विश्वभर ‘गरिब’को आर्थिक जीवन ध्वस्त पार्दै कोभिड-१९

बहराइनमा निर्माण मजदुरमा कार्यरत सैफुल इस्लाम चार वर्षयता आफ्नाे कमाइको आधा हिस्सा बंगलादेशमा रहेका बुढ्यौली उमेरका अभिभावकलाई पठाइरहेका थिए।
तर यस वर्षको सुरुवातसँगै कोरोना भाइरस महामारीका कारण उनले रोजगारी गुमाउनुपर्दा परिवारको आर्थिक जीवनको आधार भताभुङ्ग बनेको छ।

‘आजकल मैले घरमा पैसा पठाउन सकिरहेको छैन, जसका कारण मेरो परिवार संकटमा परेको छ,’ इस्लाम दुखेसो पोख्छन्, ‘मेरो परिवार ठूलो भएका कारण आºनो सबै कमाइ पठाइसकेकाले मसँग अहिले बचत रकम छैन। मेरो परिवारसँग खाना किन्ने पैसा पनि छैन भने वृद्ध उमेरका बुवाआमाले राम्रो औषधोपचार पाइरहनु भएको छैन।’
हालको विषम आर्थिक परिस्थितिको मारमा इस्लाम र उनको परिवारमात्र परेको हैन।

कोभिड–१९ ले अर्थतन्त्र शिथिल बनाएको तथा विदेशी कामदारहरूलाई रोगजारी प्रदान गर्ने कयांै उद्योग तथा निर्माण क्षेत्र बन्द भएका कारण विश्वभरका असंख्यको कामदारहरू रोजगारविहीन बनेका छन्। आफन्तले विदेशी भूमिमा कमाएर घर पठाउने पैसामाथि निर्भर रहेका परिवारले यो विपत् भोगिरहेका छन्।

विश्व ब‍ैंकको एक आँकलनअनुसार सन् २०२० मा विश्वव्यापी रेमिट्यान्स (विप्रेषण) मा लगभग २० प्रतिशतले गिरावट आउनेछ। जुन संसारका अति गरिब जनसंख्याको मुख्य आम्दानीको लगभग १०० अर्ब अमेरिकी डलर बराबर हो। उता सन् २००९ को विश्वव्यापी आर्थिक मन्दीका क्रममा यस्तो विप्रेषणमा मात्र ५ प्रतिशतले कमी आएको थियो।

‘हामीले अपेक्षा गरेको विप्रेषणमा आउने संकुचन इतिहासमै अकल्पनीय हुनेछ,’ विश्व बैंकका प्रमुख अर्थशास्त्री दिलीप राठा भन्छन्।

संयुक्त राष्ट्रसंघले जनाएअनुसार पृथ्वीमा हरेक ९ मा एकजना (करिब ८० करोड नागरिक) कुनै न कुनै रूपमा विप्रेषणमाथि निर्भर रहेका छन्।

यो परिस्थिति मानवमाथिको प्रभाव एकदमै बृहत हुने बताउँदै राठा अगाडि भन्छन्, ‘खाद्यान्नलगायत अत्यावश्यक सामग्री किन्न पनि उनीहरू असमर्थ हुनेछन् भने उनीहरूलाई परिवारको गुजारा चलाउन निकै कठिन हुनेछ।’

विश्व बैंकले विप्रेषणमा आउने गिरावटले विकासशील राष्ट्रहरूको आर्थिक वृद्धिसमेत प्रभावित गर्ने चेतावनी दिएको छ। उनका अनुसार हाइटी, दक्षिणी सुडान र टोङ्गा जस्ता साना अर्थतन्त्र भएको मुलुकहरूको कुल ग्राहस्थ उत्पादनमा विप्रेषणको योगदान एकतिहाइभन्दा बढिरहेको छ।

‘विशेषगरी विकासशील देशहरूको लागि विप्रेषण अर्थतन्त्रको प्रमुख आधारशीला हो,’ उनी थप्छन्, ‘राष्ट्रहरू जति धेरै गरिब, साना र कमजोर हुन्छन् । विप्रेषणमाथि उनीहरूको निर्भरता त्यति नै बढी हुने गरेको छ।’

विश्वका करिब २७ करोड मानिस वैदेशिक रोजगारीमा संलग्न भएको परिप्रेक्ष्यमा राठाले सम्बन्धित सरकारलाई सबैभन्दा बढी संकटमा रहेका नागरिकहरूको रक्षा गर्न आग्रह गरेका छन्।

भोकभोकै बस्न बाध्य

हालको महामारीका कारण अधिकांश वैदेशिक कामदारहरूले तीनवटा संकटको सामना गरिरहेका छन्।

पहिलो, उनीहरूले आफ्नो रोजगारी गुमाएका छन्। त्यसको परिणामस्वरुप आ-आफ्नो परिवारलाई कमाइ पठाउन पाइरहेका छैनन्।

दोस्रो, सम्बन्धित राष्ट्रमा लागू भएको बन्दाबन्दीका कारण उनीहरू आफ्ना घर फर्कन पाइरहेका छैनन्।

तेस्रो, कामदारहरूले खचाखच भरिएको श्रम सिविरमा शून्य सामाजिक दूरीसहित बस्नुपर्दा उनीहरू संक्रमणको थप जोखिममा छन्।

‘घरमा पैसा पठाउनु त परको कुरा, यहाँ जीवन निर्वाहका लागि मसँग एक रुपैयाँ पनि छैन,’ इस्लाम आफ्नो हालतबारे बताउँछन्, ‘अवस्था यस्तो छ कि अब त मर्न चाहेमा पनि परदेशमै मर्नुपर्ने हुन्छ।’

बहराइनको परराष्ट्र मन्त्रालयका अनुसार अप्रिल महिनामा मात्र कोभिड–१९ का कारण यहाँका ७ हजार २ सय विदेशी कामदारलाई रोजगारीबाट हटाइएको थियो । जुन त्यहाँ कार्यरत ४ लाख ८० हजार कामदारको १.५ प्रतिशत हो। यसरी जागिर गुमाउने कामदारका लागि निःशुल्क कोरोना भाइरस परीक्षणसहित खाना र घर फर्कन पाउने सुविधालगायत प्रदान गरेको बहराइन सरकारले जानकारी दिएको छ।

नेपाली घरेलु कामदार संघ हङकङकी अध्यक्ष चुनी थापा भन्छिन्- हङकङमा तलब काटिँदा पनि जागिर गुम्ने डरले कयाैं महिला स्थानीय अधिकारीसमक्ष उजुरी गर्न डराइरहेका छन्।

इस्लामको रोजगारी गुमेपछि पूर्वी बंगलादेशस्थित कोमिला दौकाण्डी गाउँमा रहेको उनको परिवारलाई आर्थिक अभावको कारण निर्वाह गर्न धौधाै परिरहेको छ।

‘इस्लामले हामीलाई पैसा पठाउन छाडेको तीन-चार महिना भइसक्यो। कोरोना भाइरसका कारण उसले काम गर्न पाएका छैनन् नै, न त राम्रोसँग खान पाएका छन्,’ इस्लामको ६० वर्षे आमा रोकिया बेगमले भनिन्, ‘परिवारको खर्च धान्न लागि व्यक्तिहरूसँग अति चर्को ब्याजमा ऋण लिनुपरेको छ।’

उनले कयाैँ दिन भोकै बस्नुपरेको त धेरैपल्ट छिमेकीसँग खानेकुरा मागेर पेट भरेको सुनाइन्।

सीएनएनसँगको कुराकानीमा बंगलादेशको उप-परराष्ट्रमन्त्री साहरिया आलमले आफ्नो राष्ट्रका लागि वैदेशिक रोजगारी अति महत्वपूर्ण रहेको जानकारी दिए। ‘कृषि, गार्मेन्ट र विप्रेषण, यी तीन कुरामा बंगलादेशको अर्थतन्त्र टिकेको छ।’

आलमका अनुसार हाल करिब ७० लाख नागरिक विभिन्न मुलुकहरूमा श्रम गरिरहेका छन् । वैदेशिक रोजगारीबाट फर्केर साना व्यवसाय गर्न चाहनेहरूका लागि त्यहाँको सरकारले २ करोड ५० लाख अमेरिकी डलर बराबरको ऋण सहायताको व्यवस्था गरेको छ। ठूलो संख्याका बंगलादेशी देशमा फर्केको अवस्थामा उनीहरूलाई राहत प्रदान गर्न सरकारले बृहतस्तरको योजना बनाइरहेको पनि आलमले जानकारी दिए।

बासको संकट

विश्वभर कयाैँ वैदेशिक कामदारहरू आवास सुविधाका लागि पनि विदेशी रोजगारीमाथि निर्भर रहेका छन्। उदाहरणका लागि हङकङमा घरेलु कामदारका रूपमा कार्यरत मारिया क्रिस्टिना बालोस कामबाट निकालिएपछि आवासविहीन बन्न पुगिन्।

यी ४६ वर्षे फिलिपिनी महिलाले जागिरबाट निकालिने नोटिस पिरियड (जानकारी अवधि) वापत रोजगारदाताबाट केही नगद रुपैयाँ प्राप्त गरेकी थिइन्। आफ्नो सरसामान पोको पारेर निस्कनका लागि उनलाई एक घण्टाको समय दिइएको थियो। आफ्नो सामानसहित बाटोको अर्कोपट्टि अलपत्र परेकी उनलाई एउटी साथीले अस्थायी निवास खोज्न मदत गरेकी हुन्।

‘सबै सामानहरूसहित म भूइँमा सुतिरहेकी छु,’ उनी सुनाउँछिन्, ‘यहाँ मजस्तो सहायक कामदारको जीवन निकै कष्टकर छ।’

हङकङमा ३ लाख ९० हजार महिलाहरू घरेलु कामदारका रूपमा काम गरिरहेका छन्। यीमध्ये अधिकांस फिलिपिन्स र इन्डोनेसियाका नागरिक हुन्, जो आफ्नो कमाइद्वारा परिवारको आवश्यकता परिपूर्ति गर्न वैदेशिक रोजगारीमा संलग्न छन्। हङकङस्थित फिलिपिनी कन्सुलेटले कोभिड-१९ का कारण करिब ३ सय ५० जना फिलिपिनी घरेलु कामदार जागिरबाट निकालिएको जानकारी दिएको छ।

रोजगारी गुम्नु अघिसम्म आफ्ना चार सन्तान, लकडाउनका कारण बेरोजगार बनेका श्रीमान र महँगो औषधोपचार गराइरहेकी आमाका लागि बालोसले कमाइको एकतिहाइ रकम पठाउने गरेकी थिइन्।

‘मेरी आमा बिरामी हुनुहुन्छ। म अहिले कठिन अवस्थाबाट गुज्रिरहेकी छु। तर म आफू पनि एक आमा भएको नाताले यो त्याग गर्नुको विकल्प छैन,’ उनी भन्छिन्।

अरु कुनै काम पाइन्छ कि भन्ने आसमा बालोसले आफ्नो भिसा थप गरेकी उनले परिवारका सदस्यलाई चिन्ता हुन्छ भनेर आफू जागिरबाट निकालिएको बारे जानकारी गराएकी छैनन्।

जागिर गुमाएका वा अलपत्र परेका विदेशी कामदारहरूका लागि हङकङ अध्यागमन विभागले लचिलो व्यवस्थाका साथै भिसा थपको सुविधा प्रदान गरेको छ। उता विप्रेषणको जिडिपीमा करिब १० प्रतिशत योगदान भएको फिलिपिन्स सरकारले लकडाउनको समयमा वैदेशिक कामदार सहित करिब १० लाख मजदुरहरूका लागि नगद सहायताको योजना अघि सारेको छ।

जागिरबाट निकालिनुका साथै घरेलु कामदारले रोजगारदाताबाट आफ्नो पारिश्रमिक नपाएको पनि गुनासो गरिरहेका छन्।

‘कति रोजगारदाताले कामदारको मासिक तलब काट्ने जनाएका छन्,’ नेपाली वैदेशिक कामदार तथा हङकङको नेपाली घरेलु कामदार संघकी अध्यक्ष चुनी थापाले भनेकी छन्, ‘हाल कामदारहरूको काम थप भएको छ। उनीहरूले सबै चिजलाई स्यानिटाइज गर्नुपर्छ र पहिलाभन्दा बढी समय काममा बिताउनुपर्छ। तर त्यसको बाबजुत पनि उनीहरूको तलबमा कटौती गर्ने बहस चलिरहेको छ।’

हङकङमा त्यहाँको कानुनले घरेलु कामदारको न्यूनतम मासिक तलब ६ सय अमेरिकी डलर तोकेको छ।

कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाउनुपर्दा विश्वका धेरै परिवारको आर्थिक जीवनको आधार भताभुङ्ग बन्ने आँकलन गरिएको छ।

तर, थापाका अनुसार तलब काटिँदा पनि जागिर गुम्ने डरले कयांै महिलाहरू स्थानीय अधिकारीसमक्ष उजुरी गर्न डराइरहेका छन्। यस परिस्थितिले वैदेशिक श्रमबाट आउने आयमाथि निर्भर अधिकांस नेपाली परिवारहरूलाई समस्यामा पारेको छ। नेपालको कुल ग्राहस्थ उत्पादनमा विप्रेषणको योगदान एकतिहाइ बराबर रहेको छ।

‘यसले निकै ठूलो समस्या पैदा गरेको छ,’ थापा अगाडि थप्छिन्, ‘आफैंले कम तलब पाउँदा घरेलु कामदारहरूले घरमा पठाउने रकम स्वाभाविक रूपमा घट्छ।’

बृहत योगदान पछिल्लो दुई दशकयता विकासशील मुलुकहरूको विप्रेषणमाथिको निर्भरतामा उल्लेख्य वृद्धि आइरहेको छ। विश्वभर मजदुरी गर्ने तथा न्युन सीप भएका काम गर्ने उमेर समूहको मानिसको संख्यामा आएको नाटकीय वृद्धिले उनीहरूलाई घरभन्दा बाहिरी देशमा धेरै कमाइ गर्ने अवसर प्रदान गरेको छ।

यस्तो वैदेशिक कामबाट न्युन तथा मध्यम आय भएका राष्ट्रहरूमा भित्रिने विप्रेषणमा आक्रामक वृद्धि आएको छ। विश्व बैंकको आँकडाअनुसार २०१८ मा ७५ अर्ब अमेरिकी डलरबराबरको विप्रेषण रकम ६३० प्रतिशतले बढ्दै २०१९ मा ५५४ अर्ब अमेरिकी डलर पुग्यो। यी राष्ट्रहरूलाई प्रत्यक्ष वैदेशिक लगानीले भन्दा विप्रेषणले बढी लाभ गरेको जनाइएको छ।

(एजेन्सीहरूबाट अनुवादित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय