एक महिलासहित कचनकवलका थप ५ जनामा कोरोना पुष्टि, भारतबाटै आएका हुन् सबै

कचनकवल पुगेका प्रमुख जिल्ला अधिकारीसहित टाेली।

झापामा कचनकवल गाउँपालिकामा बुधबार पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना पुष्टि हुनेमा चार पुरुष र एक महिला रहेका छन्।

विराटनगरस्थित कोरोना अस्पतालमा परीक्षणका लागि लगिएको स्वाब संकलन पिसिआर परीक्षणका क्रममा उनीहरूको रिपोर्ट पोजेटिभ आएको जानकारी कोशी अस्पताल कोरोना उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानहादुर बस्नेतले दिए।

आज रिपोर्ट पोजेटिभ आएकाहरू लक्ष्मीप्रसाद देवकोटा मावि क्वारेन्टाइनमा बस्दै आएका व्यक्ति हुन्। अन्यको रिपोर्ट अहिलेसम्म आएको छैन।

उक्त क्वारेन्टाइनमा चार महिलासहित ६५ जना रहेको प्रदेश सांसद वसन्त बानियाँले जानकारी दिए। उनीहरूको स्वाब लिएर मंगलबार परीक्षणका लागि विराटनगर पठाएको थियो।

कचनकवल २ मा रहेको उक्त क्वारेन्टाइनमा भारतबाट आएका व्यक्तिलाई राखिएको छ। कोरोना पुष्टि भएका व्यक्ति शनिबार आएका व्यक्ति भएको गाउँपालिकाका प्रवक्ता लक्ष्मीप्रसाद यादवले बताए।

उनीहरु ४० वर्षभन्दा मुनिका भएको बताइएको छ। सोमबार र मंगलबार गरिएको परीक्षणमा त्यहाँका १० जनामा कोरोना पुष्टि भएको थियो।

उनीहरू कचनकवल ३ को पथरिया मावि क्वारेन्टाइनमा बस्दै आएका थिए। सो क्वारेन्टाइनका ३३ जनामध्ये २३ जनामा नतिजा नेगेटिभ आएको छ।

योसँगै कचनकवलमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ। झापामा हालसम्म १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पहिलो पटक दमकका ६२ वर्ष र त्यसपछि बाह्रदशीका ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको थियो। उनीहरू दुवै जना निको भएर घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय