कोरोना नियन्त्रणका लागि अब गर्नुपर्ने काम

अहिले विश्वले कोरोना भाइरस (कोभिड–१९) को महामारीको सामना गरिरहेको छ।

नेपालमा पहिलो संक्रमित देखिएको झन्डै चार महिनापछि केही दिनयता संक्रमितको ग्राफ उल्लेख्य दरमा बढ्न थालेको संकेत देखिन्छ।

रोग रोकथाम र नियन्त्रणको सन्दर्भलाई विश्लेषण गर्दा नेपाल सरकारबाट सुरुदेखि नै कोरोना नियन्त्रणको पूर्वतयारीमा कमीकमजोरी भएको छ।

परीक्षणलगायतका विषयमा स्वास्थ्य क्षेत्रको तयारीले अहिले केही गति लिएजस्तो देखिन्छ।

विशेषगरी प्रयोगशालाको उपलब्धता, जनशक्ति व्यवस्थापन, कोरोना अस्पताल र क्वारेन्टाइन व्यवस्थापन जस्ता क्रियाकलाप हेर्दा पछिल्लो समयमा धेरै सुधार भएको देखिन्छ।

तर कोभिड–१९ उपचारका सन्दर्भमा सुधार देखिए पनि ननकोभिडका बिरामीको उपचारप्रति अहिले पनि उचित व्यवस्थापन हुनसकेको छैन।

विपत्तिको सामनासँगै नियमित स्वास्थ्यसेवा पनि निरन्तर अगाडि बढाउनु जरुरी छ।

उदाहरणका लागि क्यान्सर रोगी, मिर्गौला रोगी, गर्भवती महिला, परिवार नियोजन, खोप कार्यक्रमहरू खासगरी अप्ठ्यारो अवस्थामा परेको देखिएको छ। यस्ता कार्यक्रमलाई सरकारले यथासक्दो छिटो सम्बोधन गर्नु आवश्यक छ।

स्वास्थ्य सेवाको प्रवृत्तिमा पनि परिवर्तन गर्नुपर्छ। जस्तो कि अप्रेसन गर्दा इन्डोस्कोपी, सर्जरीहरूमा बढी जोखिम हुन्छ। यो जोखिमबाट बच्दै सर्जन र अन्य प्राविधिकहरूले नयाँ प्रविधि अवलम्बन गर्नेमा चनाखो हुनुपर्छ।

कोरोना नियन्त्रण र नियमित स्वास्थ्य सेवा

यो कोरोनाको महामारी छिट्टै हट्ने सम्भावना छैन। भाइरसको प्रकोप कम्तीमा पनि एक-दुई वर्षसम्म आउने जाने गरिनै राख्छ भन्ने प्रक्षेपण गरिएको छ। यो रोगरोकथामको लागि खोप बन्ने क्रममा रहेको छ। तर, विश्वव्यापी रुपमा खोप उपलब्धता हुनु, हामीले किन्न सक्नु र सबैलाई दिनसक्नु ठूलो चुनौती हुनेछ।

त्यसकारण हाम्रो काम गर्ने जुन शैली छ, त्यो परिर्वतन गर्नु आवश्यक छ। अर्थात् महामारी चलिरहँदा पनि हाम्रो दैनिकी, स्वास्थ्यसेवालार्ई कसरी निरन्तरता दिन सकिन्छ भन्नेबारे सोच्नुपर्छ।

जति रहेका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी यथेष्ट संख्यामा राख्ने र उनीहरूलाई दक्षता वृद्धिको तालिम दिन आवश्यक हुन्छ। महामारी नियन्त्रणका लागि स्वास्थ्य संस्थामा सामाजिक दूरी कसरी कायम गर्ने त्यो सोच सहित योजना बनाएर राम्ररी लागू गर्नुपर्छ। बिरामीको सेवा पनि अवरुद्ध नगर्ने तथा बिरामीमार्फत स्वास्थ्यकर्मीलाई रोग नसर्ने र स्वास्थ्यकमी मार्फत बिरामीमा रोग सर्न नसक्ने वातावरण बनाउनुपर्छ।

स्वास्थ्य सेवाको प्रवृत्तिमा पनि परिवर्तन गर्नुपर्छ। जस्तो कि अप्रेसन गर्दा इन्डोस्कोपी, सर्जरीहरूमा बढी जोखिम हुन्छ। यो जोखिमबाट बच्दै सर्जन र अन्य प्राविधिकहरूले नयाँ प्रविधि अवलम्बन गर्नेमा चनाखो हुनुपर्छ।

महामारी नियन्त्रण र समन्वय

महामारीको नियन्त्रण तथा रोकथाम गर्नका लागि सबै प्रकारका जनशक्ति र विज्ञको उचित समन्वयमा काम हुनुपर्छ। तर, स्वास्थ्य मन्त्रालयमा टिमवर्कमा काम हुन नसकेको महसुस भइरहेको छ। नेतृत्वदायी भूमिकामा बसेकाहरुले सबैसँग समवन्य गर्न चुकेका छन्। स्थानीय सरकार र जनप्रतिनिधिहरूले केन्द्र सरकारका सर्कुलर, तयारी र निर्देशनबाट अनभिज्ञता जनाइरहेको अवस्था पनि छ।

अर्कोतिर लकडाउनको बहुआयमिक असर परिरहेको छ। खासगरी, ज्याला, मजदुरी गर्ने मानिसहरूलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याउन गाह्रो परेको अवस्था छ। काम नहुँदा भोकै परेका सर्वसाधारणलाई खान दिन नसकेको अवस्था छ। जसले गर्दा महामारी रोकथाममा ठूलो चुनौती देखिन्छ।

अलपत्र परेकाको उद्दार र जनस्वास्थ्यको दृष्टिले सुरक्षित व्यवस्थापनबिना महामारी नियन्त्रण सम्भव हुन्न। यही अवस्था कायम रहेमा जनस्वास्थ्यमा कुपोषणलगायतका भारले अर्कै समस्या निम्त्याउन सक्छ।

कुपोषणको कारण रक्तअल्पतादेखि लिएर शिशु मृत्युदर पनि बढ्ने सम्भावना छ। परिवार नियोजनका कार्यक्रम राम्रोसँग सञ्चालन हुन सकेको छैन। दम्पती घरभित्र लकडाउनमा रहेको अवस्थामा भोलिका दिनमा गर्भवती महिलाको संख्या बढ्ने निश्चित छ। सेवा सुचारु हुन नसकेको अवस्थामा र गर्भवती महिलालाई कोभिड भएमा मातृमृत्युदर नबढ्ला भन्ने अवस्था रहँदैन।

कोरोनाको नियन्त्रणमा मात्र ध्यान दिएर हुँदैन। कोरोनाका साथसाथै सबै स्वास्थ्य सेवालाई समयमै ध्यान पुर्याएर व्यवस्थापनतर्फ लाग्नुपर्छ।

प्राथमिकता र परिणाम

सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ। तर, प्राथमिकताको परिणाम जति आउनुपर्ने हो, आउन सकेको छैन। सरकारले सबैलाई लकडाउनमा बस्नका लागि निर्देशन दियो। अति आवश्यक पर्ने स्वास्थ्य सेवा उच्च रक्तचाप, मधुमेह, दम, मिर्गौला रोगीहरूले उपचार कहाँबाट लिइरहेका छन् ? ती सबै कुराको विश्लेषण गरेर सेवालाई निरन्तर दिन सकेको छैन।

गर्भवती महिलाको एन्टिनेटेल केयर कम्तीमा पनि चारवटा गर्नुपर्छ। अल्ट्रासाउन्ड आदिका उपकरणबाट पनि रोग सर्ने समस्या रहेका होलान्। त्यसलाई हामीले कसरी निराकरण गरेका छौं? त्यसका लागि निर्देशनात्मक गाइडलाइन के रहेका छन् ?

विभिन्न विधाका सोसाइटीले महामारीको बेलामा स्वास्थ्यकर्मीहरूले हरेक विषयमा कसरी सम्बोधन गर्नुपर्ने हो सो को गाइडलाइन निकाल्नुपथ्र्यो। व्यापक रूपमा मन्त्रालयको वेबसाइट लगायत विभिन्न संस्था तथा अस्पतालमा पुगेको देखिएको छैन।

लकडाउन खुला गर्दा स्वास्थ्य संस्थामा ठूलो चाप पर्छ। कोभिडको जोखिम बढ्न जान्छ, त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेतर्फ अझै ध्यान पुगेको छैन।

यसका लागि स्थानीयतहलाई अझ बढी सक्रिय बनाउनुपर्छ। इन्टरनेट, टेलिफोनबाट स्वास्थ्यसल्लाह दिने व्यवस्था गरियो भने स्वास्थ्य सेवामा बिरामीको चाप धेरै क मगर्न सकिन्छ। पहिलाको मानिसहरू केन्द्र, क्षेत्रीय, अञ्चल अस्पतालका ओपिडीमा धेरै भीड हुने अवस्था थियो। अब, स्थानीय तहका स्वास्थ्य संस्थामा गतिलो ओपिडी सेवा दिन सकियो भने केही हदसम्म जोखिम कम हुन्छ। केन्द्र तथा क्षेत्रीय अस्पतालमा विशेषज्ञ सेवाका लागि मात्र बिरामी आउनसक्ने वातवरण बनाउन सक्यौं भने चाप कम गर्न सकिन्छ।

स्वास्थ्य क्षेत्रको बजेट विनियोजनमा स्थानीयतहलाई बढी प्राथमिकता दिनुपर्छ। बजेट विनियोजन हुँदा विभिन्न तहको कामको विश्लेष्ण गरेर कामहरूका लागि पुग्ने बजेट दिनुपर्छ। स्वास्थ्यका लागि बजेट भनेर २–४ वटा अस्पताल भवन निर्माणमा खर्च गरेर मात्र संरचनागत कुरामा परिर्वतन गर्न सकिन्न।

वडास्तरको स्वास्थ्य संस्था सक्षम बनाऔं

स्वास्थ्यको केही संरचनाको पुरर्संरचना गर्नुपर्छ। सामुदायिक स्वास्थ्यमा हेर्यौं भने महिला स्वयंसेविका मात्र रहेका छन्। सामुदायिक नर्सहरूको व्यवस्थापन गर्न सकियो भने धेरै समस्या स्वास्थ्य संस्थामा नआई हल हुन्छ। सामान्य उपचारका लागि वडास्तरको स्वास्थ्य संस्थालाई समक्ष बनाएर व्यवस्थापन गर्न जरुरी छ।

सामान्य उपचारका लागि ठूलो अस्पताल जाने जनसमुदायको बानी छ, त्यस बानीलाई परिवर्तन गर्नैपर्ने हुन्छ। सामान्य रोगका लागि स्थानीय तहमा उपचार पाउनसक्ने त्यस किसिमको पूर्वाधार बनाउनुप¥यो। सामुदायिक नर्स, स्वास्थ्यकर्मीको संख्यावृद्धि गर्नुपछ। वृद्धि भएको जनशक्तिले जनचेतनामूलकका साथै सेवाको सुधार गराउने वातावरण बनाउनुपर्छ।

स्वास्थ्य संस्थामा रहेको संक्रमणको रोकथामको पद्दतिलाई अझै सुदृढीकरण गर्नुपर्छ। स्वास्थ्य संस्थामा पानी नहुने, बाथरुम फोहोर हुने जस्ता विविध अवस्था परिर्वतन गराउनुपर्छ। बाथरुममा गएर कुनै बिरामीले ढोका,धारा देखि छोएपछि त्यसबाट अर्को मानिसलाई रोग संक्रमण हुन जान्छ। त्यसकारण अस्पतालमा रहेको कमजोर भौतिक पूर्वाधार पक्ष सुधार गर्नुपर्छ। साबुनपानीको उपलब्धता, सरसफाइ र अस्पतालको इन्फेक्सन, प्रिभेन्सन कुरा, संरचनागत कुराहरू परिवर्तन गर्नुपर्छ।

कामको विश्लेषणअनुसार बजेट विनियोजन

अहिले बजेको बनाउने बेला छ। स्वास्थ्य क्षेत्रको बजेट विनियोजनमा स्थानीयतहलाई बढी प्राथमिकता दिनुपर्छ। बजेट विनियोजन हुँदा विभिन्न तहको कामको विश्लेष्ण गरेर कामहरूका लागि पुग्ने बजेट दिनुपर्छ। स्वास्थ्यका लागि बजेट भनेर २–४ वटा अस्पताल भवन निर्माणमा खर्च गरेर मात्र संरचनागत कुरामा परिर्वतन गर्न सकिन्न।

कामको विश्लेषण गरी योजनाअनुरुप विभिन्न तहको सरकारमा विनियोजन हुनुपर्छ। उपलब्ध भएको रकमलाई हामीले सही रूपमा प्रयोग गर्यौं कि गरेनौं मूल्यांकन गर्न जरुरी छ। पुनः संरचना थप गर्न, स्वास्थ्यकर्मीको जनशक्ति बढाउन, मोबाइल हेल्थलाई बढवा गर्नुपर्छ। निजी क्षेत्रको अनुगमनमा धेरै कमजोरी भएको छ। अनुगमनको संयन्त्रहरू कसरी राम्रो पार्ने यस्ता विषयलाई मध्यनजर गरेर प्राथमिकतामा राख्नुपर्छ।

(पूर्वस्वास्थ्य सचिव डा. शर्मा सँग हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानीमा आधारित)

One thought on “कोरोना नियन्त्रणका लागि अब गर्नुपर्ने काम

  1. Congratulations Dr Sudha a very well written article. I totally agree. While addressing the COVID 19 emergency MOH has to ensure the continuity of the routine essential heath services. MOH has to ensure both services are given equal importance rather just running after COVID. If we are not strategic now you will see more deaths from prevention causes than Covid.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय