भारतबाट आउनेको संख्या बढेपछि क्वारेन्टाइन र आइसोलेसन अभाव

भारत सरकारले विभिन्न प्रदेश र जिल्लामा श्रमिकहरू पुर्याउन श्रमिक रेल यातायात चालु गरेपछि नेपाल–भारत सीमाको जमुनाह र विभिन्न सहायक नाकाबाट सयौं नेपाली स्वदेश भित्रिएका छन्।

भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेका कारण सीमा आइपुगेका नेपालीलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा राखिएको छ। स्थानीय तहसँग क्वारेन्टाइनका लागि छुट्टै भवनहरू छैनन्। त्यसैले बाँकेमा स्कुल, क्याम्पसलाई क्वारेन्टाइनमा प्रयोग गरिएको छ। लकडाउनका कारण विद्यालयहरू बन्द रहेकाले त्यसलाई क्वारेन्टाइनमा प्रयोग गर्न सहज भएको हो।

भारतबाट भित्रिने नेपालीलाई राख्न बाँकेका स्थानीय तहहरूमा क्वारेन्टाइन संख्या थपिएको छ। यसअघि बाँकेमा २२ वटा क्वारेन्टाइन रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रशासन कार्यालयका आठ स्थानीय तहमा यसअघि १ हजार ४३ बेड क्षमताको क्वारेन्टाइन रहेको छ।

अहिले क्वारेन्टाइन संख्या ३३ पुगेको प्रशासनको रेकर्डमा छ। र, क्वारेन्टाइन संख्या थपिनेक्रम जारी छ।

समाचार तयार पार्दासम्म बाँकेको विकट मानिएको गाउँपालिका नरैनापुरमा १३ वटा क्वारेन्टाइन निर्माण भइसकेका छन्। नरैनापुरमा शुक्रबार बनाइएको क्वारेन्टाइन संख्या जोड्ने हो भने बाँकेमा ४० को सरदरमा क्वारेन्टाइन पुग्ने देखिएको छ। नरैनापरमा बनाइएको क्वारेन्टाइनमा अहिले ७ सय बढी नेपाली राखिएको छ।

बिहीबार नाकाबाट ३२ जिल्लाका मानिसहरू भित्रिएको प्रशासनको तथ्यांक छ। त्यसमध्ये बाँकेका २ सय १४ छन्। यो संख्या मुख्य नाकाबाट भित्रिनेको मात्र हो।

नरैनापुरले सबैभन्दा धेरै क्वारेन्टाइन बनाएको छ। ‘भारतबाट आएका ७ सय १५ जनालाई क्वारेन्टाइनमा राखिसकेका छौं,’ गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले भने, ‘जम्मा चारवटा क्वारेन्टाइन थियो, त्यसले धान्ने अवस्था नभएपछि १३ वटा पुर्याइएको छ।’ भारत पुगेका नरैनापुरका बासिन्दा अझै आउनेक्रम जारी रहेकाले थप क्वारेन्टाइन आवश्यक परेको अध्यक्ष शाहको भनाइ छ।

कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती पनि त्यत्तिकै बढेको उनले सुनाए । उनले भने, ‘त्यसका लागि संघ र प्रदेशबाट थप सहयोग आवश्यक छ।’

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बाँकेमा आइसोलेसन पनि थपिने भएको छ। खजुरा गाउँपालिकाको कारोना विशेष अस्पतालमा क्षमताअनुसार कोभिडका बिरामी राखिसकिएको छ।

बाँकेमा तत्काल थप बिरामी राख्ने अवस्था नभएपछि नरैनापुरमा शुक्रबार भेटिएका आठजना कोरोना संक्रमितलाई दाङको कोरोना अस्पताल बेलझुन्डी पठाइएको छ।

बाँके प्रशासनले अब कोरोना संक्रमित भेटिए नेपालगन्जको डेन्टल अस्पतालमा राख्ने तयारी अगाडि बढाउने निर्णय गरेको छ। शुक्रबार बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले डेन्टल अस्पताल कोभिडका बिरामीको उपचार गर्न तयारी अवस्थामा राख्ने निर्णय गरेको हो। त्यसबाहेक नेपालगन्ज मेडिकल कलेज, नेपाली सेनाको अस्पताल र प्रहरी अस्पताललाई पनि आवश्यक परेमा प्रयोग गर्न सकिने गरी समन्वय गर्ने निर्णय बैठकले गरेको छ।

यसैबीच पछिल्लो पटक मुख्य सीमानाका जमुनाहबाट ८ सय १९ नेपाली भित्रिएका छन्। सीमाका भित्री नाकाबाट पनि सयौं नेपाली आइरहेका छन्। नेपालतर्फ रोकिएका १ हजार ४ सय ८३ नेपालीलाई भारततर्फ पठाइएको छ।

बिहीबार मध्यरातिबाट मुख्य नाकाबाट नेपाली भित्रिएका हुन्। भारतले आफ्ना नागरिक लैजान र नेपाली नागरिक पठाउन आफैंले पहल थालेको थियो। बाँकेमा भारतबाट भित्रिने नेपालीको संख्या बढेपछि क्वारेन्टाइनको संख्या बढाइएको छ।

प्रवासी नेपालीलाई विभिन्न ठाउँबाट गाडी रिजर्भ गरेर भारतीय प्रहरीले सीमासम्म ल्याएर छाड्ने गरेको त्यहाँ आएका नेपालीहरू बताउँछन्।

प्रदेश ५ सरकारले समेत भारतबाट आउने नेपालीलाई क्वारेन्टाइनमा राख्न स्थानीय तहलाई निर्देश गरिसकेको छ।

‘हामीले भारतमा रहेका थप नेपाली आउने सक्छन् भनेर क्वारेन्टाइन संख्या बढाउँदै लैजाने निर्णय गरेका छौं,’ खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले भने। खजुरामा यसअघि ५३ बेड क्षमताको एकमात्र क्वारेन्टाइन थियो। ‘अब प्रत्येक वडामा क्वारेन्टाइन बनाइने छ,’ अध्यक्ष कक्षपतिले भने, ‘जुन वडाका बासिन्दा भारतबाट आउँछन् उनीहरूलाई सोही वडामा राखिनेछ।’

त्यसका लागि प्रत्येक वडामा सर्वदलीय समिति बनाइएको उनले जानकारी दिए। पालिकाका विभिन्न वडाका १९ जनालाई क्वारेन्टाइनमा राखिएको जानकारी गराए। उनीहरू सबै भारतबाट आएका हुन्।

बिहीबार नाकाबाट ३२ जिल्लाका मानिसहरू भित्रिएको प्रशासनको तथ्यांक छ। त्यसमध्ये बाँकेका २ सय १४ छन्। यो संख्या मुख्य नाकाबाट भित्रिनेको मात्र हो।

बिहीबार भित्रिएकामध्ये नेपालगन्जका ५१, कोहलपुरका २२, बैजनाथका २१, डुडुवाका ३१, खजुराका २०, जानकीका १७, राप्ती सोनारीका ९ र नरैनापुरका २५ जना छन्।

यसअघि क्वारेन्टाइन खाली भएका कतिपय स्थानीय तहले सोही क्वारेन्टाइनमा भारतबाट आएका व्यक्तिको व्यवस्थापन गरेका थिए ।

‘सीमामा ओइरिने मानव सागरको व्यवस्थापन सीमावर्ती सहरको मात्रै टाउको दुखाइको विषय हुनुहुँदैन,’ डा. बद्री चापागाईंले आफ्नो आलेखमार्फत सम्बन्धित निकायलाई सुझाव दिँदै भनेका छन्, ‘सीमामा भेला भएका र फेला परेका मानिसलाई उचित ठाउँमा एकीकृत गरी आवश्यक स्वास्थ्य परीक्षणपछि सम्बन्धित पालिकामा पठाउन सकिने छ।’ उनीहरूलाई सम्बन्धित पालिका वा होम क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन उनको सुझाव छ ।

प्रवासी नेपालीलाई विभिन्न ठाउँबाट गाडी रिजर्भ गरेर भारतीय प्रहरीले सीमासम्म ल्याएर छाड्ने गरेको त्यहाँ आएका नेपालीहरू बताउँछन्।

कोभिड–१९ का कारण जो जहाँ छ, त्यहीं बस्नुपर्ने दुईदेशीय सहमति भए पनि भारतीय पक्षले त्यसो नगरी सीमासम्म ल्याएर छाडिदिने गरेको हो छ। अझ रेल चलेपछि नेपालीलाई सीमासम्म आउन सहज भएको छ।

बिहीबार मात्रै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भारतीय पक्षले नेपालीलाई सीमामा ल्याएर छाड्नु विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरीत भएको बताएका छन्। भारतीय सरकारले व्यवस्थापन गर्नुको साटो गन्तव्यमा जबर्जस्ती पठाइरहेको छ।

बाँके मात्रै नभई रूपन्देही र कपिलवस्तुको सीमावर्ती क्षेत्रमा मात्रै ४ हजारभन्दा बढी प्रवासी नेपाली स्वदेश प्रवेशको बाटो कुरेर बसेका छन्। स्थानीय प्रशासनले जिल्लाका विभिन्न पालिकाले तयार गरेका क्वारेन्टाइनमा उनीहरूलाई राखेको छ।

सुरक्षा सामग्री बढाउन माग

बाँकेमा स्वास्थ्यसम्बन्धित सुरक्षा सामग्री माग गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेमा शुक्रबार सर्वदलीय, सर्वपक्षीयको उपस्थितिमा भएको कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले सुरक्षा सामग्री माग गर्ने निर्णय गरेको हो।

बैठकले सीमाबाट भित्रिने नेपालीको आरडिटी, पिसिआर परीक्षण, क्वारेन्टाइनमा रहेका नागरिक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य शंकास्पद व्यक्तिका लागि स्वास्थ्य सामग्री माग गरेको हो।

सोही बैठकले कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर छाउनीसँग क्वारेन्टाइनमा रहेका शंकास्पद व्यक्तिको परीक्षणका लागि ६ सय थान भिटिएम र १ हजार थान आरडिटी माग गरेको छ। स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविकाका लागि २ सय थान पिपिई, २ हजार थान माक्स र २ हजार थान ग्लोब्स माग गरिएको छ।

पेट्रोलियम पदार्थ ढुवानीमा संलग्न चालक र सहचालक तथा कर्मचारीका लागि २ सय थान पिपिई, ४ सय थान माक्स र ५ सय थान ग्लोब्स माग गरिएको छ। सुरक्षाकर्मीका लागि पनि १ सय थान पिपिई, २ हजार थान माक्स र २ हजार थान ग्लोब्स सेट माग गरिएको छ।

कोभिडको जोखिम नियन्त्रणका लागि खटिएको सुरक्षा समिति, डिडिएमसी, डिसिएमसी तथा स्थानीय तहका पदाधिकारी तथा कर्मचारीका लागि ५ सय थान माक्स र ४ सय सेट ग्लोब्स माग गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय