नरैनापुरका संक्रमितलाई नेपालगन्ज ल्याउन नदिन स्थानीयबासीकाे अवरोध

गुरमुरत यादव/नेपालगञ्ज
प्रकाशित
२०७७ जेठ ६ गते १९:१५

बाँकेको नरैनापुरमा कोरोना संक्रमित ५९ जनालाई नेेपालगन्ज अस्पतालमा ल्याएर आइसाेलेट गर्ने काममा स्थानीयवासीले अवरोध गरेका छन्।

नेपालगन्जबाट गएको एम्बुलेन्सलाई आदर्श मावि लक्ष्मणपुरमा रहेको क्वारेन्टाइनमा बसेका संक्रमितहरूका अभिभावक र महिलाले अवरोध गरेका हुन्।

नरैनापुरका कोरोना संक्रमितलाई नेपालगन्ज ल्याएर अस्पतालमा राखिने निर्णय भएकाे थियाे।

ठूलो संख्यामा क्वारेन्टाइनको छेउछाउमा स्थानीय जम्मा भएका छन्। संक्रमितलाई यतै राखेर उपचार गर्नुपर्ने बताउँदै स्थानीयले अवरोध गरेका हुन्।

अवरोध हटाउनका लागि नेपालगन्जबाट थप सुरक्षा दस्ता जाँदै छ।

यसैबीच आदर्श मावि क्वारेन्टाइनमा रहेका संक्रमितबाहेक वडा नम्बर ५ र ६ मा रहेका क्वारेन्टाइनका सबै जना नेपालगन्ज आउन तयार रहेका छन्।

त्यसैले उताको समस्या समाधान हुने बित्तिकै सेनाको एम्बुलेन्समार्फत सबैलाई पठाउने तयारी रहेको गंगापुर सशस्त्र बेस क्याम्पका प्रहरी निरीक्षक वीरेन्द्र जिसीले बताए।

नरैनापुरमा सुविधासम्पन्न आइसाेलेसन कक्ष नभएपछि उनीहरूलाई नेपालगन्ज, कोहलपुर र खजुरामा राखिने तयारी भएको थियो।

सम्बद्ध सरोकारवालाहरूको नेपालगन्जमा बसेको बैठकले लायन्स डेन्टल अस्पतालमा २३ जना, कोहलपुरको कृषि तालिम केन्द्रमा ३५ जना र खजुरामा १ जनालाई राख्ने निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय