नेपालमा ४ हजार बालबालिका मृत्युको जोखिममा : युनिसेफ

युनिसेफले भारतमा आगामी ६ महिनासम्म ३ लाख बालबालिकाको मृत्यु हुनसक्ने अनुमान गरेको छ।

यतिबेला कोरोना भाइरस डिजिज (कोभिड–१९) ले विश्वलाई अस्तव्यस्त पारिरहेको छ।

हरेक देशमा उपलब्ध स्रोतसाधनलाई महामारीको रोकथाम तथा नियन्त्रणतर्फ केन्द्रित गर्नुपरेको स्थिति छ।

त्यसकारण बच्चाहरूले स्वास्थ्य सेवा पाउन नसकेको भन्दै त्यसको प्रत्यक्ष असर उनीहरूको स्वास्थ्यमा पर्ने र मृत्यु हुनसक्ने युनिसेफको भनाइ छ।

‘भारतमा आगामी ६ महिनामा ५ वर्षमुनिका ३ लाख बालबालिकाको मृत्यु हुनसक्छ, जुन कोरोना भाइरसको संक्रमणभन्दा अलग हुनेछ,’ युनिसेफले भनेको छ।

युनिसेफले निकालेको तथ्यांकअनुसार दक्षिण एसियामा ६ महिनाको अवधिमा ४ लाख ४० हजार बालबालिकाले ज्यान गुमाउन सक्ने छन्। जसमा ३ लाख बालबालिका भारतको हुनसक्ने अनुमान गरिएको छ।

‘दशकौंपछि ५ वर्षमुनिका लाखौं बालबालिकाले अकालमै ज्यान गुमाउनेछन्। हामीलाई डर लागिरहेको छ। हामीले जसरी पनि दक्षिण एसियाका आमा, बालबालिका तथा गर्भवती महिलालाई बचाउनु छ। महामारीसँग लड्नु त छँदैछ, तर हामी मातृ तथा शिशु मृत्युदरमा दशकौंपछि भएको सुधार गुमाउन चाहन्नौं,’ युनिसेफको दक्षिण एसिया अधिकारी जिन गैफले भनेका छन्।

युनिसेफको तथ्यांक अनुसार भारतपछि पाकिस्तानमा सबैभन्दा बढी बालबालिकाले ज्यान गुमाउने छन्। पाकिस्तानमा ९५ हजार, बंगलादेशमा २८ हजार, अफगानस्तानमा १३ हजार र नेपालमा ४ हजार बालबालिकाले ज्यान गुमाउन सक्छन्।

बालबालिका किन जोखिममा?

युनिसेफका अनुसार विश्वभर कोरोना महामारीले विश्व स्वास्थ्य प्रणालीलाई कमजोर बनाउँदै गएको छ। त्यसबाट लाखौं सर्वसाधारण स्वास्थ्योपचारबाट वञ्चित हुनुपरेको छ। कोरोनाले मानव तथा वित्तीय संशाधनमा दबाव बढाउँदै गएको छ।

लकडाउन, निषेधाज्ञा तथा पारवहन प्रणाली बन्द हुँदा सर्वसाधारण सहर तथा स्वास्थ्य सेवा राम्रो भएको ठाउँमा जानबाट वञ्चित हुनुपरेको छ। स्वास्थ्य परीक्षणको अभावमा कोरोना बढ्नसक्ने आशंका पनि उत्तिकै छ।

‘भारतमा कोरोनाको संक्रमित संख्या निरन्तर बढिरहेका कारण त्यहाँको स्वास्थ्य सेवामा बोझ बढ्दै गएको छ, जसले गर्दा बच्चाको स्वास्थ्योपचारमा कठिनाइ उत्पन्न भइरहेको छ,’ युनिसेफले जनाएको छ।

युनिसेफका दक्षिण एसियाली सल्लाहकार पाल रटरले महामारीको समयमा बालबालिकाको जन्म, स्वास्थ्यसेवा, सुविधा तथा पोषणमा ध्यान दिई उनीहरूको हेरविचारमा विशेष ध्यान पुर्याउनुपर्ने बताएका छन्।

‘कोरोना महामारीका कारण नभएर अस्पतालका नियमित सेवाहरू बन्द हुँदा लाखौं बालबालिकाको ज्यान नजाओस्, यसमा सबैले ध्यान दिनुपर्छ,’ सल्लाहकार रटरले भनेका छन्।

युनिसेफको यो विश्लेषण जोन्स हकिन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थका शोधकर्ताहरूले बाहिर ल्याएका हुन्।

विश्वका निम्न आयका १ सय १८ देशमा ५ वर्षभन्दा कम उमेरका १२ लाख बालबालिकाको मृत्यु हुनसक्ने अनुमान यस विश्लेषणले गरिएको छ।

स्वास्थ्यसेवाको आपूर्ति १५ प्रतिशतभन्दा कम भएका देशमा भयानक अवस्था आउनसक्ने चेतावनी युनिसेफले दिएको छ। युनिसेफका अनुसार विश्वभर ५ वर्षभन्दा मुनिका बालबालिकाको मृत्युदरमा ९.८ प्रतिशतले वृद्धि हुने बताइएको छ। अर्थात एकदिनमा विश्वभर १४ सय बालबालिकाको मृत्यु हुनसक्छ भने मातृ मृत्युदरमा ८.३ प्रतिशतका दरले वृद्धि हुनसक्ने आँकलन छ।

विश्वका ४५ प्रतिशतभन्दा कम स्वास्थ्यसेवा उपलब्ध हुने देशहरूमा ४४.७ प्रतिशतले बालमृत्युदर र ३८.६ प्रतिशतले मातृ मृत्युदर बढ्नसक्ने युनिसेफको उक्त तथ्यांकले देखाउँछ।

कोरोनाका कारण बन्द भएको विश्वबजारका कारण परिवार नियोजन गर्न नसक्नु, सुत्केरी हुनुभन्दा पहिले र पछि राम्ररी हेरविचार गर्न नसक्नु, पोषणको कमी, जन्मजात रोग तथा स्वास्थ्यसेवाको सहज पहुँच नहुनु नै बालबालिकाको मृत्युको प्रमुख कारण बन्ने युनिसेफको दाबी छ।

स्वास्थ्यसामग्री अभावमा बालमृत्युदर हुने १० मुलुक : बंगलादेश, ब्राजिल, कंगो, इथियोपिया, भारत, इन्डोनेसिया, नाइजेरिया, पाकिस्तान, युगान्डा, तान्जानिया छन्।

बालृमृत्युदर उच्च हुने १० देशमा : जिबुटी, एस्वातिनी, लेसेथो, लाइबेरिया, माली, मलावी, नाइजेरिया, पाकिस्तान, सिएरा लियोन र सोमालिया छन्।

११ करोड बालबालिका जन्मसंस्कारबाट वञ्चित

युनिसेफले बाल तथा मातृमृत्युदरलाई लिएर गरिएको अनुसन्धान एवं विश्लेषणमा बालबालिकामा पर्ने अन्य प्रत्यक्ष प्रभावबारे समेत चिन्ता व्यक्त गरेको छ।

विश्वभरका १३२ देशका १८ वर्षभन्दा कम उमेरका ७७ प्रतिशत (२.३५ अर्बमा १.८० अर्ब) बालबालिका मे महिनाको सुरुमा कोरोना भाइरसका कारण घरभित्र थुनिएका छन्। १७७ देशका १ अर्ब ३० करोड बालबालिका कोरोनाकै कारण विद्यालय जान वञ्चित भएका छैन।

१४३ देशका ३७ करोड बालबालिका सामान्य दैनिक पोषणका लागि स्कुलमा निर्भर रहने गर्दथे। तर, स्कुल बन्द भएका कारण उनीहरू सामान्य पोषणबाट समेत वञ्चित हुनपरेको अवस्था छ।

कोरोना महामारीका कारण १४ अप्रिलसम्म ३७ देशका ११ करोड ७० लाख बालबालिकाको जन्मसंस्कारमा प्रभाव परेको तथ्यांक छ।

युनिसेफका अनुसार गरिबीका कारण विश्वको ४० प्रतिशत जनसंख्या साबुनपानीले हातधुनबाट वञ्चित छन्।

एजेन्सीबाट अनुवादित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय