कोरोना भाइरसबाट बेलायतमा ६३ सहित विश्वभर ९६ नेपालीको मृत्यु, ७ हजार ६२ जना संक्रमित

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ९६ पुगेको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्गत स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ।

यस्तै, संयुक्त अरब इमिरेट्स् (यूूूूूएई)मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्यान्ड्समा १, बहराइनमा १, स्वीडेनमा १  जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए।

मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जानकारी दिएको छ।

कोरोना भाइरसका कारणले यो साता मात्र नेेेेेेेेेपालमा सहित थप १८ जनाले ज्यान गुमाएका हुन्। ज्यान गुमाउनेको संख्यामा युकेमा १२, यूएईमा ३, साउदी अरबमा २ र नेपालमा १ जना रहेको स्वास्थ्य समितिले बताएका छ।

यस्तै, एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर ६ हजार ७ सय ८१ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन्।

ती मध्येे मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोप १९, एशियामा ५ प्रतिशतमा संक्रमणमा देखिएको छ।

अस्ट्रेलियामा १ प्रतिशत भन्दा कम संक्रमण देखिएको छ। अफ्रिकी मुलुकमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छैन।

संक्रमितमध्ये ३५ प्रतिशतभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको अनुमान सो समितिले गरेको छ। संयोजक सापकोटाले कोरोना संक्रमणबाट बच्न उच्च सर्तकता अपनाउन नेपाली समुदायलाई अनुरोध गरेका छन्।

उनले कोरोना संक्रमणको शंका लागेका तुरुन्त आफ्नो चिकित्सक वा संघको स्वास्थ्य सेवा हटलाइनमा सम्पर्क गर्न आह्वान गरे।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको सो आँकडा अनुसार ११ देशमा गैरआवासीय नेपालीको ज्यान गएको छ भने बाँकी १९ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित छन्।

स्वास्थ्य समितिका अनुसार कतार २ हजार ५ सय, अमेरिका १ हजार ६ सय, युकेमा १ हजार २ सय २१, बहराइनमा ३ सय ११, युएईमा २ सय, कुवेतमा ८४, नेपालमा २८१, साउदी अरबमा ६ सय ७४, मलेसियामा ४९, पोर्चुगलमा २९, आयरल्यान्डमा २२, स्पेनमा १३, क्यानडामा १३, अस्ट्रेलियामा १२, जापानमा १०, माल्दिभ्समा १०, बेल्जियममा ६, स्वीटजरल्यान्डमा ५, जर्मनीमा ४, फिनल्यान्डमा ४, साइप्रसमा ३, न्यूजिल्यान्डमा ३, माल्टामा २, हङकङमा २, पोल्यान्डमा २, म्यानमारमा १ र फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ।

राहत वितरण जारी

यसैबीच, गैरआवासीय नेपाली संघले कोभिड १९ बाट प्रभावित देशहरुमा राहत वितरण भइरहेको जानकारी दिएको छ।

संघका महासचिव डा. हेमराज शर्माका अनुसार ४९ देशका ३ सय क्षेत्रमा १ हजार ६ सय भन्दा बढी स्वयंसेवक र स्वास्थ्य सेवामा ७० भन्दा बढी मेडिकल चिकित्सक परिचालन गरिएको छ।

संघका अनुसार शनिबार साँझसम्म ३८ हजारभन्दा बढी गैरआवासीय नेपालीले प्रत्यक्ष र ४० हजारभन्दा बढीले परामर्शसेवा प्राप्त गरेका छन्।

मलेसिया, यूूएई, साउदी अरब, कुबेत, बहराइन, स्पेन, पोर्चुगल, इटाली, माल्टा, साइप्रसमा संघले करिब ५५ लाख रुपैयाँ सहयाेय समेत पठाएको संघका कोषाध्यक्ष महेश श्रेष्ठले जानकारी दिए।

स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत तीन दर्जन नेपाली चिकित्सक, नेपाली कूूटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखा तथा स्थानीय संघसंस्थाले प्राप्त सूचनालाई मुख्य आधार मानेर हरेक आइतबार विदेशमा रहेका नेपालीको कोरोना संक्रमणको अनुमानित तथ्यांक सार्वजनिक गर्दै आएको छ।

यसअघि संघले अध्यक्ष कुमार पन्तको अध्यक्षतामा कोभिड १९ उच्चस्तरीय समिति र विभिन्न उपसमिति गठन गरी विश्वभर राहतको लागि अभियान सञ्चालन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय