चन्द्रागिरिकी उपमेयर नकर्मी भन्छिन्- साँचो विवरण नआउँदा ट्रेसिङमा समस्या देखियो

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ २ गते १२:५९

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित संख्या थपिँदै गएको छ।

बिहीबार नगरपालिकास्थित दहचोकका सातवर्षे बालकमा संक्रमण पुष्टि भएको हो। अघिल्लो दिन एकजना महिलामा पनि कोरोना संक्रमण देखिएको थियो।

परीक्षा सकेर विद्यालय बन्द भएपछि आमाछोरा मामाघर बारा गएको खुल्न आएको छ। तराईका जिल्ला संक्रमण बढ्दै गएपछि उनीहरू एम्बुलेन्सबाट काठमाडौं फर्किएका थिए।

उनीहरू बाराबाट फर्कनेबित्तिकै स्वास्थ्य परीक्षणका लागि नगरपालिकाको स्वाब केन्द्रमा गएका थिए। बिहीबार स्वास्थ्य परीक्षण गर्दा छोरामा मात्र कोरोना पोजेटिभ भएको भेटिएको हो।

संक्रमित बालक र आमा दुवैलाई अहिले उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखिएको छ।

नगरपालिकामा स्वाब लिने सुविधा भएका कारण संक्रमित केसहरू पहिचान हुँदै गएको मेयर घनश्याम गिरी बताउँछन्।

‘अहिलेसम्म देखिएका केसहरूमा आफैं सचेत भएर स्वाब परीक्षण गर्न जानेहरूकै छ,’ मेयर गिरीले हेल्थपोस्टनेपालसँग भने, ‘अन्य ठाउँमा पनि नमुना परीक्षण गर्ने सुविधा भएमा केस देखा पर्नसक्छ।’

तर संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिले साँचो विवरण नदिँदा कन्ट्याक्ट ट्रेसिङमा थप समस्या भएको उपमेयर लीला नकर्मी बताउँछिन्।

‘जो संक्रमित व्यक्तिको सम्पर्कमा आएका छन्, उनीहरूले साँचो विवरण नदिँदा कन्ट्याक्ट ट्रेसिङमा थप समस्या आइरहेको छ,’ उपमेयर नकर्मीले भनिन्, ‘यस्तो परिस्थित हुँदा भोलिका दिनमा भयावह अवस्था आउनसक्छ।’

बालक बस्ने टोलमा रहेका ८ घर सिल नै गरेर त्यहाँ मानिसहरूलाई बाहिर जान दिइएको छैन। वडा कार्यालयमार्फत थप कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ।

यसअघि चन्द्रागिरि नगरपालिका वडा ९ मा बस्ने ३३ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको थियो। वैशाख २९ मा कञ्चनपुरबाट काठमाडौं आएकी उनले सशस्त्र प्रहरी बलको अस्पतालमा परीक्षण गराएकी थिइन्।

अहिलेसम्म देशमा कुल २ सय ५८ जना संक्रमित भेटिँदा उपत्यकामा १३ जनामा संक्रमण देखिएको छ।

चन्द्रागिरिका मेयर गिरी भन्छन्– संक्रमित महिलालाई धन्यवाद दिनुपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय