूपान्तरण आयो। मपछि मन्त्रालय सम्हाल्न आएका माननीय मन्त्रीहरूको ध्यान यसको मुटु मर्ममै पुगेन। सतहमा भयो। यसलाई सम्पूर्ण जिल्ला–जिल्लामै स्वास्थ्य सेवाजस्तै एउटा जनरल प्राक्टिसनर (जिपी) पुर्‍याउनुपर्थ्याे।

हरेक जिल्लामा जिपी पुर्‍याइयो भने एक जना महिला सुत्केरी हुँदा पेट खोल्न नसकेर आमा र शिशु ज्यान जोखिममा पर्ने स्थिति आउँदैन। भीरबाट मान्छे लड्यो भने फ्य्राक्चर जोड्न नसकेर इन्जुरीबाट बचाउन नसक्ने अवस्था आउँदैन।

एपेन्डिसाइटिस भएर मान्छेको ज्यान जोखिममा पर्ने परिस्थितिको अन्त्य हुन्छ। एपेन्डिसाइटिस, हर्निया जस्ता रोगको शल्यक्रिया गर्न सकिन्छ। त्यसैले जिपी ७७ वटै जिल्लामा पुर्‍याउने योजना थियो।

सुदूपश्चिमबाट सुरू गर्‍यौं। ९ वटै जिल्लामा सिजरिङ सेसनसहितको सुविधा सुरू भयो। यो अभियान ६५ जिल्लाम पुर्‍याइयो। अहिले त्यही स्केलमा छ, त्यसको विस्तार भएन। १२ हजार दरबन्दी नयाँ थपियो। २ हजार ३ सय ७ वटा उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकीमा स्तरोन्नति गरियो। टेकुस्थित सरूवा रोग अस्पतालमा आइसोलेसन वार्ड थिएन।

म हुँदा ५०–६० बेडको आइसोलेसन वार्ड बनाइयो। म जिम्मेवारी रहेकै बेला इबोलाको महामारी थियो। त्यसैले ४५ दिनसम्म आइसोलेसनमा राख्ने व्यवस्था गरियो र बिएसएल थर्ड ल्याब म हुँदा नै उद्घाटन गरेको हो।

तर, अहिले जनशक्ति अभाव र सेवा प्रवाहमा समस्या छ कायमै छ नि?

अहिलेको अभाव भनेको स्वास्थ्य सामग्री (इक्यूपमेन्ट), औषधि, जनशक्ति र भौतिक पूर्वाधारको अभाव हो। यी चार वटा कुराको अभाव परिपूर्ति गर्दै लैजानुपर्छ। देशभरिमा ९ सयवटा भेन्टिलेटर ‘पुगेस्–पुगेस्’ छ। ४ हजार भेन्टिलेटर जम्मा गरेर राख्न सक्नुपर्‍यो। अपरेसन थिएटरहरू बनाउन सक्नुपर्‍यो।

म जिम्मेवारीबाट हटेपछि एउटा जनस्वास्थ्य प्रयोगशाला पनि बनेन। जनकपुर, वीरगञ्ज, विराटनगर, पोखरा, धनगढी लगायतका ठाउँहरूमा जनस्वास्थ्य प्रयोगशाला निर्माण गर्नुपर्छ। यो विस्तार गर्ने भनिएको पनि थियो। आइसियू, सिसियू लगायतका सेवा पनि हुनुपर्‍यो।

सरकारको नीति तथा कार्यक्रममा यी समस्याको समाधानका लागि व्यवस्था गरिएको छ?

सरकारले नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा देखिएको अभाव र समस्या समाधानका लागि उल्लेख्य मात्रामा व्यवस्था गरेको छ। अस्पतालको स्थापनादेखि संरचनागत सुधारसम्मका कार्य गर्ने विषय नीति तथा कार्यक्रममा समेटिएको छ। त्यसैले स्वास्थ्य क्षेत्रमा परिवर्तन देखिने आशा गर्न सकिन्छ।

सरकारले नीति तथा कार्यक्रममा विशिष्ट सेवा अध्ययन गर्ने भनेर कान्ति बाल अस्पताललाई केन्द्रित गरियो। देशभरिका निमुखा बालबच्चाहरू आउँछन्। आइसियू, सिसियू, एनआइसियूहरू हुँदैन। यी विषयमा समस्याहरू थिएँ।

भूकम्पपछि जापानी सहयोग नियोग जाइकासँग सम्झौता गरेर अस्पताल निर्माण गरियो। वीर अस्पताल पनि निर्माण र स्तरोन्नति हुँदैछ। त्यो पनि त्यति बेला नै सम्झौता भएको हो। वीर अस्पतालमै नाम्स बसेको छ। अस्पताल त्यो भएपनि अरू एकाडेमिक काम गर्नलाई खरिपाटीमा जानुपर्छ। यी र यस्ता प्रयासलाई सरकारले सम्बोधन गर्ने कोसिस गरिरहेको छ।

वीर अस्पतालको जग्गा फिर्ताको सवालमा भएका कोसिस कतिको फलिभूत भयो?

लोकन्थली वरिपरि रहेको १२ सय रोपनी जग्गा छ। एक पूर्वप्रधानमन्त्री पनि अस्पतालको जग्गामा घर बनाएर बस्नुभएको छ। त्यो जग्गा वीर अस्पतालको स्वामित्वमा ल्याउने प्रयास गरेको थिएँ। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत सहयोग गरेन। लोकन्थली वरिपरि व्यक्तिगत घरजग्गा बनाएर अस्पतालको जग्गा कब्जा गरेर बसेका छन्। म जिम्मेवारीबाट हटेपछि त्यो काम अघि बढेन।

त्यतिबेला पनि इबोला महामारीको जोखिम थियो, त्यतिबेला न्यूनिकरण गर्नका लागि प्रयाप्त तयारी गरेको भए अहिले फाइदा हुन्थ्र्यो होला कि?

नेपाली सेना, प्रहरी, त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान, पाटन अस्पताल, वीर अस्पतालसहितको कोअर्डिनेसन कमिटी बनाएका थियौं। स्वास्थ्य अनुसन्धन परिषदले त्यसको जेनेटिक अध्ययन गर्नेगरी भूमिका व्यवस्था गरिएको थियो। अर्को महत्त्वपूर्ण कार्य चाहिँ, मैले भ्याक्सिन बनाउन सुरू गर्दैथिएँ। तर, अर्थमन्त्री बजेट दिनुभएन।

सरकारले नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा देखिएको अभाव र समस्या समाधानका लागि उल्लेख्य मात्रामा व्यवस्था गरेको छ। अस्पतालको स्थापनादेखि संरचनागत सुधारसम्मका कार्य गर्ने विषय नीति तथा कार्यक्रममा समेटिएको छ।

जापानीज इन्सेफ्लाइटिसको भाइरस वा जीवाणु हङकङ लगेर भ्याक्सिन बनाउँछ। अनि हामीले ५ करोडमा भ्याक्सिन बनाउन सकिन्छ भने किन बनाउने? त्यसरी तयारी गर्‍यौं। काम पनि गर्न सक्थ्यौं। यद्यपि, अनुसन्धानपछि काम अघि बढेन।

बाहिरबाट आएका नेपाली, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा काम गर्ने र इबोला प्रभावित देशबाट आउनेलाई विमानस्थलबाटै ककनी लगेर क्वारेन्टाइनमा राखियो। ४५ दिनसम्म लक्ष्य नदेखिए परिवारसँग सम्पर्क गर्न दिने व्यवस्था मिलायौं।

विमानस्थलमा इबोलाको डेस्क नै स्थापना गरेर चौबिसैं घण्टा कर्मचारी खटाएका थियौं। ठूलो आतंक मच्चाउने प्रयास पनि भयो। डा. सुन्दरमणि दीक्षितले नेपालमा ठूलो स्वास्थ्य संकट आयो भनेर पत्रकार सम्मेलनमै बोल्नु भयो। मैले ‘तपाई भाइरोलोजिस्ट हो, तपाई इन्टरनल मेडिसियनको हो, जे पायो त्यही नबोल्नुस्’ भनेँ।

हामीले पूर्वतयारी अपनाएकै कारणले इबोला महामारीको प्रकोपबाट देशलाई जोगाउन सफल भएका हौं। त्यसलै पूर्वतयारी नै प्रकोप नियन्त्रण र व्यवस्थापन भएमा यस्ता प्रकोपबाट नागरिकलाई बँचाउन सकिन्छ भन्ने पुष्टि पनि हो यो।

भूकम्पका बेला चाहिँ कसरी काम गर्नुभएको थियो? अहिले पनि त्यसरी नै गरेको भए हुन्थ्र्यो भन्ने लागेन ?

भूकम्पका बेला हामीलाई जनस्वास्थ्यका सवालमा निकै ठूलो चुनौती थियो। हैँजा फैलिन सक्ने सम्भावना थियो। तर, त्यस्तो भएन। किनभने, ४५ हजार मानिलाई टुँडिखेलमा उपचार गराइयो। ५०–६० हजारको उपचार आइओएममा गराइयो।

सिविलमा गराइयो। पाटनमा त सडकमै पाल टाँगेर उपचार गरायौँ। त्यहाँ सम्पूर्ण रूपमा इन्फेक्सन हुन नदिन उच्च सतर्कता अपनाइएको थियो। सम्पूर्ण स्वास्थ्यकर्मी परिचालन गरेका थियौं। नेपालका स्वास्थ्यकर्मीबाट नै यो काम सम्पन्न भयो। गर्मीको समय भए पनि एउटा पनि इन्फेक्सन देखिएन त्यति बेला। र, कसैले पनि आफ्नो उपचार खर्च आफ्नैले दिनुपरेन।

हामीले खोजी–खोजी उपचार गरायौं। हेल्थ इमर्जेन्सीको व्यवस्थापनमा पूरै टिम अगाडि खट्यो।

अहिले गर्नुपर्ने काम चाहिँ, व्यक्तिगत सुरक्षा सामग्रीहरू स्वदेशमै उत्पादन गर्ने र ती क्वलिफाइड छन् कि छैनन् भनेर क्रिटिकल केयर एसोसिएसन, एनेस्थेसिया एसोसिएसन, मेडिकल एसोसिएसन, नर्सिङ एसोसिएसन लगायतको कमिटी बनाएर सर्टिफाइड गरिदिने व्यवस्था मिलाउनुपर्छ।

क्रिटिकल केयर मेनेजमेन्ट पनि दियौं। साथै ५ सय जनाको र्‍यापिड, रेस्क्यू एन्ड रेस्पोन्स टिम बनाउन प्रस्ताव गर्‍यौं। केन्द्रीय अस्पतालहरू, स्वास्थ्य मन्त्रालय, शिक्षण अस्पतालहरू, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टिम बनाएर बाढी, पहिरो जस्ता प्रकोपका बेला तत्कालै जान सक्ने गरी टिम निर्माणको अवधारणा बनायौं।

सामान्य प्रशासनलाई एक्स्पर्ट, नर्स, प्याथोलोजिस्ट, एनेस्थेसियासहितको जनशक्ति दरबन्दी विवरण बुझाएका थियौं। सकारात्मक कुरा त भयो। तर, अर्थमन्त्रालयले अड्कायो। १३ वर्षसम्म लुटेर खाने ठाउँ भएको ट्रमा सेन्टरमा स्वास्थ्यसेवा सुरू गरायौं।

कोरोना महामारीको जोखिम न्यूनिकरण्का लागि सरकारले के–के गर्‍यो? के गर्न बाँकी छ?

कोरोना महामारी रोकथामका सवालमा सरकार सफल भएको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सफल हुनु भयो। अहिलेको नीति तथा कार्यक्रम र बजेटको पहिलो प्राथमिकता स्वास्थ्य भयो। यो नेपालको इतिहासमा पहिलो पटक हो। मैले पनि स्वास्थ्यमन्त्री हुँदा प्रधानमन्त्रीलाई कन्भिन्स गर्ने प्रयास गरेँ, तर सकिनँ। अहिले परिस्थितिले साथ दियो।

उहाँले निरन्त लबिङ गर्नुभयो। हामी सबैको साथ सहयोग रह्यो। र, उहाँले आफ्नो इनिसिएसनमा यो कार्य गर्न सक्नुभयो। तर, केही समस्या अहिले पनि छन्। औषधि र बालुवा खरिद गर्ने ऐन एउटै छ। सबै देशमा महामारी फैलिएको छ।

यस्तो बेला अमेरिकाले त चीनबाट ४ गुणा बढी तिरेर लानुपर्ने अवस्था छ। यस्तो बेलामा पनि उहाँले व्यवस्थापन गर्न सक्नु भएको छ। सरकारको पहिलो प्राथमिकतामा पनि पर्‍यो। अब स्वास्थ्य संस्थाहरू पनि बन्छन्। त्यसकारण मैले दिने सुझाव उहाँहरूलाई दिएको छु।

अहिले गर्नुपर्ने काम चाहिँ, व्यक्तिगत सुरक्षा सामग्रीहरू स्वदेशमै उत्पादन गर्ने र ती क्वलिफाइड छन् कि छैनन् भनेर क्रिटिकल केयर एसोसिएसन, एनेस्थेसिया एसोसिएसन, मेडिकल एसोसिएसन, नर्सिङ एसोसिएसन लगायतको कमिटी बनाएर सर्टिफाइड गरिदिने व्यवस्था मिलाउनुपर्छ।

यहाँका विज्ञहरूले पिपिई उत्पादनको तयारीमा लाग्ने र खरिद गर्नुपर्ने रिएजेन्टहरू र आडिटी कीटहरू, पिसिआर र मनिटरहरू जति पाइन्छ, जतिमा पाइन्छ किन्नुपर्छ। आलोचना भइरहोस्। खरिद गरेको सामग्री भण्डारण गर्नुपर्छ, खेर जाँदैन। आवश्यक पर्दा सहजै प्रयोग गर्न सकिन्छ। ४  सय ४४ भन्दा बढी संक्रमित भइसके। २ जनाका ज्यान गुमिसक्यो।

जहिलेसम्म भ्याक्सिन फेला पर्न सक्ने सम्भावना हुँदैन तबसम्मका लागि हामीले यसरी नै जाने हो। सुविधासम्पन्न अस्पतालमा मात्रै होइन, ठाउँ–ठाउँमा त्यस्ता मनिटर भए भने उपचारमा सहज हुन्छ। अहिलेसम्म भेन्टिलेटर प्रयोग गर्नुपरेको छैन। तर, काठमाडौँ नै सबैभन्दा खतरामा पर्‍यो। लुकिछिपी आउनेबाट झन् ठूलो खतरा भयो। भारतले रेल नै चलाइदियो, त्यहाँबाट आउनेबाट पनि जोखिम हुन्छ।

प्रतिकुल परिस्थिति आउनुभन्दा पहिल्यै स्वास्थ्य सामग्री ग्लोब्स्, सेनिटाइजर, मास्कदेखि सिटामोलसम्मका सामग्री खरिद गरे जम्मा गर्नतिर लाग्नुपर्छ। सामाजिक असुरक्षा बढ्न सक्ने सम्भावनाको विषयमा गृह प्रशासनले विशेष ध्यान दिनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय