विश्व काेभिड-१९ सँग लडिरहेका बेला चिनियाँ राष्ट्रपतिको देश दाैडाहाकाे सन्देश के हुनसक्छ?

संसारकै ठूलो अर्थतन्त्रको रूपमा आफ्नो नाम दर्ज गराउन उद्धत चीनका राष्ट्रपति सी चीनफिङ पछिल्लो समय देश दौडाहामा निकै सक्रिय हुन थालेका छन्।

यस्तो भ्रमणको क्रममा उनले आमजनतालाई हाल कायम कोरोना भाइरसको जोखिमप्रति सचेत रहन भनेका छन्। साथै व्यापार, उद्योग तथा कलकारखानालाई अर्थतन्त्रको मेरुदण्ड बनाई आफ्नो क्रियाकलाप सक्रिय राखेर आफूले सक्ने सबै योगदान गर्न मानिसलाई हौसला दिइरहेका छन्।

त्यसो त पहिलो चरणको कोरोना संक्रमणमाथि अद्भूत विजय हासिल गरेका राष्ट्रप्रमुखको हैसियतमा सी चीनफिङको संघोषित भ्रमणको उद्देश्य स्पष्ट छ। तथापि कतिले भने राष्ट्रको दशकौंपछि सर्वशक्तिशाली नेताले चिनियाँ कम्युनिष्ट पार्टीको एजेन्डा भजाउन आफ्नो व्यक्तिगत छविलाई हतियारका रूपमा प्रयोगमा ल्याएको आशंका गरेका छन्।

सबैभन्दा पछिल्लो भ्रमण सी चीनफिङको गत साता सान्सी प्रान्तको भएको थियो। भ्रमणका क्रममा उनले कोरोना भाइरस संक्रमणको दोस्रो चरणमा पनि देखिन सक्ने भन्दै पार्टीका स्थानीय कार्यकतालाई होसियार रहन निर्देशन दिएका थिए। यसका साथै यस वर्षको लागि तोकिएको राष्ट्रिय लक्ष्य हासिल गर्न पनि दिलोज्यान दिएर लाग्न हौस्याए।

कोइला र इन्धनजस्ता परम्परागत उद्योगमाथिको निर्भरतालाई क्रमशः घटाउनका लागि स्थानीय अर्थतन्त्रको विविधीकरणतर्फ काम थाल्नुपर्ने उनको जोड थियो।

हाल सी चीनफिङका लागि सबैभन्दा बढी दुई ‘शताब्दीय लक्ष्य’ मा दबाबमूलक रहेको छ। त्यसमा सन् २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टी र जनवादी गणतन्त्र चीन स्थापनाको सयौं वर्षगाँठ मनाउनु र आफ्नो राष्ट्रलाई यस वर्षको अन्त्यसम्म ‘बृहत समृद्ध समाज’मा रूपान्तरण गर्नु हो।

सान्सी भ्रमणका क्रममा राष्ट्रिय संचार संस्था सिन्ह्वाले एक समीक्षात्मक टिप्पणी छाप्दै उक्त लक्ष्य पूरा गर्ने कार्यलाई हालको प्रकोपले कठिन बनाएको भएता पनि त्यसका लागि ‘एक मिनेट पनि खेर फाल्न नहुने’ जनाएको छ।

परामर्श कम्पनी टेनियो म्यानेजमेन्टका वरिष्ठ उपाध्यक्ष गाब्रियल विल्डाउले कोराना भाइरस नियन्त्रणको एजेन्डालाई पन्छाउँदै विकास लक्ष्यतर्फ ध्यान दिँदा ‘कोरोनालाई परास्त गरेको चीनसँग अब अन्य क्षेत्रको काम अगाडि बनाउन सक्ने क्षमता रहेको’ सन्देश प्रवाह गर्ने बताए।

सी चीनफिङले कुल ग्राहस्थ उत्पादन मात्र नभई अन्य विविध मापनहरूको पनि प्रयोग गरी समृद्ध ‘समाजको लक्ष्य’लाई पुनः परिभाषित गर्नेतर्फ इशारा गरेको उनले औंल्याए।
‘तसर्थ वातावरण र प्रविधिजस्तो क्षेत्रमा हात लागेको उपलब्धि एवं प्रगतिको दृष्टान्त दिई उनले उक्त लक्ष्य पूरा भएको घोषणा गर्नसक्ने पनि सम्भावना छ,’ विल्डाउ भन्छन्।
जिनपिङको सान्सीको भ्रमण मार्च महिनामा कोरोना भाइरसको केन्द्रविन्दु मानिएको उहानको भ्रमण गरेयता चौथो हो।

उनले जेजियाङ र सान्सीको यात्रा गरिरहँदा चाइनिज पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका अध्यक्ष वाङ याङ र अनुशासन प्रमुख जावो लेजीलगायत अन्य पार्टीका नेताहरू भने देशका विभिन्न भाग घुमिरहेका थिए।

विल्डाउका अनुसार सल्लाहकारहरूले परिस्थितिको ‘कृत्रिम सुन्दर चित्रण प्रस्तुत गर्ने’ परिपाटीका कारण जिनपिङसहित प्रमुख नेताहरू भरपर्दो जानकारीका लागि आफैं भ्रमणमा निस्केका हुन्।

‘चीनफिङको हालैको भ्रमण उनी आफैंले देश तथा समाजको नाडी छाम्न गरिएजस्तो देखिन्छ,’ विल्डाउ अनुमान लगाउँछन्।

‘आफूले सबै वर्ग तथा क्षेत्रबारे ध्यान दिएको छु भनेर प्रमाणित गर्नका लागि राष्ट्रप्रमुख समाजको सबै भागतर्फ पुगिरहनुभएको छ, जस्तो कि सान्सीमा उहाँले कृषिमाथि जोड दिएका थिए,’ विल्डाउ अगाडि थप्छन्।

हालको भ्रमण यस वर्ष ढिलो गरी हुन लागेको नेसनल पिपल्स कंग्रेस र सिपिपिसीको वार्षिक बैठकको दुई साताभन्दा कम समय अघि भएको हो।

युनिभर्सिटी अफ लन्डन स्कुल ओरियन्टल एन्ड अफ्रिकन स्टडिजअन्तर्गत एसओएस चाइना इन्स्टिच्युटका अध्यक्ष स्टिभ साङले सो बैठकमा कोभिड–१९ पछिको चीनबारे नयाँ कहानी भजाउन चीनफिङले विभिन्न प्रान्तको भ्रमणलाई प्रयोगमा ल्याएको टिप्पणी दिए।

‘बाँकी विश्व अझ विशेषगरी पश्चिमा प्रजातान्त्रिक मुलुकहरू कोभिड–१९ लाई नियन्त्रणमा लिन संघर्षरत रहिरहँदा नेतृत्वको दू्रत कदम र पार्टीको सर्वोच्चताका कारण चीनलाई यस संकटबाट मुक्त गर्न सकिएको’ सी चीनफिङको नयाँ कहानी हुने उनको अनुमान छ।

‘सी चीनफिङ र पार्टीका अन्य मुख्य नेताहरूले देखेको फेबु्रअरी महिनाको गम्भीर जोखिमको कारण पनि पार्टी नेतृत्व तथा उसको विश्वसनीयता पुनः प्रमाणित गर्नुपर्ने आवश्यकता छ,’ साङ भन्छन्।

पार्टीद्वारा प्रवद्र्धित पत्रिका सन्डे टाइम्सका पूर्व वरिष्ठ सम्पादक देङ युवेनले कोभिड–१९ को प्रकोपले नेतृत्वकर्तालाई आकस्मिक परिस्थितिमा समाजलाई नियन्त्रणमा लिने उनीहरूको क्षमता परीक्षण गर्ने अवसर दिएको बताए।

‘सुरुवाती त्रासबाहेक त्यति ठूलो विपत्तिको सामना गर्नुपरेन,’ उनी भन्छन्, ‘नेतृत्वकर्ताहरू बृहतस्तरमा परिचालन गर्न तथा कलकारखानालाई पुनस्र्थापना गर्न सफल रहे भने चिनियाँ जनताले अधिकतम साझेदारिताको प्रदर्शन गरिदिए।’

चीनसँग सीमा जोडिएको रुस र दक्षिण कोरियामा संक्रमणको दोस्रो चरण पैदा भएको समाचार सार्वजनिक भइरहेको सन्दर्भमा गत साताको पोलिटव्युरो बैठकको क्रममा जिनपिङले ‘प्रकोप नियन्त्रणमा कठिन मिहिनेतका साथ हात लागेको परिणामलाई त्यति सजिलै खेर जान नदिने’ उल्लेख गरेका थिए।

नेसनल ग्राजुएट इन्स्टिच्युट फर पोलिसी स्टडिज, टोकियोका निर्देशक युकिङ जिङले यदि बेइजिङ आफ्नो अर्थतन्त्रलाई पुनर्संचालन गर्न र लक्ष्य हासिलतर्फको बाँकी काम सुरु गर्न चाहन्छ भने उसले सानातिना प्रकोपको सामना गर्नुपर्ने तथा सुरक्षा एवं नियन्त्रणको उपाय कार्यान्वयन गराउने क्षेत्रीय अधिकारीहरूलाई केही लचकता दिनुपर्ने बताए।

‘बेइजिङले हालसम्म प्रकोपविरुद्ध शून्य सहनशीलता देखाएको छ र एक वा दुईवटा संक्रमणका लागि पनि आफ्ना अधिकारीलाई बर्खास्त गरेको छ,’ उनी भन्छन्, ‘यदि त्यसलाई जारी राख्ने हो भने कार्यकर्ताहरूले फेरि पनि स्वतन्त्र आर्थिक क्रियाकलापलाई स्वीकृति गर्ने भन्दा पनि नियन्त्रणको प्रयासमाथि नै जोड दिनेछन्।’

साथै आफ्नो लक्ष्य एवं आकांक्षा हासिल गर्नका लागि चिनियाँ नेतृत्व कोभिडपछिको समयमा सिर्जित नयाँ सन्तुलनप्रति अनुकूल रहनुपर्ने पनि उनले बताए।

अनुवादित सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय