कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको सम्पर्कमा आएकाको परीक्षण सुरु, ४ सय जनाको नमुना परीक्षण गरिँदै

बिहीबार साँझ धुलिखेल अस्पतालमा कोरोनाका कारण मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी महिला त्रिवि शिक्षण अस्पतालमा दुई दिन बस्दा सम्पर्कमा आएकाहरूको पहिचान सुरु गरिएको छ ।

त्रिवि शिक्षण अस्पताल जानुपूर्व गोंगबुको कोठादेखि सिन्धुपाल्चोक हुँदै धुलिखेलसम्म आइपुग्दाको सम्पर्कमा आएकाहरूको खोजी र परीक्षण सुरु गर्ने थालेको छ । काठमाडौंको गोगंबु, माछापोखरी लगायत स्थानबाट ४ सय जनाको नमुना संकलन गर्ने टोली परिचालन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार १ सय ५० जना पिसिआर र २ सय ५० जनाको आरडिटी मार्फत परीक्षण गर्ने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा कन्ट्याक्ट ट्रेसिङको कार्य सुरु भएको हो ।

कोेरोना आशंकामा हालसम्म २८ हजार १ सय ६० जनाको पिसिआर मार्फत परीक्षण भएको छ । गत २४ घण्टामा १ हजार ४ सय ६९ नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ । आइतबार देशभर क्वारेन्टाइनमा १८ हजार ३ सय ५७ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा ३५ र बाहिर ३ सय ११ गरी कुल ३ सय ४६ जना अस्पतालको आईसोलेसनमा रहेको मन्त्रालयले जनाकारी दिएको छ । कोरोना संक्रमित संख्या २ सय ९१ पुगेको छ । जसमध्ये २ सय ३६ पुरुष र ५५ जना रहेका छन् ।

हालसम्म कोरोना संक्रमण २८ जिल्लामा देखिएको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा ३६, प्रदेश २ मा १ सय २१, वागमती प्रदेशमा १७, गण्डकी प्रदेशमा ३, प्रदेश ५ १ सय ९ र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् । ३६ जना कोरोना निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय