बाँकेका संक्रमितलाई दाङ लगियो, संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरिने

बाँकेको नरैनापुरमा कोरोना संक्रमण पुष्टि भएका बिरामीलाई उपचारका लागि दाङस्थित कोरोना विशेष अस्पताल बेलझुन्डी लगिएको छ ।

बाँकेको खजुरास्थित कोरोना विशेष अस्पतालमा ४० बेडको आइसोलेसन कक्ष रहेको छ । केही बेड खाली रहेको अवस्थामा उनीहरूलाई दाङ पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी गराए । खाली बेड आपतकालीन अवस्थाका गम्भीर बिरामीका लागि सुरक्षित गरिएको उनले बताए ।

शुक्रबार मात्रै बाँकेको नरैनापुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरूको अवस्था सामान्य रहेकाले दाङ पठाइएको श्रेष्ठले बताए । ‘खजुरामा ४० बेड क्षमता भए पनि गम्भीर प्रकृतिका कोरोनाका बिरामी देखिएमा टाढा लैजाँदा समस्या हुने भएकाले सामान्य अवस्थाका संक्रमितलाई बेलझुन्डी पठाएका हौं,’ फोकल पर्सन श्रेष्ठले भने, ‘गम्भीर अवस्थाका संक्रमित आए आपतकालीन उपचारमा सहज होस् भनेर केही बेड रिजर्भ राखिएको हो ।’

नरैनापुरका कोरोना संक्रमितलाई विशेष एम्बुलेन्समार्फत प्रहरी सुरक्षासहित बेलझुन्डी पठाइएको हो । उनीहरूलाई बेलझुन्डीको कोरोना विशेष अस्पतालमा राख्न अस्पतालसँग समन्वय गरेर सबै तयारी पूरा भएको छ । संक्रमितले पाउनुपर्ने सबै प्रकारका चिकित्सकीय सेवा प्रभावकारी रूपमा पाउने छन् ।

भारतको विभिन्न सहरबाट फिर्ता हुने क्रममा फरक समूहमा नेपाल छिरेका कोरोना संक्रमितहरू नरैनापुर गाउँपालिका १, ३ र ५ नम्बर वडाका स्थानीयवासी रहेको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद साहले बताए ।

हाल नरैनापुरमा ४ सय ४१ जनालाई क्यारेन्टाइनमा राखिएको छ । त्यहाँ राखिएका सबै भारतबाट आएका नेपाली रहेको अध्यक्षले बताए । भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणमा १८, २०, २२, २५ २५, २७ ३२ र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।

नरैनापुरमा संक्रमित देखिएका व्यक्ति यसअघि नेपालगन्जमा भेटिएका संक्रमितसँग सम्पर्क नरहेको पाइएको पनि फोकल पर्सन श्रेष्ठले बताए । उनका अनुसार घर आएकामध्ये नरैनापुरमा बिहीबार ४५ जनाको स्वाब परीक्षण गरिएकामा ८ जनाको पोजिटिभ देखिएको हो । नरैनापुरमा एकैपटक आठ जनामा संक्रमण पुष्टि भएकाले आवश्यक सजगता अपनाइएको छ ।

संक्रमितलाई बेलझुन्डी पठाएसँगै उनीहरूको कन्ट्र्याक ट्रेसिङ गरेर थप परीक्षणलाई तीव्र पारिनेछ,’ स्वास्थ्य कार्यालयका फोकल पर्सन श्रेष्ठले भने । पछिल्लो समयमा भारतका विभिन्न ठाउँबाट बाँके प्रवेश गर्नेमा नरैनापुरका बढी छन् ।

नरैनापुरमा सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले बताए । भारतसँग सीमा जोडिएको नरैनापुरको सीमामा भारतका विभिन्न सहरमा मजदुरी गर्न गएका स्थानीयवासी अलपत्र परेपछि गाउँपालिकाले उद्दार गरेर क्वारेन्टाइनमा राखेको थियो । नरैनापुरमा पछिल्लो तीन दिनमा मात्रै ४ सय ७ जना भारतबाट भित्रिएको र उनीहरूको पिसिआर परीक्षणका लागि स्वाब संकलन भइरहेको गाउँपालिका अध्यक्ष साहले बताए ।

योसँगै बाँकेमा संक्रमितको संख्या ३३ पुगेको छ । शुक्रबार संक्रमित भेटिएका दीपेन्द्र प्रावि भोज भगवानवानपुर, नेराप्रावि शंकरनगर कोटिाया र कृष्ण प्रावि हुलासपुर्वाको क्वारेन्टाइनमा थिए । उनीहरू दुई हप्ताअघि भारतबाट आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय