राैतहट जनस्वास्थ्य प्रमुख भन्छन्– किट छैन, क्वारेन्टाइन भरिए, कता राख्ने?

नेपालमा कोरोना संक्रमितको संख्या दिनहुँ थपिँदो छ। भारतबाट लुकिछिपी आउने क्रम पनि रोकिएको छैन। भारतबाट चोरबाटो प्रयोग गरेर आउनेहरू नरोकिँदा नेपालमा संक्रमणको अत्यधिक जोखिम बढेको हो।

यसको ज्वलन्त उदाहरण प्रदेश २ मा देख्न सकिन्छ। रौतहटमा सोमबार बिहान ८ जना नयाँ कोरोना संक्रमित थपिए। नेपालमा आइतबार १० जनामा संक्रमण देखिएको थियो।

सोमबार नयाँ थपिएका संक्रमितमध्ये ७ जना भारतबाट आएका हुन्। रौतहट माधवनारायण नगरपालिकाकी २८ वर्षीया महिलामा पनि कोरोना संक्रमण देखिएको छ। उनी भने घरमा नै थिइन्।

संक्रमित महिलाकी बहिनी र ज्वाईं केही समयअघि भारतबाट आएका थिए। तर उनीहरुमा कोरोना संक्रमण नभएको जिल्ला जनस्वास्थ्य प्रमुख महेश शाहले बताए।
उनका अनुसार ती संक्रमित महिलामा कसरी संक्रमण देखियो भनेर खोजी भइरहेको छ।

‘बहिनी र ज्वाईंमार्फत संक्रमण स-यो कि अन्य व्यक्तिबाट हामी त्यसको खोजी गरिरहेका छौं । हामी संक्रमित महिलाको सम्पर्कमा आएका सबैको खोजी गरिरहेका छौं,’ शाहले भने।

संक्रमण देखिएका महिलाबाहेक सबै क्वारेन्टाइनमा रहेका थिए। हाल रौतहटमा २० वटा क्वारेन्टाइनमा ४ सय ९१ जना रहेका छन्। क्वारेन्टाइनमा रहेकामध्ये १ सय २० जनाको कोरोना परीक्षण गरिएको शाहले हेल्थपोस्टनेपाललाई बताए।

भारतबाट लुकिछिपी आउने क्रम दैनिक बढिरहेको उनको भनाइ छ। ‘क्वारेन्टाइनमा समेत मानिस राख्ने ठाउँको अभाव भइरहेको छ,’ शाहले भने, ‘दैनिक यसैगरी संख्या बढ्ने हो भने संक्रमणले भयावह रूप लिने खतरा छ।’

कोरोना परीक्षण गर्ने किट नभएका कारण क्वारेन्टाइनमा बसेकाहरूकै परीक्षण हुन नसकेको शाह बताउँछन्। ‘हामीसँग भएको किटले १ सय २० जनाको परीक्षण गरिसकेका छौं।

क्वारेन्टाइनमा बसेका मात्र ३ सय ५० भन्दा बढीको कोरोना परीक्षण गर्न बाँकी नै छ,’ शाहले भने, ‘प्रदेश सरकारले पठाउँदै छौं भन्ने आश्वासनमात्र दिन्छ।’
रौतहट जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या २१ पुगेको छ।

क्वारेन्टाइनमा बस्नेलाई मात्र नभई अब समुदायमा पनि परीक्षण गर्ने बेला आएको शाहको भनाइ छ। केन्द्र तथा प्रदेश सरकारलाई प्रत्येक दिनको अपडेट दिइरहेको भए पनि अपेक्षित सहयोग प्राप्त नभएको उनको गुनासो छ।

‘यहाँ १० हजारभन्दा बढीको परीक्षण गर्नुपर्ने देखिन्छ। यो कुरा मैले प्रदेश र केन्द्र सरकारलाई प्रत्येक दिन भनिरहेको छु,’ शाहले भने, ‘तर, केन्द्र तथा प्रदेश सरकारको कुनै सुनुवाइ नै हुँदैन।’

संक्रमितहरू रौतहटमा रहेको नर्सिङ कलेजमा उपचाररत छन्। गौर अस्पतालमा पनि १५ बेडको आइसोलेसन कक्ष तयार गरिएको छ।

हालसम्म देखिएका संक्रमित र क्वारेन्टाइनमा रहेका सबैको कोरोनाको कुनै लक्षण नरहेको र सबैको अवस्था सामान्य रहेको शाहले बताए। तर, भारतबाट आएका मानिसको पहिचान गरेर क्वारेन्टाइनमा राख्ने काममा भने समस्या भइरहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय