विदेशबाट दैनिक ६ हजार नेपाली ल्याउने व्यवस्था गर्न उच्चस्तरीय समितिको सिफारिस

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले खाडी राष्ट्र तथा भारतबाट दैनिक आफ्ना नागरिक नेपाल ल्याउन सरकारलाई सिफारिस गरेको छ। आइतबार सिंहदरबारमा बसेका बैठकले यस्तो निर्णय गरेको समिति स्रोतले बतायो।

स्रोतका अनुसार मलेसिया, दुबई, साउदी अरब, तथा कतारबाट दैनिक ६ हजार संख्यामा नेपाली ल्याउन समितिले सरकारलाई सिफारिस गरेको हो।

समितिले भारतबाट दैनिक ३ हजारको संख्यामा नेपालीलाई उद्धार गर्नुपर्ने सिफारिस गरेको छ। यद्यपि, यो सिफारिसमा मन्त्रिपरिषद बैठकबाट मात्र अन्तिम निर्णय हुनेछ।

आइतबारै साँझ मन्त्रिपरिषद बैठक बस्दैछ। परराष्ट्र मन्त्रालयले वैदेशिक रोजगारीका क्रममा रहेका नेपालीहरूलाई नेपाल ल्याउन पहल थालिरहेको थियो।

‘यससम्बन्धी निर्णय मन्त्रिपरिषदले लिने भएकाले यसबारे विस्तृत रूपमा निर्णय भएपछि मात्र भन्न सकिन्छ,’ समितिका एक सदस्यले भने।

कम्पनी बन्द भएर वा रोजगार गुमेर खाडी राष्ट्रमा झन्डै चार लाख नेपालीलाई तत्काल उद्धार गर्नुपर्ने परराष्ट्रको भनाइ छ।

यस्तै, बैठकले जारी लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउन सिफारिस गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय