भारतबाट हुलका हुल भित्रिँदै नेपाली, कयाै‌ं सीमामै अलपत्र

१५ देखि ४९ दिनसम्म भारतको पलियाका विभिन्न क्वारेन्टाइनमा बसेर शुक्रबार गौरीफन्टा हुँदै नेपाल भित्रिएका नेपालीको मुहारमा छुट्टै खुसी देखिएको थियो।

‘मृत्युको मुखबाट ठूलो युद्ध जितेर आयौंं,’ सीमामा पुगेका अधिकांस नेपाली भन्दै थिए, ‘अब सरकारले स्वदेशमै रोजगार दिए विदेश जाने थिएनौं।’

‘भारतमा कोरोनाका संक्रमित बढ्ने क्रम उच्च हुँदै जाँदा क्वारेन्टाइन बस्ने नेपाली निकै त्रसित थियौं, स्वदेश आउन चाहेर पनि यात्रा कठिन थियो,’ कञ्चनपुरको कृष्णपुर नगरपालिका-९ राजघाटका काशी जोराले भने, ‘अर्काको देशमा कोरोनासँगको ठूलो युद्ध जितेर आएका हामीलाई सरकारले स्वदेशमै कामको व्यवस्था गरोस्। जस्तो काम पायो त्यस्तै गर्छौं। तर, विदेश जाने सोच बनाउँदैनौं।’

४९ दिनसम्म भारतको पलिया क्वारेन्टाइनमा बसेर स्वदेश फर्केका उनी गुजरातको एउटा होटेलमा ‘कुक’ काम गर्दै आएका थिए। काम पाएको एक महिनामै कोरोनाका कारण भारत सरकारले देशभर लकडाउन घोषणा गर्‍यो। होटल मालिकले आफ्नो व्यवस्था आफैं गर भनेपछि जोरा ७ दिनसम्म हिँडेर पलिया पुगेका थिए। ‘काम पाएको एक महिनामै लकडाउन भएपछि गुजरातमै बस्न पैसा थिएन,’ उनले भने, ‘सवारी नपाएपछि हिँडेरै पलिया पुग्यौं। आज सरकारले स्वदेश फर्काउने व्यवस्था गर्‍यो। निकै खुसी लागेको छ।’

कैलालीको गोदावरी नगरपालिका-७ लालपुर मगरटोलका गणेश ओझाले अब कहिल्यै विदेश नजाने सोचका साथ नेपाल आएको बताए। राजस्थानबाट बस बुक गरेर पलिया पुगेका उनी १४ दिन पलियाको क्वारेन्टाइनमा बसेका थिए।

हरेक दिन भारतमा कोरोनाका बिरामी बढ्दै आएको समाचार आइरहँदा परिवारमा निकै चिन्ता थपिएको र आफूलाई पनि मानसिक पीडा हुने गरेको उनले सुनाए। ‘हामीसँग ७ जनाको टोली थियो,’ उनले भने, ‘अब कहिल्यै विदेश नजाने वाचाका साथ स्वदेश फर्केका छौं। सरकारले हामी जस्ताका लागि रोजगारमूलक काम दिए सजिलो हुने थियो।’

गौरीफन्टा नाकाबाट ३ सय ७१ नेपाल भित्रिए

कोरोना महामारी फैलिएपछि बिचल्लीमा परेर भारतको उत्तर प्रदेशस्थित पलियाको क्वारेन्टाइनमा बस्दै आएका ३ सय ७१ बढी लेपालीलाई शुक्रबार स्वदेश फर्काइएको छ।

‘अब सरकारले स्वदेशमै रोजगार दिए विदेश जाने थिएनौं।’ ‘भारतमा कोरोनाका संक्रमित बढ्ने क्रम उच्च हुँदै जाँदा क्वारेन्टाइन बस्ने नेपाली निकैै त्रसित थियौं, स्वदेश आउन चाहेर पनि यात्रा कठिन थियो,’ कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाटका काशी जोराले भने।

उत्तरप्रदेश सरकारले पलियाका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका नेपाली नागरिकलाई गौरीफन्टा नाकासम्म बसमा पुर्‍याइदिएपछि उनीहरूलाई जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा सीमा क्षेत्रमै स्वास्थ्य चेकजाँच गरिएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार सीमामा र्‍यापिड टेष्ट परीक्षणपछि पोजेटिभ नतिजा आएका नेपालीलाई थप परीक्षणका लागि धनगढी वडा नम्बर-२ को नवदुर्गा माविमा राखिने छ। र्‍यापिड टेष्टमा नेगेटिभ नतिजा आएकालाई भने सम्बन्धित स्थानीय तहको जिम्मा लगाई क्वारेन्टाइन राखेर पिसिआर विधिबाट स्वास्थ्य परीक्षण गरिने व्यवस्था गरिएको उनले बताए।

भारतेको उत्तर प्रदेशका मुख्यमन्त्री राजनाथ योगीले भारतमा रहेका नेपाली मध्य नेपाल फर्कन चाहनेलाई सीमासम्म पुर्‍याइदिन निर्देशन दिएपछि नेपालीहरू स्वदेश फर्कन थालेका हुन्।

कैलालीमा रहेका ८ सय २४ भारतीय नागरिक फर्किए

यसैगरी लकडाउनमा परेर घरजान नसकेपछि कैलालीका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टाइनमा बस्दै आएका ८ सय २४ भारतीय नागरिकलाई पनि स्वदेश फर्काइएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार कैलालीको धनगढी, घोडाघोडी, टीकापुरलगायतका स्थानमा क्वारेन्टाइनमा रहेका भारतीय नागरिकलाई गौरीफन्टा नाकामार्फत भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइएको छ।

प्रदेश ५ का सीमाक्षेत्रबाट नेपालीलाई ल्याउनै सकस

प्रदेश ५ का सीमावर्ती क्षेत्रमा हप्तौंदेखि अलपत्र नेपालीलाई ल्याउन समन्वयको अभाव देखिएको छ। सरकारहरूबीच समन्वय हुन नसक्दा भारतबाट फर्किने नेपालीहरू नेपाल फर्किने आशामा भारतको नौतनवामा बसिरहेका छन्।

प्रदेश सरकारले समन्वय नगर्दा र स्थानीय सरकारहरू जिम्मेवार नबन्दा उनीहरूको उद्दार हुन नसकेको हो। नेपाल -भारत सीमा बेलहियादेखि प्रदेश ५ सरकार करिब २५ किलोमिटरको दूरीमा रहेको छ। तर, उनीहरुको उद्दारका लागि प्रदेश सरकारका प्रतिनिधिहरू पुग्ने गरेका छैनन् ।

उद्दार गरिएका अधिकांश गुल्मी, पाल्पा अर्घाखाँची, स्याङजा, रूपन्देहीलगायत जिल्लाका रहेका छन्। अझै पनि सीमापारी करिब ११ सय नेपाली रहेका छन्।

बुधबार ५१० जना नेपालीलाई रूपन्देहीको तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाले जिम्मा लिई क्वारेन्टाइनमा राखे पनि बिहीबार भने कुनै पनि स्थानीय तह सीमाका नेपाली लिन गएनन्। तिलोत्तमा नगरपालिकामा ल्याइएका २ सय ३३ जनामध्ये शंकरनगर दुर्गादक्त माध्यमिक विद्यालयको क्वारेन्टाइनमा ३३ जना र माधवलिया माध्यमिक विद्यालयको क्वारेन्टाइनमा २ सय जना राखिएको छ।

सिद्धार्थनगर नगरपालिकामा ल्याइएका २ सय ७७ जनालाई वडा नं ८ मा रहेको रूपन्देही लिीलाराम माध्यमिक विद्यालय र वडा नं ५ मा रहेको भैरहवा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको छ।

शुक्रबार रूपन्देहीका दुई स्थानीय सरकारले नेपालीलाई ल्याउन पुगेको इलाका प्रहरी कार्यालय, बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले जानकारी दिए। उनका अनुसार २३९ जना नेपाल ल्याइएकोमा बुटवल उपमहानगरले ११० जना, कञ्चन गाउँपालिकाले १०३ जना र सिद्धार्थनगर नगरपालिकाले २६ जनाको जिम्मा लिएका छन्।

उद्दार गरिएका अधिकांश गुल्मी, पाल्पा अर्घाखाँची, स्याङजा, रूपन्देहीलगायत जिल्लाका छन्। अझै सीमापारि करिब ११ सय नेपाली रहेको प्रहरी निरीक्षक अधिकारीले बताए।

रूपन्देहीका स्थानीय तहले क्वारेन्टाइनको क्षमता बढाउन नसक्दा र तत्परता देखाउन नसक्दा भारतको विभिन्न ठाउँबाट आएका नेपालीहरू आउन पाइरहेका छैनन्। उनीहरुलाई नेपालतर्फका सुरक्षाकर्मीले सीमामा रोक्ने गरेका छन्।

भारतमा रेल चल्न सुरु भएपछि दैनिक २ देखि ३ सय नेपाली थपिने सीमा क्षेत्रका नेपालीले अनुमान गरेका छन्। भारतको गोरखपुरसम्म रेलमार्गबाट आएका उनीहरू त्यहाँदेखि पैदलका साथै निजी सवारी साधन प्रयोग गरेर नेपाल सीमासम्म आउने गरेका छन्। त्यसरी आउनेमा महिला, बालबालिकादेखि सुत्केरी र बिरामीसम्मका छन्।

रूपन्देहीमा १६ वटा स्थानीय तह रहे पनि अहिलेसम्म सिद्धार्थनगर, तिलोत्तमा, बुटवल र कञ्चन गरी ४ तहले मात्रै केही नेपालीको उद्दार गरेका छन्। अरु स्थानीय तह भने सीमाका नेपालीलाई उद्दार गर्न अहिलेसम्म पुगेका छैनन्। रोहिणी र सियारी गाउँपालिकाले पनि सीमाका नेपालीलाई उद्दार गरी गाउँपालिकाकाे क्वारेन्टाइनमा राख्ने भने पनि स्थानीयले विरोध गर्दा पछि हटेको बताइएको छ।

तर, जिल्ला प्रशासन कार्यालय रूपन्देहीका प्रशासकीय अधिकृत ध्रुबप्रसाद नेपाल भने नेपालीको उद्दारमा स्थानीय तहहरूले सहयोग गरिरहेको बताउँछन्। ‘क्वारेन्टाइन बनाएर लैजानलाई आइरहनुभएको छ। यसलाई सहयोग मान्नुपर्छ’, उनले भने, ‘कामको व्यस्तताले ढिलो हुनु स्वाभाविकै हो।’

शुक्रबार भारतर्फबाट ४०८ जनालाई ल्याउने निर्णय भएकोमा क्वारेन्टाइनको व्यवस्थापन नहुँदा कम व्यक्तिलाई मात्रै ल्याइएको उनले बताए।

भारततर्फ क्वारेन्टाइनमा २१ दिन अवधि पुगेकालाई भारतले पठाउने गरेको भए पनि क्वारेन्टाइनको व्यवस्था गर्दै ल्याउँदै गरेको उनको भनाइ छ। उनले औपचारिक रूपमा नेपाल आउनेभन्दा पनि लुकिछिपी आउनेबाट समस्या र खतरा रहेको उनले बताए।

बाँकेमा पनि सीमाका नेपाली आए, नेपालबाट भारतीयलाई पठाइयो

बाँकेका बिभिन्न नाका र प्रमुख प्रवेशद्वार जमुनाह सीमा नाकाबाट नेपाली र भारतीय नागरिकलाई आ-आफ्नो गन्तव्य पठाइएको छ।

नेपालगन्जको जमुनाह नाकाबाट ६८७, नरैनापुरको विभिन्न नाका गरि ४४१ र डुडुवा गाउँपालिकाबाट ८६ जना गरी १ हजार २ सय १४ नेपाली बाँकेमा भित्रिएका छन्। बिहीबार अबेर रातिि उनीहरूलाई नाकाबाट नेपाल ल्याएर दशगजा क्षेत्रमा राखिएको छ। यस्तै १४ सय ८३ जना भारतीयलाई भारत पठाइएको छ।

बाँकेको बिभिन्न कवारेन्टाइनमा राखिएका तथा आफ्नै तरिकाले बिभिन्न स्थानमा बसेका भारतीयलाई भारत पठाएको जिल्ला प्रहरी कार्यालय बाँकेका बाँके प्रहरी प्रवक्ता शिवबहादुर सिंहले जानकारी दिए।

नेपाल भित्रिएका नेपालीहरूको आरडिटी परीक्षण गरेर सम्बन्धित जिल्ला पठाइने प्रवक्ता सिंहले बताए। मुख्य नाकाबाहेक भित्रीी नाकाबाट पनि नेपालीहरू आइरहेका छन्। भारतमा रेल सञ्चालनमा आएपछि विभिन्न नाकाबाट नेपालीहरू आउने क्रम बढेको हो।

यसअघि खाली हुन थालेका बाँकेका क्वारेन्टाइन अब भारतबाट नागरिक भित्रिन थालेपछि भरिन थालेका छन्। यही गतिमा मानिस आए क्वारेन्टाइनमा राख्ने ठाउँ नै नहुने भन्दै स्थानीय जनप्रतिनिधि चिन्तित बनेका छन्।

भारतबाट नेपाल ल्याइएका नेपालीको आरडिटी परीक्षणपछि सम्बन्धित जिल्लासँग समन्वय गरेर गन्तव्यमा पठाइने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए।

प्रदेश सांसद कृष्ण केसी नमुनाको नेतृत्वमा बाँकेका प्रमुख जिल्ला अधिकारी, बाँके प्रहरी प्रमुख वीरबहादुर ओली र नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगर तथा भारतीय उच्च अधिकारीको सहयोगमा उनीहरूलाई भारतबाट ल्याइएको र नेपालका भारतीयलाई पठाइएको हो।

तीन जनाको आरडीटी पोजेटिभ

बाँके प्रशासनले नेपाल-भारत सीमाबाट उद्दार गरी ल्याइएका तीनजनामा कोरोना भाइरस पोजेटिभ देखिएको जनाएको छ। कालिकोट, नुवाकोट र सुर्खेतका तीनजनामा आरडिटी परीक्षण पोजेटिभ देखिएको हो।

उनीहरू तीनै पुरुष हुन्। तीनै जनालाई पिसिआर परीक्षणका लागि भेरी अस्पताल नेपालगन्ज लगिएको भेरीका मेसु डा. प्रकाश थापाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय