सीमामा अलपत्र परेका नेपालीलाई उद्धार गर्न प्रदेश सरकारलाई आग्रह

रूपन्देही जिल्लाका १६ वटा स्थानीय सरकारका प्रमुखले प्रदेश सरकारले सीमामा अलपत्र परेका नेपालीलाई स्वदेश भित्र्याउन पहल गर्नुपर्ने बताएका छन्। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरलेसँगको अन्तरक्रियामा उनीहरूले यस्तो सुझाव दिएका हुन्।

रूपन्देहीको विभिन्न नाकाबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम नरोकिनु र नौतनहवामा रहेको क्वारेन्टाइनमा रहेका नेपालीले दुःख पाएको गुनासो आएपछि उनीहरूबाट यस्तो सुझाव आएको हो।

स्थनीय तहका प्रमुखहरूले लकडाउनमा पालिकाहरूले गरेको प्रयास, अभ्यास र कठिनाइका विषयमा मुख्यमन्त्रीसमक्ष आफ्ना कुरा राखेका थिए।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले २४ वटा विद्यालयमा ६ सय २० जनालाई क्वारेन्टाइनमा राखिएको बताए। नगरपालिकामा १० हजार २ सय हेक्टर खेतीयोग्य जमिन भएको नगरमा खेतीको समयमा बीउ नआएका कारण किसानहरू चिन्तित भएको पनि सुनाए।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरले कोरोना महामारीका कारण नगरको तर्फबाट वडा नम्बर २ मा १० बेडको एउटा आइसोलेसन सेन्टर मापदण्डअनुसार बन्न थालेको बताए। अब बिस्तारै भारतबाट धेरै नेपाली आउने हुँदा कसरी व्यवस्थापन गर्ने भन्ने मूल विषय भएको बताए।

सम्मरीमाई गाउँपालिकाका अध्यक्ष बब्लु शुक्लाले ५ सय ३२ जना भारतबाट आएकामा ४३ जनाको पिसिआर नेगेटिभ भएको, ३० जनाको आरडिटी नेगेटिभ, ४ जनाको पोजेटिभ आएकाे र १० वटा क्वारेन्टाइन भएको जानकारी गराए।

सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख हरिप्रसाद अधिकारीले क्वारेन्टाइन वडा वडामा बनाउँदा स्थानीयको समेत विरोध हुने हुँदा सानो क्वारेन्टाइनको कुनै अर्थ नहुने बताए। उनले अब बेलहिया नाका हुँदै १० देखि २० हजारसम्म आउने हुँदा खुला ठाउँमा एक हजारसम्म राख्न मिल्ने खालको क्वारेन्टाइन निर्माण गर्नुपर्ने बताए।

देवदह नगरपालिकाका नगरप्रमुख हीराबहादुर खत्रीले क्वारेन्टाइन बनाउँदा स्थानीयको विरोध भएको बताउँदै नागरिकलाई वायुमण्डलमा झुन्ड्याएर राख्ने नभइ यहिँ राख्ने नै भएको बताए। धेरैभन्दा धेरै परीक्षण गर्ने विधिको प्रयोग गर्न उनले प्रदेश सरकारलाई सुझाए।

सम्मरीमाई गाउँपालिकाका अध्यक्ष बब्लु शुक्लाले ५ सय ३२ जना भारतबाट आएकमा ४३ जनाको पिसिआर नेगेटिभ भएको, ३० जनाको आरडिटी नेगेटिभ, ४ जनाको पोजेटिभ आएकाे र १० वटा क्वारेन्टाइन भएको जानकारी गराए।

मर्चवार गाउँपालिकाका अध्यक्ष केशवनन्द बानियाँले याे गाउँपालिका २५ किलोमिटर बोर्डर पर्ने बताए । उनले रूपन्देही जिल्लाका अन्य स्थानीय तहभन्दा ठूलो सीमा क्षेत्र भएकले लुकेर आउने धेरै देखिनाले जाेखिम बढेको बताए।

प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य अष्टभुजा पाठकले वर्तमान समयमा क्वारेन्टाइनमा समस्या भएको बताए। उनले केन्द्रीय सरकारको मात्रै मुख नताकी स्थानीय सरकार र प्रदेश सरकारले प्रक्रियागत रूपमा अलपत्र नेपालीलाई जाँच गरेर स्थानीय क्वारेन्टाइनमा राख्ने काम गरे राम्रो हुने बताए।

रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले सीमामा अलपत्र परेका नेपालीहरू ल्याउन नसक्नु जनप्रतिनिधिको कमजोरी भएको जनताले भन्ने गरेक बताए । उनले सीमामा अलपत्र नेपालीलाई ल्याउन नसक्दा जनप्रतिनिधिकाे लाचारीपन हुने स्मरण गराए ।

सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले नेपालको प्रमाणित बीउ सियारी गाउँपालिकामा भएको बताउँदै कुनै स्थानीय तहलाई चाहिएमा सम्पर्क गर्न अनुरोध गरे।

रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जिल्लाको सुरक्षा अवस्था तथा क्वारेन्टाइनको अवस्थाका बारेमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री तथा स्थानीय निकायका प्रमुखलाई जानकारी गराएका थिए।

प्रदेशसभा सदस्यको सुझाव पनि उस्तै

त्यसैगरी रूपन्देहीका प्रदेशसभा सदस्यहरूले पनि मुख्यमन्त्रीसमक्ष लकडाउनको अवस्थाको विषयमा कुराहरू राखेका थिए।

प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य अष्टभुजा पाठकले वर्तमान समयमा क्वारेन्टाइनमा समस्या भएको बताए। उनले केन्द्रीय सरकारको मात्रै मुख नताकी स्थानीय र प्रदेश सरकारले प्रक्रियागत रूपमा अलपत्र नेपालीलाई जाँच गर्दै स्थानीय क्वारेन्टाइनमा राख्ने काम गर्नुपर्ने बताए।

प्रदेशसभा सदस्य सन्तोष पाण्डेले एकद्वार प्रणाली भन्ने गर्दा नागरिकता नभएकाले राहत पाउन नसकेको सुनाए। कुनै पहिचानलाई आधार मान्दा नागरिकता माग्ने तर नागरिकता नभएका राहत पाउनबाट वन्चित हुनु दुखद भएको बताउँदै नेपाली अन्य मुलुकमा छन् भन्ने बिर्सन नहुने बताए। पाण्डेले नागरिकता भएकालाई भोक लाग्ने र नभएकालाई नलाग्ने नहुने बताए।

प्रदेशसभा सदस्य ओसोउद्दिन खानले ३०/३५ दिनसम्म सीमामा नेपाली रोकेर राखेको बताउँदै किट नभएका कारण नेपाली रोक्नुपरेको भन्नु नालायकीपन बताए।

प्रदेशसभा सदस्य फकरुद्दिन खानले सीमा सुरक्षा, निगरानी र पूर्वाधारको विकासले नै प्रदेश सरकारले गर्दा प्रदेश सरकारको औचित्य पुष्टि हुने बताए। प्रदेश सरकारले आफ्ना नागरिकलाई भित्र्याउन ठोस निर्णय लिनुपर्ने बताए। भारतीय सुरक्षाकर्मीले त्यहाँ अध्यारो छ त्यहाँबाट भागेर जान सकिन्छ भनेर अलपत्र परेका नेपालीलाई भन्ने अनि उनीहरू लुकेर नेपाल आउने अवस्था अन्त्य गर्नुपर्ने उनले बताए।

उनीहरूको कुरा सुनेपछि मुख्यमन्त्री शंकर पोखरेलले जनप्रतिनिधि स्थानीय सरकार भएको हुँदा जिम्मेवार ढंगले कोरोना भाइरसको रोकथामका लागि आ आफ्नो ठाउँबाट लाग्नका लागि निर्देशन दिए।

सीमापारिको अवस्थाबारे आफुलाई जानकारी भएको बताउँदै मुख्यमन्त्री पोखरेलले भारतीय पक्षले सहयोग नगर्दा चिन्ता उत्पन्न भएको भएको बताए। उनले सबैको पहल र प्रयासले मात्रै समस्यासँग जुध्न सकिने हुँदा स्थानीय तहलाई क्वारेन्टाइनको क्षमता बढाउने काममा लाग्न निर्देश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय