जनकपुरका क्वारेन्टाइनवासी भन्छन्- हामीलाई पशुसरह व्यवहार गरिएको छ

अहिले विश्व कोरोना महामारीविरुद्ध जुधिरहेको छ। कोरोना संक्रमण भइसकेकाहरूलाई निको भएर पूर्ववत अवस्थामा फर्किने चिन्ता छ भने परीक्षण नभएकाहरूलाई कहिँ आफू पनि त जोखिममा छैन भन्ने चिन्ताले पिरोल्ने गरेको छ।

पछिल्लो पटक नेपालमा पनि कोरोना संक्रमणको दर बढ्न थालेपछि प्रायः हरेक नागरिक एकखाले मानसिक त्रासमा जीवन व्यतित गरिरहेका छन्। केही दिनअघिसम्म प्रदेश २ को पर्सासम्म मात्र सीमित रहेको कोरोना भाइरस अहिले आफ्नो दायरा बढाउँदै सिरहाबाहेक सबै जिल्ला पुगिसकेको छ।

संक्रमण पुष्टि भइसकेकाहरूलाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ भने परिवारका सदस्यहरूलाई क्वारेन्टाइन गरिएको छ। कोरोना संक्रमणको मनोवैज्ञानिक त्रासबीच बाँचिरहेका उनीहरूका लागि राज्यले न त राम्रो आइसोलेसन न क्वारेन्टाइनकै व्यवस्था गर्न सकेको छ।

प्रदेश २ सरकारले कोरोनाकै लागि २ अर्ब निकासा गरिसकेको छ। विभिन्न मन्त्रालयमार्फत निकासा गरिएको दुई अर्ब रुपैयाँ कोरोनाकै लागि खर्च हुने निश्चित छ। तर, ‘लकडाउन’ लागूू भएको दुई महिना पुग्न केही दिनमात्र बाँकी छँदासम्म क्वारेन्टाइन र आइसोलेसनमा समेत न्यूनतम सुविधाको तयारी हुन सकेको छैन, उपचार त परै जाओस्।

मंगलबार जनकपुरमा दुईजनामा कोरोना संक्रमणको पुष्टि भयो। कोरोना संक्रमण पुष्टि भएकामा एक पत्रकार छन् भने अर्का एकजना पुस्तक व्यवसायी। कोरोना पुष्टि भएसँगै दुवैलाई नर्सिङ क्याम्पसको भवनमा सञ्चालन गरिएको कोरोना अस्पतालको आइसोलेसनमा राखिएको छ।

कोरोना संक्रमित पत्रकार र पुस्तक व्यवसायीका परिवारका सदस्यहरूलाई जनकपुरधाम-७ जिरोमाइलस्थित स्वस्तिक अस्पतालमा उपमहानगरले सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएको छ। परिवारका सदस्यमा कोरोना संक्रमण देखिएपछि सुरुदेखि पीडामा रहेकाहरूले थप पीडा झेल्नुपरेको छ।

आफूहरूलाई राखिएको क्वारेन्टाइनमा सरसफाइको समेत कुनै व्यवस्था नरहेको एक महिलाले बताइन्। ‘सरकारले संक्रमण फैलिन नदिन शंकास्पदलाई क्वारेन्टाइनमा राख्न भनेको छ। तर, यहाँ कोरोनाभन्दा पहिले अरु नै रोगको संक्रमण त हुने होइन चिन्ता लाग्न थाल्यो,’ ती महिलाले भनिन्।

कोरोना संक्रमण पुष्टि भएपछि श्रीमान आइसोलेसनमा छन् भने उनी ५ वर्षीय र २ वर्षीय दुई बच्चासहित चार दिनदेखि क्वारेन्टाइनमा छिन्। क्वारेन्टाइनमा बसेकाहरूका लागि खानपिनको समेत उचित व्यवस्थापन हुन सकेको छैन। सरसफाइ गर्न सफाइ कर्मचारी पनि पुगेका छैनन्।

‘क्वारेन्टाइनमा पशुसरह व्यवहार भएको छ, घरबाट बोकेर आएको बिस्कुट र चाउचाउ खाएर बच्चाहरू बसेका छन्, सफाइ कर्मचारी यहाँ आएको हामीले पत्तो पाएका छैनौं,’ उनले प्रश्न गरिन्,‘के हामीबाट कुनै अपराध भएको छ र?’

क्वारेन्टाइनभित्र आफूहरूसँग मानवीय व्यवहारसमेत नभएको उनको भनाइ छ। ‘खाना पुर्‍याउन आउने मानिस गेटबाटै खाना फालेर भाग्छन्, चाँडै जाँच गरेर घर पठाइदिए हुन्थ्यो,’ उनले भनिन्।

क्वारेन्टाइनमा कोठा व्यवस्थापन गर्दा दुई खाटबीचको दूरी न्यूनतम साढे तीन मिटर हुनुपर्ने मापदण्ड निर्धारण गरिएको छ। क्वारेन्टाइनमा बस्नेहरूका लागि स्वास्थ्य, सञ्चार, पानी र विद्युतको उपयुक्त व्यवस्था गर्न भनिएको छ। तर, यहाँ एकै कोठामा ११ जनालाई एक मिटरभन्दा कम दूरीमा राखिएको उनले सुनाइन्।

क्वारेन्टाइन गरिएकाहरूका लागि बिहान ७:३० देखि ८ बजेभित्र चिया र खाजा, बिहान ११:३० देखि १२ बजेभित्र दिवा खाना, दिउँसो २:३० देखि ३ बजेभित्र खाजा र बेलुकी ७:३० देखि ८ बजेसम्म रातिकाे खाना व्यवस्था गर्न सरकारले मापदण्ड निर्धारण गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय