रातभर छटपटाइरहे, एम्बुलेन्स चालक पनि मानेनन्, क्वारेन्टाइनमै गयो ज्यान

बाँकेका २५ वर्षीय युवाको कोरोना संक्रमणबाट ज्यान गयो। भारतबाट वैशाख ३० गते नेपाल आएका ती युवा बाँकेको नरैनापुर गाउँपालिका-५ को क्वारेन्टाइनमा बसेका थिए।

जुन क्वारेन्टाइनमा यसअघि नै दुई जनामा कोरोना पोजेटिभ देखिइसकेको थियो। आइतबार मृत्यु भएका ती युवामा भने कोरोनाको कुनै लक्षण थिएन। यद्पि मृतकसहित क्वारेन्टाइनका सबैको स्वाब परीक्षणकै क्रममा थियो।

तर, शनिबार राति एक्कासि उनको श्वासप्रश्वास समस्या आयो। नरैनापुर गाउँपालिकाको एम्बुलेन्स एक जना गर्भवतीलाई लिएर अस्पताल गएको थियो।

गाउँपालिकासँग एम्बुलेन्स नभएपछि अर्को एम्बुलेन्सका लागि पहल गरियो। तर, एम्बुलेन्स चालकका लागि सुरक्षासामग्री नभएकाले अरु एम्बुलेन्स चालक पनि आउन मानेनन्।
उता कोरोना संक्रमित युवा छटपटाइरहे। तारन्तर बान्ता गरिरहे। अन्तत: आइतबार बिहान ६:४० उनले देहलीला त्याग गरे।

अस्पतालसम्म पुग्न नै नपाई यसरी अन्त्य भयो एक सुन्दर जिन्दगीको। सायद उपचार पाएको भए उनलाई जोगाउन पो सकिन्थ्यो कि भन्दै बिहानैदेखि स्थानीय आन्दोलित बनेका छन्।

उता कोरोना संक्रमित युवा छटपटाइरहे। तारन्तर बान्ता गरिरहे। अन्तत: आइतबार बिहान ६:४० उनले देहलिला त्याग गरे।

उनीहरूले चिकित्सक र स्थानीय सरकारसँग आक्रोस पोखिरहेका छन्। र, भन्दै छन् अब यो क्वारेन्टाइनको विकल्प खोजिनुपर्छ। जहाँ केही सुरक्षा व्यवस्था भएको होस्।

तर, गाउँपालिका त्यसको विकल्प दिन सक्ने अवस्थामा छैन। नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह यतिबेला आफै तनावमा छन्।

जनताले अर्को क्वारेन्टाइनको माग गरिरहेका छन्। निर्माण गरिएका सबै क्वारेन्टाइन भारतबाट आएका नागरिकले भरिभराउँछन्। बाँकी रहेका गाउँपालिकाका दुई/तीन स्कुल वस्तीको बीचमा छन्। अध्यक्ष शाहका अनुसार त्यसैले गाउँपालिकामा अन्यत्र क्वारेन्टाइन बनाउन सक्ने अवस्था नै छैन।

‘गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा ७ सय १८ जना नागरिक छन्। मृतक रहेको नरैनापुर-५ कै क्वारेन्टाइनमा पनि २६ जना छन्। यस्तो बेला उनीहरूलाई कता लैजाने? कसरी व्यवस्थापन गर्ने?’, उनले भने। उनले गाउँपालिकाभर १३ वटा क्वारेन्टाइनमा नागरिकहरूको व्यवस्थापन गरिएको जानकारी दिए।

यसमा गाउँपालिकाले मात्र केही गर्न नसक्ने भएकाले केन्द्र र प्रदेश सरकारबाट नै ठूलो सहयोग हुनुपर्ने उनी बताउँछन्। अहिले गाउँपालिकामा चिकित्सक र चिकित्सकीय सामग्रीकै अभाव रहेकाले पनि आफूहरूले निकै सास्ती खेप्नुपरेको उनको भनाइ छ।

परीक्षणमै ढिलाइ

उक्त क्वारेन्टाइनमा रहेका दुई जनामा केही दिन पहिले कोरोना पोजेटिभ देखिसकेको थियो। उनीहरूको दाङको बेलझुन्डी कोरोना अस्पतालमा उपचार भइरहेको छ।

दुई जना संक्रमित भेटिसकेको अवस्थामा त्यो क्वारेन्टाइनमा रहेका सबैको चाँडोभन्दा चाँडो पिसिआर परीक्षण हुनुपर्थ्यो। तर, त्यो हुन सकेन।

स्वास्थ्यमा समस्या देखिसकेपछि तुरुन्तै जसरी पनि अस्पताल लैजाने व्यवस्था गरिनुपर्थ्यो। त्यो पनि हुन सकेन। जसले गर्दा एक जनाले अनाहकमै ज्यान गुमाउनु पर्यो।

मृतक युवाको शव व्यवस्थापनको काम नेपाली सेना र प्रहरीले गरिरहेको गाउँपालिका अध्यक्ष शाहले बताए। भारतीय भूमिसँग जोडिएको उक्त गाउँपालिकामा अहिले पनि भारतबाट लुकिछिपी आउनेहरू रोकिएका छैनन्।

कमजोर तयारीको परिणाम

यसले सरकारको तयारी नै कमजोर रहेको छताछुल्ल पारिदिएको छ। कुनै गाउँपालिकामा ७ सय १८ जना कोरोनाको आशंका गरिएका नागरिक क्वारेन्टाइनमा हुनु र एउटा एम्बुलेन्स पनि तयारी अवस्थामा नरहनुले कमजोर व्यवस्थापन छताछुल्ल भएको हो।

यस्तो ठाउँमा त सरकारले चिकित्सक र अन्य आवश्यक सामग्रीलाई पूरै अलर्ट अवस्थामा राख्नुपर्थ्यो। अझै पनि सरकारले यो घटनाबाट पाठ सिकेर बलियो तयारी गर्नुपर्ने स्थानीयको माग छ। सरकारको कमजोर तयारी रहेकैले आफूहरू उक्त क्वारेन्टाइनको बिकल्प खोजिरहेको स्थानीयले बताएका छन्।

मृतक युवाको शव व्यवस्थापनको काम नेपाली सेना र प्रहरीले गरिरहेको गाउँपालिका अध्यक्ष शाहले बताए। भारतीय भूमिसँग जोडिएको उक्त गाउँपालिकामा अहिले पनि भारतबाट लुकिछिपी आउनेहरू रोकिएका छैनन्।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ। यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा पनि कोरोना संंक्रमण पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय