चीनबाट सेनाले काठमाडौं झार्‍यो १९ टन स्वास्थ्य सामग्री

नेपाली सेनाले चीनबाट झन्डै १९ टन स्वास्थ्य सामग्री काठमाडौं झारेको छ। सोमबार साँझ चीन उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले १८ हजार ८७१ किलो (करिब १९ टन) स्वास्थ्य सामग्री काठमाडौं झारेको हो।

मंगलबार बिहान वाइडबडी जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सो बराबरको सामग्री झारेको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ।

ग्वान्झाओस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार जाँचपास भइसकेको उक्त सामग्री जहाज चार्टर्ड गरी नेपाल ल्याइएको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए।

यसअघि ग्वान्झाओबाटै स्थलमार्गबाट ८ टन सामग्री तातोपानी भन्सार हुँदै काठमाडौं ल्याइएको थियो। मंगलबार काठमाडौं आइपुगेको स्वास्थ्य सामग्रीमा पिपिई, मास्क, परीक्षण किटलगायत रहेको उनले बताए।

नेपाली सेनाले चीनको सरकारी कम्पनी सिनोफर्मासँग ३४२ टन स्वास्थ्य सामग्री खरिद सम्झौता गरेको छ। उक्त सामग्री नेपाल ल्याउने जिम्मा ललितपुरको फ्लास फ्रेट कम्पनीलाई दिइएको छ।

चीनको भन्सार जाँचपासको कडाइका कारण समयमै स्वास्थ्य सामग्री ल्याउन नसकिएको सेनाको भनाइ छ। अहिले पनि ग्वान्झाओमा स्वास्थ्य सामग्रीको भन्सार जाँचपास भइरहेको छ।

सेनाले अर्को फ्लाइट आइतबार पुन: ग्वान्झाओ पठाइने बताएको छ। ‘अर्को फ्लाइटले आइतबार फेरि मेडिकल सामग्री ल्याउँछ,’ पाण्डेले भने।

कोभिड-१९ को महामारीका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिदका लागि सरकारले जिटुजी प्रक्रियाबाट सेनालाई जिम्मा दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय