शिक्षण अस्पतालमा कोरोना संक्रमण स्रोत खोजिँदै, कुरुवातिर सोझियो ‘कन्ट्याक्ट ट्रेसिङ’

त्रिवि शिक्षण अस्पतालमा घाँटीको शल्यक्रियाका लागि वैशाख २७ मा भर्ना भएकी कपिलवस्तु वाणगंगाकी ६ वर्षीया बालिकामा जेठ १ गते कोरोना परीक्षणको पोजेटिभ रिपोर्ट आयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल) मा गरिएको परीक्षण रिपोर्टलगत्तै बालिकालाई भर्ना गरिएको न्युरो वार्डका चिकित्सक, नर्स स्विपरदेखि कुरुवासमेत १ सय २० जनाको पिसिआर परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा न्युरो वार्डमा राखिएका एक बिरामीका ३४ वर्षे कुरुवामा जेठ २ गते कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट आयो ।

यसबीच जेठ १ गते साँझ धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको कारण कोरोना र त्यसको सम्पर्क शिक्षण अस्पतालतिर सोझिएको स्थिति थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीहरूले त्रिवि शिक्षण अस्पताल ‘हटस्पट’ नै रहेको आशंकामा व्यापक ‘कन्ट्रयाक ट्रेसिङ’ सँगै सबै चिकित्सक, नर्स र कर्मचारीसमेतको परीक्षण गर्नुपर्ने निक्र्योल निकालेका थिए ।

जति धेरै परीक्षण र ‘कन्ट्रयाक ट्रेसिङ’ हुँदै गयो, अस्पतालमा भेटिएको संक्रमणका कारणको खोजी उति नै कठिन भइरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीका अनुसार ६ वर्षीया बालिका वा मृत्यु भएकी महिलामा संक्रमण अस्पतालभन्दा त्यहा“ आएको कुरुवाहरूबाट सरेको हुनसक्ने देखिएको छ ।

इडिसिडीका अनुसार पहिलो संक्रमण देखिएकी बालिकाको उपचारमा संलग्न चिकित्सक, नर्ससँगै स्विपरसमेत गरी झन्डै १ सय २० मध्ये १ सय १९ मा पिसिआर रिपोर्ट नेगेटिभ देखिएको छ । यद्यपि ती सबैलाई क्वारेन्टाइन र आइसोलेसन राखिएको छ । न्युरो वार्डबाट डिस्चार्ज भइसकेका बिरामीहरू क्वारेन्टाइनमा छन् भने वार्डमा भर्ना गरिएका १२ बिरामी अझै आइसोलेसनमा छन् ।

संक्रमित बालिकाका बाबु र कपिलवस्तुस्थित उनका घरका आफन्तमा समेत कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

खासगरी बालिका र मृत्यु भएकी महिलापछि महाशाखाका अधिकारीहरूले ‘कन्ट्रयाक ट्रेसिङ’को दायरा बालिका भर्ना गरेर राखिएको न्युरो वार्डका बिरामी कुरुवा दाङका ३४ वर्षे पुरुषतर्फ सोझ्याएका छन् ।

त्यसैगरी जेठ १ मा कोरोनाबाट मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिला सुरुमा वैशाख २३ गते हिँडेरै शिक्षण अस्पताल पुगेकी थिइन् । वैशाख २४ गते नर्मल डेलिभरी भएकी ती महिला २५ गते डिस्चार्ज भएरबाटै एम्बुलेन्समा सिधै बाह्रबिसे राम्चेस्थित घर फर्किएकी थिइन् ।

सुत्केरी महिलालाई श्वासप्रश्वासमा एक्कासि अप्ठ्यारो भएपछि वैशाख ३१ मा स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र र पछि धुलिखेल अस्पताल लगिएको थियो । धुलिखेलमै उनको कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएको थियो । मृत्यु भएकी महिलाको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा आएका अस्पतालका मात्रै १ सय ७० जना सेल्फ क्वारेन्टाइन र आइसोलेसनमा छन् । उनीहरूको रिपोर्ट आउने क्रम जारी छ ।

यतिसम्म कि नर्मल डेलिभरी भएकी ती महिलासँग जोखिम हुनेगरी सम्पर्कमा आएका स्वास्थ्यकर्मी र स्विपरको संख्या निकै कम छ । ‘उनीहरूका अनुसार प्रसूतिका लागि सहयोग गरेका केहीबाहेक अरुलाई भेटेको पनि याद छैन,’ अस्पतालका एक चिकित्सकले भने, ‘ती महिलालाई पनि अस्पतालमा संक्रमण सरेको हुनसक्ने भए पनि अस्पतालमा उसले फैलिएको हुनसक्ने सम्भावना कम छ ।’

ती महिलासँग सम्पर्कमा रहेका नवजात, परिवारका अन्य सदस्यमा पनि कोरोना नेगेटिभ देखिइसकेकाले पनि अस्पतालमा फैलिएको संक्रमणस्रोत उनी पनि होइनन् कि भन्नेमा सरुवा रोग महाशाखाका अधिकारी पुगेका छन् ।

खासगरी बालिका र मृत्यु भएकी महिलापछि महाशाखाका अधिकारीहरूले ‘कन्ट्रयाक ट्रेसिङ’को दायरा बालिका भर्ना गरेर राखिएको न्युरो वार्डका बिरामी कुरुवा दाङका ३४ वर्षे पुरुषतर्फ सोझ्याएका छन् । संक्रमित उनकै बयानका आधारमा उनीसँग सम्पर्कमा आएका १ सय ६९ जनाको पनि परीक्षणको रिपोर्ट नेगेटिभ आइसके पनि अधिकारीहरूलाई त्यसले चित्त बुझेको छैन ।

सबैमा देखिएका भाइरसको विश्लेषणबाट कुन ठाउँतिर देखिएको भाइरससँग बढी मेल खान्छ भनेर यकिन गर्नु विश्वमा प्रचलित सबैभन्दा विश्वसनीय र वैज्ञानिक विधि हो । तर, नेपाल स्वास्थ्य अनुसन्धान परिषदले यो तहको अनुसन्धान सुरुवात नै नगरेको स्वास्थ्य अधिकारीहरूको दाबी छ ।

डा. पाण्डेका अनुसार एक महिनाको बीचमा उनको यात्रा विवरण निकै लामो र शंकास्पद छ । ‘बीचमै उनी दाङ र नेपालगन्जसमेत गएको देखिन्छ,’ डा. पाण्डेले भने, ‘हामीलाई चाहिँ बीचमा रुपैडियातिर समेत गएजस्तो लाग्छ, तर भारतचाहिँ आफू नगएको भनिरहेका छन् ।’

उनी अस्पतालमा बस्दा पनि विभिन्न वार्डमा चहार्ने गरेको र त्यहीं कुनै माध्यमबाट अन्य संक्रमण देखिएकाहरूमा सरेको र चिकित्सक तथा स्वास्थ्यकर्मीले अपनाएका सावधानीका कारण उनीहरूमा नफैलिइएको हुनसक्ने कन्ट्रयाक ट्रेसिङमा संलग्न अधिकारीहरू बताउँछन् ।

अहिले क्वारेन्टाइन र आइसोलेसनमा रहेका चिकित्सक स्वास्थ्यकर्मीमा पोजेटिभ देखिए अनुसन्धानले अर्को मोड लिने नत्र अहिले अनुसन्धान दाङका ती कुरुवातिरै केन्द्रित गरिएको उनीहरू बताउँछन् ।

सरुवा रोग विज्ञहरूका अनुसार यस्तो अवस्थामा संक्रमणको स्रोत खोज्नका लागि स्वास्थ्य अनुसन्धान टोलीको महत्वपूर्ण भूमिका हुन्छ । ती सबैमा देखिएका भाइरसको विश्लेषणबाट कुन ठाउँतिर देखिएको भाइरससँग बढी मेल खान्छ भनेर यकिन गर्नु विश्वमा प्रचलित सबैभन्दा विश्वसनीय र वैज्ञानिक विधि हो ।

तर, नेपाल स्वास्थ्य अनुसन्धान परिषदले यो तहको अनुसन्धान सुरुवात नै नगरेको स्वास्थ्य अधिकारीहरूको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय