होटल व्यवसायमा गति दिन पे नाउ, गो लेटर योजना ल्याइँदै

कोरोना संक्रमणबाट अत्यावश्यक बाहेक अरु उद्योग व्यवसाय ठप्प प्राय छ। कोरोना संक्रमणले होटल व्यवसाय ठप्प छ। कोरोना संक्रमण नियन्त्रणमा आएपछि पनि होटल व्यवसाय पुरानै अवस्थामा फर्किन केही वर्ष लाग्ने अनुमान गरिएको छ।

सरकारले आन्तरिक पर्यटक प्रवर्द्धनका लागि केही योजना तयार पारेको छ। तर निजी क्षेत्र भने अहिलेसम्म पनि अन्योलमै छन्। यो अन्योलतालाई चिर्दै कोरोना संक्रमण नियन्त्रणमा आएपछि होटल व्यवसायलाई गति दिन युवा पर्यटन व्यवसायी सुमन घिमिरेले एउटा योजना थाल्ने घोषणा गरेका छन्।

उनी क्षेत्रीय होटल संघ सौराहाका निर्वतमान अध्यक्ष हुन्। घिमिरेको सौराहामा जंगल सफारी लज छ। उनले ‘पे नाउ, गो लेटर’ योजना सुरु गर्दैछन्। ‘कोरोना संक्रमण नियन्त्रणमा आएपछि होटल व्यवसायलाई गति दिन यो अभियान सुरु गर्न खोजेको हो,’ उनले भने, ‘यसले होटल व्यवसायलाई पुनर्जीवन दिनसक्ने अपेक्षा राखेको छु।’

उनका अनुसार कुनै पर्यटकले अग्रिम १० हजार रुपैयाँ तिरेमा ६० दिनपछि १५ हजार रुपैयाँ हुनेछ। त्यो पैसाले होटलको खाना र कोठाको बिल तिर्न सक्नेछन्। यो सम्बन्धी सर्त होटलले आआफ्नै किसिमले राख्ने पाउने उनले बताए।

कुन कुन होटलमा पाइन्छ ?

अहिले यो योजना सुरुवाती चरणमा छ। होटल व्यवसायी घिमिरेले मुलुकभरका होटललाई दर्ता सुरु गरेका छन्। उनका अनुसार यो योजनामा सहभागी हुन चाहने होटलहरुले www.paynowgolater.com मा गएर रजिस्टर गर्नुपर्नेछ।

घिमिरेले मुलुकभर रहेका पर्यटकीय होटललाई अभियानमा सहभागी गराउन खोजेको बताउँदै यसले होटल क्षेत्रलाई सुरुमै गतिशील बनाउन सहयोग पुग्ने जिकिर गर्छन्।

‘कोरोनाको महामारीले सबै क्षेत्र आक्रान्त छ। यो बेलामा मानवीय सुरक्षा पहिलो सर्त हो। तर संक्रमण रोकिएपछि अर्बौ रुपैयाँ लगानी भएका होटललाई कसरी संचालन गर्ने भन्ने चिन्ताले धेरैलाई गाँजेको छ,’ घिमिरेले भने, ‘यो बेलामा यो अभियानले होटल संचालनमा आएर त्यहाँ कार्यरत रहने जनशक्तिलाई रोजगारी दिने वातावरण तयार हुनेछ भने अग्रिम तिरेको पैसाले होटलको इकोसिस्टमलाई निरन्तर अघि बढाउन सहयोग पुर्‍याउने अपेक्षा छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय