कोरोनाविरुद्धकाे चिनियाँ भ्याक्सिन विश्व समुदायलाई उपलब्ध गराइने

राष्ट्रपति सी चीनफिङले आफ्नो देश चीनले कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास तथा उत्पादन गरेपछि त्यसलाई विश्व समुदायका लागि सर्वसुलभ बनाइने बताएका छन्।

सोमबार विश्व स्वास्थ्य संगठनको महानिर्देशक टेड्रोस अडानोम गेब्रेयससको आग्रहमा ‘भिडियो च्याट’मार्फत विश्व स्वास्थ्य सभालाई सम्बोधन गर्दै उनले कोरोना भाइरसको विश्वव्यापी महामारीविरुद्धको लडाइँमा ‘बृहत अन्तर्राष्ट्रिय साझेदारी’ को आवश्यकतामाथि जोड दिए।

‘चीनमा कोभिड–१९ को भ्याक्सिनको विकास एवं परिचालन हुन थालेपछि यस औषधीलाई विश्वका नागरिकको हितमा उपलब्ध गराइने छ,’ राष्ट्रपति सीले भने, ‘विशेषगरी विकासशील राष्ट्रहरूको भ्याक्सिनमाथिको पहुँच र खरिद क्षमता सुनिश्चित गर्न चीनले यस्तो योगदान गर्नेछ।’

कोरोना भाइरसविरुद्धको जीवनरक्षालाई विभिन्न मुलुकहरूले भ्याक्सिनको विकासलाई आफ्नो राष्ट्रिय हितभन्दा माथि राखेर काम गरिरहेको परिप्रेक्ष्यमा राष्ट्रपति सीले यस्तो घोषणा गरेका हुन्।

तर त्योभन्दा बढी यस घोषणालाई युरोपेली युनियनको घातक भाइरसविरुद्धको भ्याक्सिन, औषधी, रोग पहिचान तथा उपचारका लागि आवश्यक विभिन्न प्रविधिमाथि ‘सबै राष्ट्रको विना अवरोधको पहुँच हुनुपर्ने’ आग्रहसहित चिन्ता एवं संशयको मनोदशा निराकरणमा आएको शक्तिशाली सकारात्मक प्रतिक्रियामा लिइएको छ।

औषधीको मूल्य न्यून हुनुपर्ने भनेर पैरबी गरिरहेको संस्था एमएसएफका वरिष्ठ नीति तथा कानुनी सल्लाहकार हु युयान कियोङले राष्ट्रपति सीको घोषणा ‘अत्यन्तै महत्वपूर्ण’ भएको प्रतिक्रिया दिएका थिए। अनुसन्धान तथा विकासका साथै उत्पादनको मुख्यालयको रूपमा स्थापित चीन यो साझा अन्तर्राष्ट्रिय दृष्टिकोणलाई परिपूर्ति गर्न पूर्ण तयार रहनुपर्ने उनले सुझाए।

यसै साताको सुरुमा बेइजिङ म्युनिसिपल साइन्स एन्ड टेक्नोलोजी कमिसन प्रमुख सु जियाङले बेइजिङमा तीन छुट्टाछुट्टै प्रकारका कोभिड–१९ को भ्याक्सिन परीक्षणको दोस्रो चरणमा रहेको जानकारी दिएका थिए। विश्व स्वास्थ्य संगठनले उक्त भ्याक्सिनको मानवमाथिको परीक्षणका लागि ५ जना व्यक्ति स्वयंसेवी बन्न तयार रहेको जनाएको छ।

सम्बोधनको क्रममा सीले आगामी दुई वर्षभित्र कोरोना भाइरस प्रभावित विशेष गरी विकासशील राष्ट्रहरूलाई कोभिड–१९ विरुद्धको प्रतिकार्यका साथै आर्थिक तथा सामाजिक विकासमा २ अर्ब अमेरिकी डलर बराबरको सहायता गर्ने पनि प्रतिबद्धता जनाएका छन्।

डब्लूएचओविरुद्ध खनिँदै राष्ट्रपति ट्रम्प

यता चीनले आफ्नो राष्ट्रलाई कोरोना संक्रमणबाट पार लगाउँदै विश्व समुदायका लागि सहयोगी भूमिका निभाउने बताइरहँदा अमेरिका भने उल्टै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) विरुद्ध जाइलागेका छन्।

चिनियाँ राष्ट्रपति जिनपिङको घोषणा सार्वजनिक भएकै दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिँदै आएको सहयोगलाई पूर्णरुपमा रोक्का गरी आफ्नो राष्ट्रको सदस्यतालाई निरन्तरता दिने वा नदिनेबारे पुनर्विचार गर्ने बताए।

‘यदि अबको ३० दिनभित्र विश्व स्वास्थ्य संगठनले आफ्नो काम–कारबाहीमा अधिक सुधार नल्याएमा अमेरिकाले गर्दै आएको आर्थिक सहयोगमा लगाएको अस्थायी बन्देज स्थायी गराउने छु र संगठनको सदस्यताबारे पुनर्विचार गर्नेछु,’ ट्रम्पले धम्कीपूर्ण भाषामा पत्र लेखेका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट अनुवादित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय