कोरोनाविरुद्धको लडाइँमा किन बेपरवाह छ प्रदेश २ सरकार?

प्रदेश २ लाई कोरोना भाइरस संक्रमणको उच्च जोखिमस्थलका रूपमा हेरिएको छ। भौगोलिक अवस्थिति र जनसंख्याको दृष्टिकोणबाट प्रदेश २ लाई कोरोनाको उच्च जोखिमस्थलमा हेरिएको हो।

प्रदेशका आठवटै जिल्ला भारतीय सीमासँग जोडिएका छन्। भारतबाट आवतजावत बन्द गर्न नाकामा कडाइ गरिए पनि आउजाउ रोकिन सकेको छैन। लकडाउनको अवधिमा समेत लुकिछिपी सयौं मानिस नेपाल प्रवेश गरेका छन्। भारतबाट आवतजावत रोक्न नसकेपछि प्रदेशमा कोरोना संक्रमणको थप जोखिम बढेको हो।

सोमबार धनुषामा थप दुईजनामा कोरोना संक्रमणको पुष्टि भएको छ। जनकपुरधाम उपमहानगरपालिका बस्ने ती दुवैजना नाका ‘सिल’ रहेको अवस्थामा नेपाल छिरेका हुन्। प्रादेशिक अस्पतालमा रहेका दुवैजनामा कोरोना पुष्टि भएपछि अहिले आइसोलेसनमा भर्ना गरिएको छ।

प्रदेश २ मा कोरोना संक्रमित संख्या बढ्दो क्रममा छ। मंगलबार सार्वजनिक विवरणअनुसार प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ सय ३६ पुगिसकेको छ। तुलनात्मक रूपमा यो संख्या प्रदेश १ बाहेक सबैभन्दा धेरै हो । प्रदेश १ मा १ सय ५४ संक्रमित छन् ।

कोरोनाको उच्च जोखिममा रहेको प्रदेश २ मा अझै पूर्ण रूपले तयार हुन नसकेको आरोप लागिरहेको छ। प्रदेश २ को मुकाम जनकपुरस्थित प्रादेशिक अस्पतालमा पिसिआर परीक्षण बन्द भइसकेको छ।

स्वास्थ्य विभागले दुईपटक पठाएको पिसिआर मेसिनले फरक नतिजा दिएपछि प्रादेशिक अस्पतालमा परीक्षण बन्द भएको हो। प्रादेशिक अस्पतालमा स्वाब परीक्षण बन्द भएपछि राष्ट्रिय प्रयोगशाला टेकुमा भर पर्नुपरेको छ। विभिन्न क्वारेन्टाइनबाट संकलन गरिएका स्वाब टेकु पठाउनुपर्ने भएकाले जाँचको दायरा बढ्न सकेको छैन। स्वाब परीक्षणको लागि आवश्यक ‘भिटिएम’ किटको अभाव अझै सकिएको छैन।

‘भिटिएम’ किटको अभाव हुँदा स्वाब संकलनमा समस्या भएपछि जाँचको दायर बढ्न नसकेको सामाजिक विकास मन्त्रालयका आपूर्ति महाशाखाका निर्देशक डा. प्रमोद यादव बताउँछन्। ‘स्वाब संकलन गर्न ‘भिटिएम’ नभइ हुँदैन, हामीसँग अभाव भएको छ,’ डा. यादवले भने, ‘भिटिएम अभाव भएपछि जाँचको दायरा हामीले चाहे जस्तो अझै हुन सकेको छैन।’

डा. यादवका अनुसार जाँचको दायर बढाउन दैनिक १५ सयदेखि २ हजार भिटिएम आवश्यक छ। तर, मौज्दात सकिएपछि स्वाब संकलनमा समस्या देखिएको उनले बताए। ‘प्रक्रियागत समस्याका कारण प्रदेश सरकारले भिटिएम खरिद गर्न सकेको छैन, संघीय सरकारमाथि भर पर्नुपर्ने अवस्था छ,’ उनले थपे, ‘४० हजार भिटिएम माग गरेका छौं, हेरौं कति आउँछ ?’

परीक्षणको दायरा बढाउन प्रदेश सरकार आफैंले दुइटा पिसिआर मेसिन खरिद गरिसकेको र एक साताभित्र जनकपुर र राजविराजमा जडान भइसक्ने उनको दाबी छ। ‘२७/२७ लाखमा प्रदेश सरकारले दुइटा पिसिआर मेसिन खरिद गरिसकेको छ, एक साताभित्र जनकपुर र राजविराजमा जडान हुन्छ,’ उनले भने। पिसिआर जडान भइसकेपछि स्वाब परीक्षण तीव्र हुने उनको भनाइ छ।

कोरोनाविरुद्धको लडाइँका लागि पर्याप्त समय पाए पनि प्रदेश सरकारले आवश्यक तयारी गर्न नसकेको आरोप पनि लागिरहेको छ। कोरोनाविरुद्ध तयारी गर्न पर्याप्त समय रहे पनि प्रदेश सरकार हचुवाका भरमा अघि बढेको प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवको आरोप छ।

‘प्रदेशमा धेरैपछि कोरोना संक्रमण देखियो, प्रदेश सरकारसँग पर्याप्त समय थियो, तयारी गर्न तर भाषण र निर्णयबाहेक अरु केही गर्न सकेजस्तो लागेको छैन,’ यादवले भने।

‘प्रदेशको आठवटै जिल्लामा कहालीलाग्दो अवस्था छ,’ प्रदेश सरकारले गठन गरेको कोरोना रोकथाम तथा नियन्त्रण अनुगमन समितिका सदस्यसमेत रहेका यादव भन्छन्, ‘क्वारेन्टाइनमा मापदण्ड पूरा गरिएको छैन, कोरोना संक्रमितको उपचार गर्न सरकारले अस्पताल बनाउन सकेको छैन। भाषण गरेरमात्र कोभिड १९ लाई परास्त गर्न सकिन्न। सरकारले कामै गर्न सकेको छैन।’

कोरोनाकै लागि प्रदेश सरकारले दुई अर्ब रुपैयाँ निकासा गरेको सुनेको भन्दै उनले दुरुपयोग गर्न मात्र पैसा निकालिएको हो या महामारी रोक्न सरकारले जवाफ दिनुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय