परीक्षणको दायरा बढाउनुपर्ने बेला प्रादेशिक प्रयोगशालाका प्रमुख र कर्मचारीबीच विवाद

प्रदेश २ मा कोरोना संक्रमितहरु बढिरहँदा परीक्षणको दायरा बढाउनुपर्ने बेला प्रादेशिक प्रयोगशालाका प्रमुख र मातहत कर्मचारीबीचको विवाद सतहमा आएको छ। प्रयोगशालाका निमित्त प्रमुख रामविनय साहले कानुनविपरीत कर्मचारी भर्ना गर्न थालेपछि मातहतका कर्मचारीहरूले विरोध गरेपछि विवाद बाहिरिएको हो।

निमित्त प्रमुख साहले आवश्यकता नै नरहेको कर्मचारी भर्ना गरेको प्रयोगशालाका अधिकृत (ल्याब टेक्निसियन) युगलकिशोर यादवकाे आरोप रहेकाे छ।

कानुनविपरीत कर्मचारी भर्नाको विरोध गरेपछि प्रमुख साह आफूहरुलाई पेलेर हिंड्न खोजेको यादवले बताए। अधिकृत यादवले विज्ञप्ति जारी गरेर ‘गैरकानुनी तरिकाले कर्मचारी भर्ना गर्न प्रमुख साहलाई समर्थन नदिँदा प्रमुख साहले प्रयोगशालाका सातौं तहका कर्मचारी मनमोहन मिश्रसहित आफूलाई तारो बनाउन खोजेको’ आरोप लगाएका छन् ।

यादवका अनुसार निमित्त प्रमुख साहले चैत १७ र २१ गते गरी अधिकृत साताैं तहका तीनजना, पाँचौं तहका एकजना, स्वीपर दुईजना र सवारी चालक एकजना नियुक्त गरेका छन् । प्रयोगशालामा गाडी नै नरहे पनि साहले चालक किन नियुक्ति गर्नुपर्‌यो भन्दै यादवले छानबिन गर्न माग गरेका छन् ।

आफूले गैरकानुनी नियुक्तिको विरोध गर्दा प्रमुख साहले अन्यत्र सरुवा गर्ने प्रयास गरे पनि सफल नहुँदा स्थानीय एक सञ्चारमाध्यमको प्रयोग गरेर चरित्र हत्या गर्न खोजेको यादवले आरोप लगाएका छन्। कर्मचारी भर्ना गर्न समर्थन नगरेको निहुँमा प्रमुख साहले स्वाब संकलन गर्न फिल्डमा गएको बेला समेत हाजिरीमा गयल गर्ने गरेको दाबी गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय