कोरोना संक्रमित ‘शव’ उठाउने आरएनए १६ को अभियान त्रिपालमुनिबाट सुरू भएको थियो

अशाेक अधिकारी/भक्तपुर
प्रकाशित
२०७७ जेठ ८ गते १३:२२

 

 

 

 

 

 

 

 

यस लकडाउन अवधिमा गतसाता नेपालीका लागि त्यति सुखद रहेन। कोरोना भाइरस संक्रमणको ग्राफ अढाइ सयबाट उकालो लाग्दै गर्दा शनिबार धुलिखेल अस्पतालमा सिन्धुपाल्चोककी एक महिलाले दम तोडिन्।

त्यो दुःखद खबरपछि एउटा प्रेरक कहानी पनि अहिले चर्चामा छ। राज्यकै संयन्त्रले आँट नगरेको मृतक महिलाको शव उठाउने कार्यमा भक्तपुरका युवाले देखाएका साहसप्रति देशभरबाट स्यावासी प्राप्त भइरहेको छ।

भक्तपुरका युवाहरूले कोरोनाबाट ज्यान गुमाएकी महिलाको अन्त्येष्टि गराउन महत्वपूर्ण भूमिका खेले।

२०७२ सालको विनासकारी भूकम्पपछि सुरु भएको भक्तपुरका युवाको सामाजिक कार्यको शृंखला कोरोना महामारीमा पनि जारी छ।

भक्तपुरका राजेश गाइजु, अरुण सैंजुसम्मिलित टिमले कोरोना संक्रमणबाट ज्यान गुमाएकी २९ वर्षीया महिलाको शव कसैले उठाउन नसकेको स्थितिमा उनीहरूले पशुपति आर्यघाटमा ल्याएर अन्त्येष्टि गरे।

सामाजिक कार्यमा सधैं अग्रपंक्तिमा रहने यी युवा स्काउटमा आबद्ध छन्। कोरोना भाइरसको संक्रमण सुरु भएलगत्तै भक्तपुरमा सतर्कता अभियान चलाएको यो समूहले अहिले पनि त्यसमै काम अघि बढाइरहेको छ।

भक्तपुरका राजेश गाइजु, अरुण सैंजुसम्मिलित टिमले कोरोना संक्रमणबाट ज्यान गुमाएकी २९ वर्षीया महिलाको शव कसैले उठाउन नसकेको स्थितिमा उनीहरूले पशुपति आर्यघाटमा ल्याएर अन्त्येष्टि गरे।

‘संक्रमण सुरु भएलगत्तै हामी भक्तपुर अस्पतालमा टेन्ट खडा गरेर बस्न थालेका थियौं, केही साथीहरू भोलिन्टियर गर्छौं भनेर हामीसँग जोडिनुभएको छ,’ अभियन्ता गाइजुले भने।

महामारी र संकटसँग जुध्नका लागि यो अभियानमा पुनम कर्माचार्य, दीप थकू, न्हुज कुजूलगायतका साथीको टिम बनाएर काम गरिरहेको गाइजुले सुनाए।

विपद् व्यवस्थापनका लागि तालिम

महामारी व्यवस्थापन तथा ‘फायर ड्रिल’सँग सम्बन्धित तालिमहरू लिएपछि काम गर्न सजिलो भएको अनुभव गाइजुसँग छ।

‘नेपाली सेनाको छाउनीका कर्साबसँग हाम्रो चिनजान भयो, डेडबडी कसरी ह्यान्डल गर्ने, कसरी डिसइन्फेक्सन गर्ने र कसरी सुरक्षित बस्ने भन्ने विषयमा उहाँहरूले तालिम दिनुभयो,’ उनले तालिमको अनुभव भने।

भक्तपुरको वीरदल गणका कर्णेल शिवप्रसाद ओलीले पनि आधारभूत तहका तालिम दिलाउन सहयोग गरेका थिए। ‘त्यही ट्रेनिङका आधारमा भक्तपुर अस्पतालमा आउनेको फिवर चेक गर्ने, ट्राभल हिस्ट्री संकलन गर्ने तथा स्वाबसमेत संकलनमा सहयाेग पुर्याउने कार्यमा हामी जुट्यौं,’ गाइजुले भने।

आएनए १६ ले भक्तपुर अस्पतालकी ल्याब टेक्निसियन सुनिता न्यौपानेलाई स्वाब संकलनमा सहयाेग पनि गर्दै आएकाे छ। साथै त्यही टिमले टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासम्म पनि संकलित स्वाब पुर्‌याउने गरेको छ।

समूहगत काम गर्छन् यी युवा

भक्तपुरका युवा सामाजिक अभियन्ताहरूले ‘आरएनए १६’ समूह बनाएका छन्। भूकम्पका बेला बनेका समूहका इन्चार्ज हुन् अरुण सैंजु।

कसले के गर्ने भन्ने विषय सैंजुले नै निर्धारण गर्छन्। ‘अपरेसन इन्चार्ज अरुण सैंजुजीले काम बाँडफाँट गर्नुहुन्छ, त्यही आधारमा हामी परिचालित हुन्छौं,’ अभियन्ता गाइजुले भने।

आपतकालीन परिस्थितिमा आरएनए १६ का युवाहरू जुट्ने गरेका छन्। अरू बेला टिमका सदस्यसँग खासै भेट नहुने उनले बताए।

रेस्क्यु एन्ड अवेयरनेस (आरएनए) १६ ले १६ वटा प्राकृतिक विपत्तिमा काम गर्दै आएको छ। ‘१६ वटा विधामा भूकम्प, महामारी, अन्य प्रकोप, खडेरी, बाढीपहिरोलगायतका कार्यमा परिचालित हुन्छौं,’ उनले भने।

यसरी जुट्छ स्रोतसाधन

सामाजिक अभियन्ता गाइजुका अनुसार महामारीविरुद्धको लडाइँमा अहिले आवश्यक पर्ने सम्पूर्ण सामग्री नेपाली सेनाको वीरदल गणबाट नै प्राप्त भइरहेको छ।

अरू केही सामाजिक संघसंस्थाले पनि आवश्यक सामग्री दिएको उनले बताए। ‘वीरदल गणमा स्थानीय व्यापारीको सहयोगमा विपद् व्यवस्थापन केन्द्र निर्माण गरिएको छ, त्यसमार्फत काम गर्न सजिलो हुन्छ,’ उनले भने।

कोरोनाको कहरमा आइपुग्दा…

आरएनए १६ समूहका युवाले शुक्रबार ज्यान गुमाएकी कोरोना संक्रमित महिलाको विषयमा जानकारी पाए। अन्त्येष्टि गर्ने विषयमा देखिएको अन्योल चिर्न उनीहरू शनिबार धुलिखेल पुगेका थिए।

गाइजुका अनुसार नेपाली सेना, नेपाल प्रहरीको साथ पाएको गाइजुको टिमले महिलाको शव प्लास्टिकमा बेरेर एम्बुलेन्समार्फत् काठमाडौं ल्याए।

शनिबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि सकेर आरएनए १६ को टोली फर्कियो।

अहिले उनीहरू भक्तपुरस्थित नेपाली सेनाको गणमै आइसोलेसन बसेका छन्।

‘हामीले सुरक्षित रूपमा काम गरेका छौं, डिसइन्फेक्सनका लागि विशेष सावधानी अपनाएका छौं,’ गाइजुले भने, ‘यो कार्य हरेक संकट र महामारीमा जारी रहन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय