बिरामीमा कोरोनापछि शिक्षण अस्पतालको इएनटी र इलेक्टिभ सर्जरी सेवा स्थगित, अन्य यथावत

शल्यक्रियाका लागि भर्ना गरिएकी एक बालिकामा कोरोना भाइरस डिजिज (कोभिड-१९) पोजेटिभ देखिएपछि उत्पन्न परिस्थितिमा त्रिवि शिक्षण अस्पतालको नाक, कान, घाँटी सेवा स्थगित हुने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कपिलवस्तुकी ६ वर्षे बालिकामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।

संक्रमण देखिएकी बालिकाको सम्पर्कमा आएका विभागका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मीहरु परीक्षण गरी रोग नदेखिए पनि १४ दिन सेल्फ आइसोलेसनमा जानुपर्ने भएकाले सेवा रोकिने भएको छ ।

त्रिवि शिक्षण अस्पतालका निर्देशकद्धारा भर्खरै जारी विज्ञाप्तिमा सो विषयबारे मौन रहे पनि विभागीय प्रमुखकाे बैठकबाट इएनटी सेवा स्थगित गर्ने निर्णय भएको थियो । अस्पतालद्वारा जारी सूचनामा आकस्मिकबाहेकका शल्यक्रिया रोकेर इमर्जेन्सी गर्दा पिपिईको अनिवार्य प्रयोग गर्नसमेत आग्रह गरिएको छ ।

‘हाललाई इलेक्टिभ सर्जरीहरू नगर्न अनुरोध गर्दछौं तथा इमर्जेन्सी सर्जरीहरू गर्दा आवश्यक पिपिई लगाएर मात्र गर्नुहुन अनुरोध गरिन्छ’ विज्ञप्तिमा भनिएको छ । यसैबीच अस्पतालद्धारा जारी सूचनामा भने न्युरो सर्जरी वार्डको बेड नम्बर ५० मा वैशाख ३० गते भर्ना गरिएकी नाक, कान, घाँटीकी बिरामी कोरोना भाइरस पोजेटिभ देखिएको उल्लेख छ ।

अस्पतालले संक्रमित बालिकालाई गणेशमान सिंह भवनको आइसोलेसन क्याबिनमा सारेर उपचार भइरहेको जनाएको छ ।

अस्पतालले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वयगरी बिरामीको प्राइमरी सम्पर्कमा आएकाको कन्ट्रयाक्ट ट्रेसिङ गरेर पिसिआर परीक्षण गर्र्ने तयारी भइरहेको जनाएको छ ।

त्यसैगरी प्राइमरी कन्ट्रयाकमा आएकाहरू आइसोलेसनमा जाने र अन्य कर्मचारीले नियमित काम गर्नसमेत अस्पताल प्रशासनले अनुरोध गरेको छ ।

अस्पतालले प्रारम्भिक सम्पर्कमा आएकाहरूमा पोजेटिभ देखिएमात्रै सेकेन्डरी सम्पर्कमा आएकाको जाँच गर्नुपर्ने समेत जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय