‘कोही आउँदैनन् हजुर…, यो नरैनापुर हो’

‘स्वास्थ्यकर्मीको न त गतिलो उपस्थिति छ। न कुनै प्रशासनिक संयन्त्रका अधिकारीको सहज उपलब्धता हुन्छ। न त स्थानीय तहका जनप्रतिनिधिहरू नै भेटिन्छन् । यो ठाउँ भनेको नरैनापुर हो हजुर, बाँकेको नरैनापुर हो।’

चर्चामा रहेको कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ भन्नुस् वा ‘इपी सेन्टर’ भन्नुस् यही नरैनापुर हो।

बाँकेको सदरमुकाम नेपालगन्जबाट करिब ४० किलोमिटर टाढा रहेको नरैनापुरमा ७३ जनामा कोरोना संक्रमित पुष्टि भइसकेको छ। त्यसमा एक जनाको मृत्यु भइसक्यो। तीमध्ये केहीलाई नेपालगन्ज र दाङको आइसोलेसनमा पठाइएको छ।

जिल्लाभित्रै उनीहरूलाई कहाँ र कसरी राख्ने भन्ने विषयमा समयमै निर्णय हुन सकेन। कोहलपुरमा राख्ने विषयमा त्यहाँका स्थानीय वासिन्दाबाट विरोध भयो। बाँकेका अस्पतालमा आइसोलेसनको उचित व्यवस्थापन हुन सकिरहेको छैन।

१० दिनदेखि क्वारेन्टाइनमा बसिरहेका आफ्ना देवरलाई भेट्न पुगेकी अवधिभाषी किशोरी बर्मा भन्छिन् ‘राति–राति भारतबाट आउँदै गाउँ छिर्ने मानिस धेरै छन्, हामी सबै डराएर बसिरहेका छौं।’

बाँकेमा स्थानीय तहहरू, स्थानीय प्रशासन र स्वास्थ्यसँग सम्बन्धित निकायबीचको तालमेलमा समस्या भएको स्पष्ट बुझिन्छ।

नरैनापुरको विषयमा समाचार लेख्दा पुष्टीकरण गराउनै असहज हुन्छ। मिडियाकर्मीको उपस्थिति पनि न्युन रहन्छ। अक्सर अरुले भनेकै भरमा समाचार बाहिर आइरहेका छन्।
आइतबार एकजनाको मृत्यु भइसकेको अवस्थामा यहाँका सर्वसाधारण कोरोना संक्रमणको मानसिक त्रासबाट दिन बिताइरहेका भेटिए।

नरैनापुरको एउटा क्वारेन्टाइनमा पुग्दा ४६ जना एक आपसमा भौतिक रूपमा कायम गर्नुपर्ने दूरीको नजर अन्दाज गर्दै गफिएर बसेको देखिन्थे। मुस्किलले एकजना प्रहरी कतैबाट टुप्लुक्क आइपुगेर नमस्कार गर्दै परिचय माग्न थाले। मैले आफ्नो परिचय दिएसँगै उनले स्वास्थ्यकर्मीतर्फ पन्छाए मलाई। केहीबेरपछि कतैबाट झुल्किए एकजना स्वास्थ्यकर्मी। ती स्वास्थ्यकर्मीले क्वारेन्टाइनमा बसेका सबैकोे स्वास्थ्य अवस्था सामान्य भएको कुरा निर्धक्कसँग बताए। उनले क्वारेन्टाइनको अवस्था सामान्य रहेको दाबी गरे। ती सबै कुरा मैले क्यामेरामा कैद गरेँ।

स्थानीय क्वारेन्टाइन व्यवस्थापन समितिमा खटिने एकजना व्यक्ति मुस्किलले क्वारेन्टाइनस्थलमा झुल्किए।

क्वारेन्टाइनमा बस्दै आइरहेको स्थानीय नरैनापुर वडा नं. ६ मा पर्ने जयकिसन माविमा क्वारेन्टाइनको जस्तो माहोल देखिँंदैन। एक आपसमा नजिकै बसिरहेका हुन्छन् उनीहरू। सबैको स्वाब परीक्षणको रिपोर्ट भने आइसकेको छैन।

१० दिनदेखि क्वारेन्टाइनमा बसिरहेका आफ्ना देवरलाई भेट्न पुगेकी अवधिभाषी किशोरी बर्मा भन्छिन् ‘राति–राति भारतबाट आउँदै गाउँ छिर्ने मानिस धेरै छन्, हामी सबै डराएर बसिरहेका छौं।’

कोरोना भाइरस संंक्रमणबाट एकजनाको मृत्यु भएको बाँकेको नरैनापुर अहिले राज्यविहीन अवस्थाबाट गुज्रिइरहेको छ। क्वारेन्टाइनमा बसेकै अवस्थामा एकजना युवक
(अनिश नाउ) को मृत्यु भइसकेपछि अहिले पूरै नरैनापुरका नागरिक सन्त्रासमा बाँचिरहेका छन्।

स्थानीय तहका जनप्रतिनिधिहरू, प्रदेशसभा सदस्य र संघीय संसदका जनप्रतिनिधिहरूको सक्रियता पनि फितलो देखिन्छ। नरैनापुर गाउँपालिकाका अध्यक्ष राजनीतिक रूपमा आफूलाई सान्त्वनासमेत नमिलेको अनौपचारिक कुराकानीमा गुनासो गर्छन्।

बुधबार नरैनापुर गाउँपालिकाभित्रका विभिन्न गाउँमा वसिरहेका स्थानीयवासीहरू मानसिक सन्त्रासमा रहेको अवस्थामा भेटिए। गाउँका गल्लीहरूमा हामी चढेको गाडी कुदेको घरभित्रबाटै चिहाएर हेरिरहेका थिए मानिसहरू। संक्रमणको त्रासका कारण मानिसको दैनिक जीवन कष्टकर हुँदै गइरहेको छ। सर्वसाधारणहरू संक्रमणको आशंकामा मानसिक दबाबबाट गुज्रिनुपरेको छ । गाईवस्तुका लागि घाँस बोकेर हिँडिरहेका स्थानीयवासी पशुचौपाय पनि भोकभोकै मर्ने अवस्था रहेको सुनाउँदैथिए ।

गाउँ गाउँमा पुगेको सिंहदरबार अर्थात स्थानीय तहको सरकार थेगेको नरैनापुर गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्तियाक साह कार्यालयमा भेटिएनन्। फोन सम्पर्कमा आफू केही अस्वस्थ भएकाले घरमै रहेको जानकारी उनले दिए। मोबाइलमा कुरा गर्दै उने भने, ‘अब मैले मात्रै केही गर्नसक्ने अवस्थामा छैन तपाईहरूले पनि मेरो अवस्थाबारे लेख्नुहोस् है।’

यता मटेहियाका एक सर्वसाधारण रामधन यादव जनप्रतिनिधिहरू जनताको सम्पर्कमा आउन नचाहेकोमा दुखेसो पोख्छन्। उनी भन्छन्, ‘हामीसँग जनप्रतिनिधिहरू बोल्नसमेत चाहँदैनन्।’

रोजगारीका लागि भारतको मुम्बई पुगेका १८ वर्षे रामकृष्ण नाउ कोरोना संक्रमणले मुम्बई आक्रान्त भएपछि रोजगारी गुमाउँदै घ। फर्किएर क्वारेन्टाइनमा बसिरहेका छन्।

मौर्यले मुम्बईबाट नेपाल फर्किंदा आफूले भोगेको सास्ती सुनाउन नसकेर गहभरि आँसु पारे। उनले मुम्बईबाट भेंडाबाख्रा जस्तै गरी ६ दिन ट्रकमा चढेर अनुनय विनय गर्दै उत्तर प्रदेशको लखनउ पुगेको व्यथा सुनाए। अवधि भाषामा हिन्दी मिसाउँदै बोल्ने मौर्य लखनऊबाट ६ दिन पैदल हिँडेर नरैनापुर नजिकैको नेपाल–भारत सिमामा पर्ने जमुनाह आइपुगेको सुनाए।

रातिको समयमा नेपाल भित्रिएका उनी आफन्तको आग्रहमा क्वारेन्टाइन पुगेका हुन्। ९ दिनदेखि उनी जयकिसन माविको क्वारेन्टाइनमा छन्।

भारतको महाराष्ट्र पुगेका १३ वर्षे अख्तर रज्जाक एक्लै नेपाल फर्केका छन्। नरैनापुर गाउँपालिकाको वडा नं. ४ मा मदरसा अरबिया गुल्सने वारिश हुर्मतुलमा पनि क्वारेन्टाइन बनाइएको छ। जहाँ ४३ संक्रमतिसँगै ती किशोर पनि क्वारेन्टाइन बस्दैछन्।

राज्य संयन्त्रको नजर नपुगेको त भन्न मिल्दैन होला तर उच्च जोखिममा रहेको यो क्षेत्रलाई सरकारको तर्फबाट गम्भीरताका साथ नलिएको देखिन्छ।

सुदूरपश्चिम प्रदेशमा केही समयअघि सरकारले जसरी मेडिकल टिम र व्यवस्थापनको व्यवस्था मिलाएको थियो त्यस्तो अवस्था बाँकेमा देखिएन। संघीय सरकार, प्रदेश सरकारको उदासीन व्यवहार नरैनापुर आएपछि छर्लंग हुन्छ।

एकाथरि नेताहरू सबैको सरुवा गराएर ब्यवस्थापन गर्नुपर्छ भन्ने मान्यता राख्छन् भने अर्काथरि यो सबैको जिम्मेवारी भएकाले कर्मचारीतन्त्र मात्रै फेरबदल गर्नुले समस्या समाधान हुन नसक्ने बताउँछन्।

स्थानीय तहका जनप्रतिनिधिहरू, प्रदेशसभा सदस्य र संघीय संसदका जनप्रतिनिधिहरूको सक्रियता पनि फितलो देखिन्छ। नरैनापुर गाउँपालिकाका अध्यक्ष राजनीतिक रूपमा आफूलाई सान्त्वनासमेत नमिलेको अनौपचारिक कुराकानीमा गुनासो गर्छन्।

कोभिड–१९ महामारीको चपेटामा परेको नरैनापुर अहिले अभिभावकविहीन अवस्थामा पुगेको महसुस गर्न सकिन्छ। भारतको श्रीवस्ती जिल्लासँग सीमा जोडिएको नरैनापुरका स्थानीयवासीको रोजगारी गन्तव्य भारतका विभिन्न सहरहरू नै हुने गरेको छ। रोजगारी त गुम्यो । त्यसो त कोरोना संक्रमित भएर घर फर्केका कारण उनीहरूमाथि आश्रित परिवारहरूले ठूलो आर्थिक संकट बेहोनुपर्ने अवस्था आइपरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख वीरबहादुर वलीको सरुवाको व्यापक चर्चा भयो तर, अहिलेसम्म भएको छैन। सत्तारुढ दलकै कतिपय जनप्रतिनिधिहरूको स्थानीय प्रशासन र प्रहरीप्रतिको दृष्टिकोणमा भिन्नता रहेको बुझिन्छ।

एकाथरि नेताहरू सबैको सरुवा गराएर ब्यवस्थापन गर्नुपर्छ भन्ने मान्यता राख्छन् भने अर्काथरि यो सबैको जिम्मेवारी भएकाले कर्मचारीतन्त्र मात्रै फेरबदल गर्नुले समस्या समाधान हुन नसक्ने बताउँछन्। निवर्तमान मन्त्री मोहम्मद इस्तियाक राई, नेकपाका सांसद महेश्वर गहतराज, पूर्णाकुमारी सुवेदी, प्रदेशसभा सदस्य विजय यादव, कृष्णा केसी नमुना र आइपी खरेललगायतका जिल्लाका नेताबीच एकमत पाइँदैन।

उता नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवल समशेर राणाका कुरालाई प्रदेश र संघीय सरकारले नोटिस गर्न आनाकानी गरिरहेको बुझिन्छ। बाँके कोभिड–१९ संक्रमणको सिकार त भएकै छ। त्यसमाथि राजनीतिक दलहरूका नेताहरू विश्वासको संकटबाट गुज्रिँदा सर्वसाधारण नागरिकले सास्ती झेल्नुपरिरहेको अवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय