सरकारको नीति तथा कार्यक्रम: स्वास्थ्यसंस्था स्थापना र स्तरोन्नतिलाई प्राथमिकता दिइने

सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य संस्थाको स्थापना र स्तरोन्नतिका लागि विशेष प्राथमिकता दिने भएको छ।

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन र सेवाको समतामूलक तथा गुणस्तर वृद्धि गर्ने घोषणा गरिएको हो।

गुणस्तर वृद्धि गर्दै स्वास्थ्यक्षेत्रको पुनर्संरचना गर्ने नीति सरकारले लिएको छ। ‘निरोगी नेपाल निर्माण यस सरकारको मूल नीति हो, प्रकृतिमैत्री स्वच्छ जीवन प्रणाली प्रवर्द्धन गरी नेपालीको रोग प्रतिरोधी क्षमता वृद्धि गर्न निरोधात्मक कार्यक्रम सञ्चालन गरिने छ,’ राष्ट्रपति भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।

स्वास्थ्यसेवामा उपचारात्मक र प्रतिरोधात्मक विधि अवलम्बन गरिने नीति सरकारले लिएको छ।

देशभरिका ७ सय ७१ स्थानीय तहका वडामा पूर्ण खोपसेवा उपलब्ध गराउने सरकारको तयारी छ। बाँकी सबै वडामा खोपसेवा पुर्याउने नीति तथा कार्यक्रममा उल्लेख छ।

आधारभूत स्वास्थ्यसेवा उपलब्ध नभएका स्थानीयतहका २ हजार ६ सय २६ वडामा पूर्वाधार र सेवा उपलब्ध गराएको उल्लेख गरिएको छ। साथै वडास्थित स्वास्थ्यसंस्थाको गुणस्तर वृद्धि गर्ने घोषणा पनि सरकारले गरेको छ।

भूगोल र जनसंख्याका आधारमा प्रत्येक स्थानीय तहमा ५ देखि १५ शैय्यासम्मको आधारभूत अस्पताल स्थापना र स्तरोन्नति गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

साबिकका जिल्ला अस्पताललाई २५ देखि ५० शैय्या र अञ्चल अस्पताललाई २ सय शैय्याको जनरल अस्पतालमा रूपान्तरण गर्ने सरकारले घोषणा गरेको छ।

सरकारले पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी, नारायणी, भरतपुर, भेरी र डडेल्धुरा अस्पतालबाट उपलब्ध विशिष्टकृत स्वास्थ्यसेवाको विस्तार र स्तरोन्नति गरिरहेको नीति तथा कार्यक्रममा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय