भारतबाटै फर्किएका थिए जनकपुरका दुईजना कोरोना संक्रमित

धनुषामा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राति सार्वजनिक गरेको विवरणअनुसार धनुषाका दुईजना नयाँ संक्रमित जनकपुरधाम उपमहानगरपालिका बस्ने हुन्।

मन्त्रालयका अनुसार जनकपुरधाम–६ बस्ने ४५ वर्षीय पुरुष र वडा नम्बर २१ घर भएका २१ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि हुनुअघिसम्म दुवैजना धनुषाको नगराइन नगरपालिकास्थित गंगुली क्वारेन्टाइनमा भर्ना थिए।

४५ वर्षीय पुरुष वैशाख ३० गते भारतको हरियाणा र २१ वर्षीय युवक महोत्तरी सीमा नजिकै रहेको विहार राज्यको विहारी भन्ने गाउँबाट जनकपुर फर्केका थिए। दुवै देशमा जारी ‘लकडाउन’ र सीमामा कडाइ छँदा उनीहरू जनकपुर फर्केको बताइएको छ।

३० गते जनकपुर फर्केका उनीहरू एकदिन आ–आफ्नो घरमा बसेका थिए। उनीहरू भारतबाट फर्केको जानकारी छिमेकीले प्रहरीलाई दिएपछि दुवैजनालाई क्वारेन्टाइनमा राखिएको थियो।

गंगुली क्वारेन्टाइनका संयोजक सन्तोष ठाकुरले दुवैजनालाई जेठ १ गते भर्ना गरिएको जानकारी दिए। भारतबाट फर्केको जानकारी स्थानीयले प्रहरीलाई दिएपछि उनीहरुलाई क्वारिन्टाइनमा भर्ना गरिएको उनले बताए।

जेठ २ गते स्वाब संकलन भएका उनीहरुको रिपोर्ट सोमबार राति आएको ठाकुरले जानकारी दिए। सामान्य स्वास्थ्य अवस्था रहेका दुवैजनामा कोरोना पुष्टि भइसकेपछि प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन वार्डमा भर्ना गरिएको ठाकुरले बताए।

थप दुईजना संक्रमित भएको पुष्टि भएसँगै धनुषामा संक्रमितको संख्या ८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय