यस्तो छ नर्ससहित ७० कोरोना संक्रमितको स्वास्थ्य, परिवार र सहकर्मीको परीक्षण गरिँदै

सोमबार कोरोना संक्रमणको पुष्टि भएकी नर्ससहित ७० जनालाई क्वारेन्टाइनमा राखेर उपचार गरिँदै छ।

प्रदेश २ को प्रमुख कोभिड विशेष अस्पताल वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत एक नर्ससहित सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

नारायणी अस्पतालका डा. नीरज सिंहले कोरोना संक्रमण भएपछि क्वारेन्टाइनमा राखिएका ७० जनामा कुनै किसिमको स्वास्थ्य समस्या नरहेको बताए।

‘संक्रमितहरूलाई अहिलेसम्म कुनै किसिमको स्वास्थ्य समस्या देखिएको छैन, सबैको अवस्था सामान्य छ,’  डा. सिंहले भने, ‘उच्च सावधानीका साथ हामीले निगरानी गरिरहेका छौं।’

डा. सिंहले कोरोना संक्रमित नर्सको अवस्था सामान्य रहेको र अहिले क्वारेन्टाइनमै राखिएको बताए।  उनका अनुसार नर्सका परिवारका सदस्य एवं सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी स्वास्थ्य परीक्षण थालिएको छ।

‘अस्पतालमा कार्यरत नर्स र कर्मचारीहरूको पनि स्वास्थ्य परीक्षण गरी संक्रमण भएनभएको विषयमा निष्कर्षमा पुग्दै छौँ,’ उनले भने।

एक चरणको ड्युटी सकेपछि प्रत्येक स्वास्थ्यकर्मीलाई गरिने नियमित परीक्षणमा ती नर्समा पोजिटिभ देखिएको थियो।

संक्रमितहरूको स्वास्थ्य अवस्थालाई दृष्टिगत गरी विशेष सतर्कताका साथ हेरचाह गरिएको छ। आवश्यक परेमा सम्पूर्ण चिकित्सकीय सेवा संक्रमितले प्राप्त गर्नेछन्।

क्वारेन्टाइनमा रहेका संक्रमितहरू आफ्ना नियमित दैनिकी आफैं सञ्चालन गरिरहेका छन्। चिकित्सकहरूले नियमित स्वास्थ्य परीक्षण तथा मनोबल उच्च राख्नका लागि विशेष परामर्श दिने गरेका छन्।

संक्रमितको संख्या बढेपछि अस्पतालमा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक, नर्स र कर्मचारीलाई अस्पताल प्रशासनले विशेष स्वास्थ्य सुरक्षा अपनाउन निर्देशन दिएको छ।

यसअघि, गत साता तौलिहवामा र ललितपुरको निदान अस्पतालमा कार्यरत भक्तपुरका कर्मचारीलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

शुक्रबारसम्म देशका २४ जिल्लाका २ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। अधिकांश संक्रमितको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय